विचार / दृष्‍टिकोण

बुद्धपुर्णिमा अर्थात बुद्धजयन्तीको महिमा र वर्णन

जागरणपोस्ट-

नेपालको राष्ट्रिय विभूति महापुरुष गौतम बुद्धको जन्म आज भन्दा २५५८ बर्ष पहिला कपिलबस्तु, लुम्बिनीमा बैशाख पुर्णिमाको दिनमा भएको थियो। बुद्ध जन्मेको दिनलाई बुद्ध जयन्तिको रुपमा विभिन्न कार्यक्रमका साथ बिशेष गरेर बौद्ध धर्मालम्बिहरुले विश्वभर मनाउँदछन। अहिले नेपालीहरुले पनि यस दिनलाई विश्वब्यापी रुपमा मनाउँन जमर्को गरेको दिखिन्छ। बुद्ध जयन्ति भन्ने बित्तिकै हरेक मानिसको मनमा शान्ति साथै बुद्धप्रति श्रद्धाको भावना पैदा अवश्य हुन्छ। शान्तिका अग्रदुत अहिंसाका प्रतिक भगवान गौतम बुद्धले मानव मुक्तिको लागि दिनु भएको मार्गदर्शन शान्ति, अहिंसा, दया र प्रेम हाम्रो जीवनमा अभ्यास गर्न किन आवश्यक छ त ? हो २१ शौ शताब्दीको यस बैज्ञानिक युगमा मानिसले कल्पना नै गर्न नसक्ने विज्ञानको चमत्कार देख्न र भोग्न पाएको अवस्था छ। जसले मानिसको पार्थिक शरीरलाई धेरै सुखसयल दिएको छ। संसारभरको मानवलाई एउटै ठाउँमा भेटाई दिएका छन्। सोच, बिचारलाई विश्वभर फैलाउन सक्ने एक अर्कामा बाड्न सक्ने सबै सबै सुबिधाहरु छन्। तर पनि मानिसको जीवन दिन प्रतिदिन प्रतिसपर्दात्मक र तनावपूर्ण बन्दै गईरहेको छ। आखिर जीवनमा जति नै सफल प्राप्त गरे पनि जब सम्म मनमा शान्ति हुदैन तब सम्म जीवन सुखमय हुन नसक्दो रहेछ भन्ने कुराको महसुस अहिलेको बैज्ञानिक युगमा अझ बढी भएको छ।

तर हाम्रो सन्दर्भमा बुद्ध जयन्तिलाई नेपालको राष्ट्रीय पर्वको रुपमा स्थापित गरेर बुद्धको शान्ति, अहिंसा, प्रेम र दयाको संदेश संसारलाई दिदै हामी नेपालीहरुले विश्वब्यापी रुपमा यसलाई मनाएर हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाउँन सकिन्छ। साथै नेपाललाई बुद्धको जन्मभूमि तथा कला, संस्कतिको धनि देश भनेर विश्वमा स्थापित गर्न ठुलो माध्यम बन्दछ बुद्ध जयन्ति। यस पबित्र दिनको अबशर परेर नेपालले विश्वको ध्यान नेपालमा खिच्न सफल हुनसक्नु पर्दछ।

बुद्ध, केवल बुद्ध धर्मावलम्बीहरुका देवता मात्र हैनन्। उनी सम्पूर्ण नेपालीका साझा शान्तिका दूत हुन, उनी महामानव हुन। बुद्धलाई धर्मका रुपमा मात्र लिनु, हेरिनु बुद्धको अपमान हो, संकिर्ण सोचाईको पराकाष्ट हो। बुद्ध जयन्ती सम्पूर्ण नेपालीले मनाउनु पर्दछ। उनी नेपालका राष्ट्र विभूती हुन। बुद्ध जयन्ती एक संस्कृती, कल्चरल कार्य हो। विश्वभरका नेपाली कल्चरल संस्थाले यो बुद्ध जयन्तीको कार्यलाई बार्षिक कार्यक्रममा पहिलो प्राथमिकता दिईनु पर्दछ। दशैं हिन्दुहरुको धार्मिक चाड भएपनि विश्वभरका नेपाली संस्थाहरुले यसलाई धार्मिकका रुपमा नलिई संस्कृति, कल्चरलका रुपमा मनाईन्छ, त्यसैगरी बुद्ध जयन्ती पनि संस्कृति, कल्चरलका रुपमा मनाउनु पर्दछ। दशै मनाउंदा धार्मिक कार्य नहुने, बुद्ध जयन्ती मनाउंदा धार्मिक कार्यहुन्छ भन्नु ब्राम्हणवाद, हिन्दुवादी सोचाई हो। हो, बुद्धलाई बुद्धधर्मालम्बीहरुले भगवान माने, उनीहरु भगवानको रुपमा मानी बुद्ध जयन्ती मानउन, त्यो आफ्नो ठाउंमा ठिक छ।

