विशेष

धृतराष्ट्र-पुत्रमोह-सत्तालिप्सा-महाभारत

कुरु वंशमा राजाको जेष्ठ पुत्र नै राज्यको उत्तराधिकारी हुने परम्परा थियो । तर जेष्ठ पुत्र धृतराष्ट्र दृष्टिबिहीन थिए । दृष्टिबिहीन (शारीरिक अशक्त, अपांग) राजा राज्यसंचालनको योग्य हुने कुरै थिएन । यसैले कुरु कनिष्ठ पुत्र पाण्डु हस्तिनापुरका राजा भए । यस कुराले कुरु जेष्ठ पुत्र धृतराष्ट्रको मनलाई कुटुकुटु खाइरहेको थियो । उनमा ‘आफू राजा हुन योग्य भएको तर अन्यायपूर्वक राजा नबनाएको’ भन्ने ठूलो पीडा थियो ।

कन्दम रिषिबाट श्रापित पांडुका कुन्ती र माद्री दुई तर शारीरिक सम्पर्कबाट सन्तानोत्पत्ति हुन सक्दैनथ्यो । किनभने रिषिले ‘शारीरिक सम्पर्क गरिस् भने तेरो तत्काल मृत्य हुनेछ’ भनी श्राप दिएका थिए । यसर्थ: कुन्तीले आफूले पाएको वरदानको शक्तिको प्रयोग गरी आफूबाट युधिष्ठिर, भीम र अर्जु गरी तीन र माद्रीबाट नकुल र सहदेव गरी दुई छोरा प्राप्त गरिन् । जेष्ठ पांडुपुत्र भएकोले अब स्वभावैले हस्तिनापुरका उत्तराधिकारी युधिष्ठिर नै भए । यता धृतराष्ट्र र गान्धारीबाट जेष्ठ पुत्र दुर्योधन सहित सय भाइहरूको जन्म भयो ।

रिषि कन्दमबाट जुन कारणले श्राप पाएका थिए त्यही कारणले राजा पांडुको अप्रत्याशित मृत्यु भयो । राज्यका स्वभाविक उत्तराधिकारी युधिष्ठिर बालक भएको कारणले दृष्टिबिहीन धृतराष्ट्र हस्तिनापुरका राजा भए ।यस घटनाक्रमले नयाँ मोड लियो ।

‘आफूमाथि ठूलो अन्याय भएको’ भन्ने पीडाबोधबाट द्रवित धृतराष्ट्रमा प्रतिशोध, राज्यमोह र पुत्रमोहले जरा गाड्दै गयो । दृष्टिबिहीन धृतराष्ट्रलाई थाहा थियो, आफू राजा हुनका लागि योग्य छैनन् । आफूबाट राज्यसंचालन सम्बन्धी सबै काम हुन सक्दैनन् । बेलाबेलामा उनी भन्ने पनि गर्थे तर सत्तामोहमा लिप्त थिए । उनी अन्धोमथि अन्धो बन्दै गए।

हस्तिनापुरमा भिष्मपितामह, विदुर, द्रोणाचार्य, कृपाचार्य जस्ता विद्वान्, राजनीतिज्ञ, बीर, पराक्रमी, इमान्दार सहयोगी सल्लाहकार थिए। देश र जनताको हितमा यिनीहरूबाट पूर्ण सहयोग पनि थियो । रानी गान्धारी पनि अति नै बुद्धिमती थिइन् । राज्यका हरेक काममा राजाले सल्लाह लिने पनि गर्थे, छलफल पनि हुन्थ्यो । राजाले बुझेको जस्तो पनि लाग्थ्यो तर निर्णय भने नितान्त भिन्न हुन्थ्यो ।

राजाको दृष्टिहीनता, सत्तामोह र पुत्रमोहलाई राम्ररी बुझेका दुर्योधनको शक्तिमान राजा बन्ने इच्छा, दाइजोको रूपमा आएका शकुनीको कपटी सल्लाह र व्यवहारले राजाको भित्री मन पुलकित हुन्थ्यो । दुर्योधनको इच्छा र शकुनीको कपटी सल्लाह बिपरीत राजा केही गर्दैनथे, गर्न सक्दैनथे र गर्न चाहन्नथे पनि । दुर्योधन र शकुनीका अगाडि अरूको सल्लाह केवल औपचारिक मात्र हुन्थ्यो ।

तत्कालीन भारतवर्षमा शक्तिशाली राज्य हस्तिनापुर राजाका यस्तै प्रवृत्ति र व्यवहारले सम्पूर्ण रूपमा सत्तालिप्सा, सत्ताखेल र प्रतिशोधको चक्रव्युहमा फस्यो । स्वभाविक रूपमा राज्याधिकारी युवराज युधिष्ठिर हुनुपर्नेमा दुर्योधनको मनमा लोभ पलायो । कपटी शकुनीसँग मिलेर पाण्वहरूको बिरुद्धमा अनेक प्रपंचहरू रचिए, षड्यन्त्रहरू गरिए। पांडवहरूको सामूहिक हत्या गर्नेसम्मका प्रयास भए । कूलबधु द्रौपदीलाई राजवैठकमै नंग्याउन खोज्ने जस्ता अकल्पनीय र निर्लज्ज व्यवहार पनि भए । देश टुक्रिनेसम्मको अवस्था आयो । सत्ता र कुर्सीको खेलमा देश पूर्णत: लिप्त भयो । हस्तिनापुरको मान, प्रतिष्ठा, गौरव निरन्तर ह्रास हुँदै गयो । विदुर जस्ता विद्वान् राजनीतिज्ञले विरोध त गरे तर राज्यसंयन्त्रबाट उनलाई नै कोर्के नजरले हेर्न थालियो । राष्ट्रभक्त भिष्म, द्रोणहरूको राष्ट्रभक्ति ओझेलमा पर्दै गयो । राजा सत्तास्वार्थको खेलमा एकपछि अर्को निर्णय गर्दै गए ।