हामीले छिमेकी देश भारतबाट सिकौ, भारतले ताज महललाई विश्वमा स्थापित गरेर ताज महल मात्र हेर्न बर्षेनी ४० लाख पर्यटन भारतमा भित्रिन्छन। भने नेपालले पनि बुद्धको जन्मभूमि लुम्बिनीलाई ताज महल जस्तै विश्वमा स्थापित गर्न सक्यो भने नेपालमा बुद्धको जन्मभूमिका सुन्दर बुद्ध मन्दिरहरु हेर्न साथै बौद्ध धर्मलाम्बिहरु तिर्थ गर्न अनि नेपालको गहन कला, संस्कृति हेर्न बर्षेनी पचाशौ लाख पर्यटन नेपाल भित्रिन्छन। अनि नेपालको लाखौ युवाबर्ग सानो रोजगारीको लागि खाडी मुलुकहरुमा तनावपूर्ण जीवन बिताउँन बाध्य हुनु पर्नेछैन। बर्षेनी नेपाल आमाले कयौ युवा सन्तान बिदेशी धर्तीमा गुमाउँनु पर्ने छैन। हजारौ चेलिबेटीहरु भारतको बेश्यालयमा नर्क सरि जिन्दगि बिताई रहेको पिडा हामीले सहनु पर्ने छैन। भारतले नक्कली कपिलबस्तुलाई बुद्धको जन्मभूमि भनेर कसैलाई झुक्याउँन सक्ने छैन। हाम्रो पहिचान बुद्धको सन्तान, धनि देश नेपाल शान्तिप्रेमी नेपाली भनेर विश्वमा स्थापित हुनेछ।
 
अहिले बुद्धिजम संसारको धेरै देशहरुमा अभ्यास भैरहेको छ। ठुल्ठुला विश्वबिध्यालयहरुमा यस सम्बन्धि अध्यान भैरहेको छ। विभिन्न भाषाहरुमा ठुल्ठुला ग्रन्थहरु पाईन्छ। अहिलेको बैज्ञानिक चमत्कारमा मानिस आफ्नो सफलता पछि नै दगुर्छन। यस्तो अबस्थामा जब मानिसको हृदयमा दया, प्रेम हुदैन भने मानवता हराएर जानेछ। हिंसा र अशान्ति बढ्यो भने जीवन अनि संसार नष्ट बनाउँनेछ। त्यसैले गौतम बुद्धको शान्ति, अहिंसा, दया र प्रेम को संदेश मानव कल्याणको मध्यम बनेको छ। बुद्धको नाम मात्र सम्झदा पनि हाम्रो मनले उहाँको संदेश आपसेआप अनुभूति गराउदछ भने बुद्ध जयन्ति मनाउँनु भनेको मानव कल्याण गर्नु पनि हो। सारा नेपाली एक जुट भएर बुद्ध जयन्ति मनाऔ। शान्तिको संदेश दिदै नेपाल र नेपालीको पहिचानलाई विश्वमा स्थापित गरौ।

बुद्ध, हिन्दु धर्मावलम्बीहरुका लागि नवौं अवतार हुन। बुद्ध धर्माबलम्बीहरुका लागि एकमात्र देवता। अन्य मार्गीहरु वा सबैका लागि एक शान्तिका दूत, शान्तिका पुजारी, अहिंसाका पथप्रदर्शक, जीवजन्तु तथा वातावरणका संरक्षक। त्यस्तै, बुद्ध विपश्यना ध्यानका अन्वेषक। नेपालका एक महामानव, नेपालीहरुका गौरवका व्यक्तित्व, नेपालका राष्ट्र विभूती। सबै विश्वकालागि एक महान् व्यक्तित्व, महापुरुष।
बुद्ध हिन्दु परिवारमा जन्मिनु भयो। उहाँको नामाकरण संस्कार, चूडाकर्म, बिबाह आदि सबै हिन्दु रिती संस्कार अनुसारको गरिएको थियो। ज्ञानको खोजिका क्रममा उहाँले विभिन्न ऋषि मुनिहरुबाट धर्म ग्रन्थका ज्ञान तथा सन्देशहरु लिनुभयो, अध्ययन गर्नुभयो। त्यसबखत धेरै धार्मिक गुरुहरु थिए। ति मध्ये अलारा कलमा एक प्रख्यात गुरुथिए, उहाँसँग बुद्धले आधात्म ज्ञान, ध्यान, योग आदिको शिक्षा लिनु भयो। केहि समय मै बुद्धले गुरुले जानेको जत्तिकै शिक्षा प्राप्त गर्नु भयो र ज्ञानमा गुरु सरह नै हुनुभयो। गुरुले त्यहाँ अरु नयाँ प्रशिक्षार्थीहरुलाई शिक्षा दिन, शिक्षक हुन बुद्धलाई अह्राउनु भयो, तर बुद्धको ज्ञानको भोक मेटिएको थिएन। उहाँ अर्को शिक्षकको खोजिमा लाग्नु भयो र पछि उदका नामक शिक्षकसँग शिक्षा लिन थाल्नु भयो। थोरै समयमा गुरुसरहको शिक्षा प्राप्त भएपछि अरु गुरुको खोजीमा लाग्नु भयो। त्यसपछि जति जति गुरुहरु बनाउनु भयो ति गुरुहरुबाट पाएको शिक्षा उहाँलाई अपुग हुन्थ्यो र उहाँ अझ बढी यथार्थ ज्ञानको भोको बनी ज्ञानको खोज्नेक्रममा निरन्तर लाग्नु भयो।

त्यसै बिचमा उहाँसँग पाँचजना साथीहरुसँग भेट भयो। बुद्धले उपवास बसी पाँचबर्ष सम्म कठोर तपस्या गर्नुभयो, त्यस बखत ति पँाच साथीहरुले उहाँको रेखदेख गर्न मद्दत गरे। यस्तो कठोर तपस्या गर्दा उहाँको शरिरमा हाड छाला मात्र बाँकि रह्यो। यस्तो चरम ध्यान गर्दा पनि ज्ञान प्राप्त नभएपछि बुद्धले शरिरलाई कठोर यातना दिएरमात्र ज्ञान प्राप्त हुँदो रहेनछ, अनुत्तरित प्रश्नहरुको उत्तर प्राप्त हुन्नभन्ने लाग्यो र भिक्षाटन गर्न शुरुगरी शरिरलाई पहिलेकै अवस्थामा ल्याउन पट्टि लाग्नु भयो। यो देखेर ति पाँचसाथीहरु दुःखी भए र बुद्धलाई एक्लै छोडी गए। त्यसपछि बुद्ध गयामा गई एक रुखमुनि बसी विपश्यना ध्यान गर्न लाग्नु भयो। पूर्णिमाको दिन उहाँलाई पूर्ण ज्ञान प्राप्त भएको थियो।

बुद्धले २९ बर्षको उमेरमा राजदरवार, घर परिवार छोडनु भयो। ६ बर्षसम्म ज्ञानको खोजीगरी ३५ बर्षको उमेरमा ज्ञान प्राप्त भयो। त्यपिछि करिव ४५ बर्षसम्म आफूले प्राप्त गरेको ज्ञानको दिक्षा अरुहरुलाई दिई दुःख क्लेसबाट मुक्त हुन मद्दतगरी समाज सेवा गर्नु भयो। हरेक दिन शुभ प्रभातका समय देखि रातको मध्यान्न सम्मपनि आश्रममा आउने व्यक्तिहरुलाई सेवा गर्नुहुन्थ्यो। उहाँलाई केवल दुई घण्टामात्र विश्रामको आवश्यकता पर्दथ्यो। त्यो विश्रामको समयमा पनि उहाँ जागा, सचेत नै बस्नु हुन्थ्यो।

बुद्धलाई हिन्दुहरुले नवौ अवतार मान्दछन्। तर, नवौं अवतार मानेपनि कुनै पनि हिन्दु धर्मग्रन्थमा बुद्धका लिलाहरुको बर्णन गरिएको छैन। हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमदभागवत् पुराणमा विष्णु भगवानको अन्य अवतारहरुको चरित्र बारेमा कथाहरु राखिएका छन्। विशेषगरी श्रीकृष्णको चरित्र बढी विस्तार पूर्वक राखिएको छ। सिता रामको चरित्र पनि छैन। त्यस्तै कृष्ण पछि भगवान् बुद्धको अवतार भएकोमा बुद्धका चरित्रहरु ख्ोाई समाबेस गरीएको? नवौं अवतार, विष्णुको पछिल्लो अवतार भएकोले बुद्धको महिमा त झन बढी हुनु पर्ने, किन हो श्रीमदभागवत् पुराण लेख्ने पण्डितले बुद्ध चरित्र राखेनन, मलाई अचम्म लागि रहेको छ। तपाईहरुमध्ये कसैलाई यसबारेमा ज्ञान भएमा कृपया बाँडनु होला।