आफ्नो अधिकारप्राप्ति र राज्यसत्ताको प्रतिष्पर्धाको कारण सिंगो हस्तिनापुरको अस्तित्व संकटमा परेको अनुभूति पांडवहरूलाई भयो । राज्यसत्ताबाट पृथक रहेर पनि सुखी र सम्मानित जीवन जिउन सकिन्छ भन्ने आत्मबोध गरी उनीहरू धृतराष्ट्र र दुर्योधनको अभिष्ट पूरा गर्न पुन: शकुनीखेलका निमित्त तयार भए ।

हो, उनीहरू राज्यसत्ता छोडेर त्यत्तिकै जंगल जान सक्थे अथवा युद्ध गरेर सत्ता लिन पनि सक्थे होलान् । धृतराष्ट्र र दर्योधनका हरेक निर्णायको विरोध गर्न या तिनलाई अस्वीकार गर्न पनि सक्थे । तर ती सबै कुराहरूले राष्ट्रको हित र कल्याण हुँदैनथ्यो। एउटा पक्ष राष्ट्रलाई च्याँखे थाप्न तयार भयो भन्दैमा अर्को पक्ष राष्ट्रलाई बचाउन लाग्नु कर्तव्य र धर्म पनि हुन आउँछ । त्यसैले राष्ट्रवादी पांडवहरू राजाका अभिष्टलाई बैधता दिई चुपचाप जंगल जान तयार भए ।

धृतराष्ट्र अन्धा अवश्य थिए तर त्यति अज्ञानी थिएनन् । देशमा जे भएको छ त्यो आफनो सत्तालिप्सा र पुत्रमोहका कारण भएको छ भन्ने उनलाई थाहा थियो । सत्ताद्वन्द्वका कारण राष्ट्रको मान-प्रतिष्ठा र राष्ट्रको शक्ति क्रमश: कमजोर हुँदै गएको छ र देश विकास र जनहितकारी कामहरू पूरै ठप्प छन् भन्ने कुरा उनले नबुझेका पनि होइनन् । तर उनी दोहोरो अन्धा भए । यस्तो संघीन अवस्थामा पनि न उनले कुर्सी छोड्न सकेनन्। न भिष्म, द्रोण, विदुर, कृपाचार्यहरूले राजिनामा नै दिन सके ।

अब परिणाम हेरौँ त के भयो ? जुन सत्ताप्राप्तिको अभिष्ट पूरा गर्न दुर्योधनले शकुनी जस्तो कपटीसँग मिलेर आफ्नै कुलकुटुम्बको हत्या गर्ने, भाउजूलाई सभास्थलमा नंग्याएर बेइज्जत गर्ने जस्ता कुकृत्यमा लाग्यो । आफ्नै कुटुम्ब दाइ-भाइहरूलाई जालझेल गरी जंगल पठायो । राष्ट्रलाई बिखण्डन गर्यो । देश र जनताको कहिल्यै हित गर्न सकेन । आखिर उसले के पायो ? उसकै पिता धृतराष्ट्रले पनि उसका लागि कुर्सी छोडेनन् ।

कुर्सीमा बसेका छन्, राजा भएका छन्, केवल ‘मेरो छोरो, मेरो छोरो’ भनेका छन्, सल्लाहकारहरूको सल्लाह र सुझाव विपरीत उल्टो उल्टो निर्णय गरेका छन्, छोराले जे भन्यो त्यही मानेका छन्, कपटी शकुनीको पछि लागेका छन् तर धृतराष्ट्रले न आफनो राष्ट्रको हित गरे, न आफ्नो प्रतिष्ठा बढाए, न छोरालाई नै राजा बनाए । आखिर धृतराष्ट्रले के पाए ?

यस्तो राष्ट्रीय संकटको संघीन अवस्थामा पनि राष्ट्रीय हित विपरीत प्रतीज्ञा र धर्मका नाममा राजाको कुर्सीको खुट्टा समातेर बसिरहने, सम्पूर्ण कुकृत्यहरू रमिते बनी चुपचाप हेरिहने, धर्म र कर्मको पक्षमा लाग्न नसक्ने भिष्म, राजिनामा दिएर सत्यको पक्ष लिन नसक्ने द्रोण, विदुर, कृपाचार्यहरूलाई के भन्ने ?

हो, गान्धारीलाई विहेपूर्व नै दृष्टिविहीन धृतराष्ट्रबाट भविष्यमा हुनसक्ने दृष्टिहीन कामकारवाहीको पूर्वाभास थियो । त्यसैले उनले आँखामा पट्टी बाँधेकी थिइन् ।

तर हरेक कामकारवाहीमा हस्तक्षेप गर्ने, सल्लाह र सुझाव दिने, अधर्मीहरूको विनाश गर्न सक्ने सर्वशक्तिमान् कृष्णले यी तमामा कुकृत्यहरूलाई किन रोकेनन् या रोक्न चाहेनन् । किनभने सयभन्दा बढी गल्ती गरेपछि जसरी शिशुपाललाई उनले मारे । त्यसैगरी यहाँ पनि धृतराष्ट्र र दुर्योधनबाट पाप र अधर्मको घैंटो भराउनुथियो ।

यदि यसो नहुन्थ्यो त महाभारत युद्धको रचना कसरी हुन्थ्यो ?

-कपिलमणि ज्ञवाली,

प्रतिक्रियाको लागी- [email protected]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button