कतिपय को भनाई हुन सक्छ, श्रीमदभागवत् पुराण बुद्ध जन्मनु अघि र कृष्ण जन्मेेपछि लेखिएको भन्ने। तर, त्यसमा कुनै तुक छैन। किनभने बुद्ध अघि सबै श्रृति, स्मृतिमात्र थियो, लिपीबद्ध गरी लेखिएका धर्मग्रन्थहरु थिएनन्। यदि तपाईहरु यसमा सहमत हुनुहुन्न भने, कृपया आफ्नो विचार राख्नुहोला।

ल मानौ, श्रीमदभागवत् पुराण बुद्ध जन्मिनु अघि नै लेखिएको थियो भने, बुद्धको अवतार भएपछि र बुद्धको निर्वाणा भएपछि किन अर्को श्रीमदभागवत् पुराण भाग दुई लेखिएन? यो नलेख्नु नै हिन्दु धर्म पछि पर्नुको कारण हो।
स्वामी विवेकानन्दले सन् १८९३, सेप्टेम्बर ११ तारिखका दिन सिकागो, अमेरिकामा भएको विश्व पार्लियामेन्ट अफ रिलिजन मा सम्बोधन गर्नुभएको थियो। उक्त अवसरमा उहाँले हिन्दु वेदान्त तथा हिन्दु दर्शन, बुद्धधर्म र योगाको बारेमा बोल्नु भएको थियो। त्यस उप्रान्त मात्र पश्चिमी समाजले हिन्दु धर्म, बुद्ध धर्म, पूर्विय दर्शन र योगाको बारेमा राम्रो जानकारी पाएका थिए। स्वामी विवेकानन्दले स्पष्ट रुपमा बारंम्बार भन्नु भएको थियो कि विष्णु भगवान्का पुराना अवतारहरुले गर्न नसकेको काम पुरा गर्न, हिन्दु धर्मलाई पूर्ण धर्म बनाउन र मानव कल्याणका लागि बुद्ध भगवान्को जन्म भएको भनेर। साथै उहाँले हिन्दुहरुले यसलाई आत्मसात नगर्नु हिन्दुहरुको ठूलो गल्ती भएको भनेर भन्नु भएको थियो। यो विचारले म ज्यादै प्रभावित भएँ र बुद्धका ज्ञान, दर्शनको अध्ययन गर्न प्रेरित भएको हुँ।

बुद्ध भगवानलाई ज्ञान प्राप्त भएपछि उहाँले आफुले प्राप्त गरेको ज्ञान आफ्ना पाँच साथीहरुलाई दिनुभयो, ति साथीहरुले पनि विभिन्न दिशामा गएर ज्ञानको प्रचार गरे, एवं प्रकारले उक्त ज्ञानको प्रचार प्रसार हुंदैगयो। त्यस समयमा अधिकांश मानिसहरु बुद्धका अनुयायी भए। बुद्ध पछि पनि बुद्धका ज्ञानको प्रचार हुंदै गयो। शताब्दियौ पछि सम्राट असोक पनि बुद्धका अनुयायी भई बुद्धको ज्ञान प्रचार प्रसार तिब्ररुपमा गरे।

बुद्धका अनुयायीहरु बढेपछि कर्मकाण्डहरु गर्ने मानिसहरु कमभए र त्यसबखतका कर्मकाण्डगरी आय आर्जन गर्ने ब्राम्हणहरुलाई मार्का पर्न गयो। मुख्य कुरा, बुद्धको समयमा तथा बुद्ध पछि पनि भारतबर्षमा कास्ट सिष्टम (जातिय प्रथा) ले जडो गाडेको थियो। बुद्ध भन्दा अघि मानिसहरुमा तल्लो जातकाले धर्मगर्यो, ज्ञान प्राप्त गर्यो भन्ने अर्को जन्ममा माथिल्लो जातकोमा जन्म हुन्छ, यहि क्रममा ब्राम्हण भएपछि, ब्राम्हणले ज्ञान प्राप्त गरेपछि मात्र मोक्ष पाइन्छ भन्नेकुरा कथा पुराणहरुमा ब्राम्हणहरुबाट रचिएका थिए। तर, बुद्धले सबै मानिस बराबर हुन, तल्लो जात वा माथिल्लो जात जोसुकैले पनि ज्ञान प्राप्तगर्न सक्दछ र मोक्ष प्राप्त गर्न सक्दछ भन्ने सन्देश दिनुभयो। यो त्यस वखतका समयमा जातपात बिरुद्धको ठूलो क्रान्ति थियो। यसले गर्दा जातपातका आधारमा उचो जातका ब्राम्हणहरुको प्रभुत्वमा असर पर्न थाल्यो। त्यसपछि ति कर्मकाण्ड पेशा गर्ने ब्राम्हणहरुमिली बुद्धको बिरुद्धमा भ्रम फिजाउन थाले। जसको फलस्वरुप बुद्धका सम्पूर्ण ज्ञानहरु हिन्दुधर्मका कथा, पुराणमा परेनन्। त्यसवेलाका ब्राम्हणहरुको कारणले गर्दा बुद्धको ज्ञान मार्गमा लागेकाहरु पनि पछि त्याग गरी पुःन हिन्दुधर्मलाई अवलम्बन गरे। तर, बुद्धको ज्ञान यतिरुपमा फैलिसकिएको थियो कि उनीहरु बुद्धलाई विष्णुको नवौं अवतार हो भनी मान्न चाहिं तयार भए। दुखद कुरा, बुद्ध चरित्र, बुद्ध महात्म्य आदिलाई हिन्दुधर्म ग्रन्थमा राखेनन्। यो नै त्यसबखतका ब्राम्हणहरुको ठूलो भूल थियो।

बुद्धका समयमा र त्यसपछि पनि ब्राम्हणवादले जरो गाडेको नेपालका क्षत्रिय राजा महाराजाहरु प्नि हिन्दुधर्मका अन्धा भक्त थिए, तिनीहरुले बुद्धका ज्ञान उपदेशको महत्व बुझेनन्। बुद्धमार्गी, भिक्षु देखे भने डाँडा पारी कटाउने जस्ता निन्दनिय काम गरे। यसले गर्दा बुद्धका ज्ञान उपदेश नेपालका त्यसवखतका तल्लो जातका मानिसहरुले मात्र अबलम्बन गरे। बाहुन क्षेत्रीहरुले बुद्धका ज्ञान अवलम्बन गर्न सकेनन्।
भारतमा भन्दा नेपालमा धेरैजसो हिन्दुहरु बुद्धको मन्दिर गुम्बाजाने, हिन्दु एवं बुद्धधर्मका दुवै तिरका संस्कृतिहरु पनि अपनाउने, एक अर्कोमा राम्रो सदभाव राख्ने देखिन्छ। तर त्यतिमा मात्रै सिमित हुनु, वा थोरै मानिसहरुमा मात्र त्यस्तो संस्कारको विकास हुन दुःखको कुरा हो। त्यस्तै बुद्ध जन्मेको देशमा बली पूजाको अझ सम्म पनि चलन रहनु ज्यादै दुःख लाग्दो कुरा हो।

विकसित पश्चिमी मूलुकका नागरिकहरु यति धेरै सुख सुबिधा सम्पन्न हुँदा हुँदै पनि उनीहरुको मन दुःखी छ। उनीहरुमा शान्ति छैन। त्यसैकारणले उनीहरु भौतिक सम्पूर्ण सुबिधाहरु हुँदापनि किन मन शान्ति छैन, किन सुख अनुभव भईरहेको छैन भनी सोच्न थाले। यहि क्रममा बुद्धका उपदेश, योगा, ध्यानको अध्ययन गरी पालना गर्नथाले। फलस्वरुप उनीहरुले शान्ति तथा सुखको महसुस गर्न थाले। यहिकारणले गर्दा नै आज योगा, ध्यान केन्द्रहरु विश्वका हरेक शहरमा खुल्नेक्रम जारी छ। आज बुद्धको परिचय दिई रहनु पर्दैन। बुद्धका सन्देशहरु स्वतफूर्त रुपमा आफैं प्रचार प्रसार हुँदैछ। विपश्यना ध्यानकेन्द्र खुल्ने क्रम जारी छ। क्यानडाका माध्यमिक विद्यालयमा अव योगा शिक्षा राखिन थालिएको छ।

समग्रमा भन्दा बुद्ध सम्पूर्ण विश्वका शान्तिका पूजारी हुन। हामी नेपालीहरु आफ्नै देशमा जन्मेका बुद्धलाई सम्पूर्ण नेपालीका बुद्धका रुपमा अझ सम्म पनि प्रचार प्रसार गर्न सकिरहेका छैनौ। अहिले फेसवुकको चलन भएपछि चाहिं केहि समुहले बुद्ध इज वर्न इन नेपाल भनी बेलाबखतमा प्रचारको अभियान चलाउनु हुन्छ, तर के यति ले मात्रै प्रयाप्त हुन्छ र? अवश्यै हुंदैन। अरु देशले के गर्यो, कुनठाउँमा नक्कली बनायो भनेर भन्नु भन्दा, हामीले के गर्यौ? हामीले के गर्ने? भन्ने तर्फ ध्यानदिन जरुरी छ। तसर्थ, निम्न कुराहरु गर्न जरुरी छ।

(१) अहिले नेपालीहरु विश्वका हरेक कुना काप्चामा छरिएर रहेका छौं। बुद्ध जयन्तीको बेला, यसबर्ष मे १७ देखि मे २६ भित्र, हरेक नेपालीले आफु बसेको ठाउँमा दुइचारजना स्थानीय विदेशी साथीभाई हरुलाई बोलाई बुद्ध जयन्ती मनाई नेपालको राजदूतको भूमिका निभाउनु पर्दछ। हामी हरेक नेपाली नै नेपालका राजदूत हौं।

(२) नेपाल सरकारले पनि हरेक दूतावासमा बुद्धको पूर्ण कदको मूर्ति वा तस्वीर राखी बुद्ध पूर्णिमाका दिन नेशनल डे का रुपमा मनाउन विदेशी पाहुनाहरुलाई वोलाई रिसेप्सनको कार्यक्रम गरी बुद्धका कृति तथा लुम्बिनीको प्रचार प्रसार गर्न जरुरी छ। विदेशी नियोगमा नेपालको भिसालिन आउने हरेक पर्यटकलाई बुद्ध र लुम्बीनीको जानकारी मुलक एक पाने पेएम्पलेट वितरण गर्नु पर्दछ।

(३) गैर आवासिय नेपालीहरुको संस्था एन आर एन ले पनि बुद्ध जयन्ती मनाउन विश्वभरका आ आफनो नेटवर्क प्रयोगगरी मनाउनु पर्दछ।

(४) त्रिभुवन अन्तराष्टि्रय विमानस्थलमा बुद्धको ठूलो मूर्ति स्थापना गरी बुद्ध जन्मेको देशमा तपाईलाई स्वागत छ भन्ने वोर्ड राख्नु पर्दछ। त्यस्तै पोखरा, भैरहवा तथा अन्य राजमार्गमा लुम्बिनी कति किलोमिटर टाढा छ भनी वोर्ड राख्नु पर्दछ। लुम्बिनीमा पनि ठाउँ ठाउँमा वोर्ड राख्नु पर्दछ।

(५) बिदेशीहरुलाई लुम्बिनीको यात्रा गराउने ट्राभल टुर कम्पनीहरुलाई नेपाल सरकारबाट प्रोत्साहन र कदर गर्ने कार्यक्रम ल्याउनु पर्दछ।

(६) नेपालकै विभिन्न शहरहरुमा लुम्बिनीको बारे जानकारी दिने वोर्ड तथा अन्य जानकारी मूलक सामग्रीहरु उपलब्ध गराई लुम्बिनीमा आन्तरिक टुरिजम बढाउनु पर्दछ।

(७) नेपालमा पनि नेपाल सरकारले बुद्ध जयन्तीका दिन देशभर भव्य कार्यक्रम गरी मनाउनु पर्दछ।

(८) नेपाल सरकारले अविलम्ब नेपालमा बलि पूजाको प्रथामा रोक लगाउने कानून बनाउनु पर्दछ।

बुद्ध जयन्तीको यस पावन अवसरमा बुद्धका दश धर्मादेश (कमाण्डमेन्ट्स) का वारेमा पनि चर्चा गरौं जुन यसप्रकारका छन् :

(१) जिव जन्तुको हत्या नगर्नु, नमार्नु।
(२) नचोर्नु।
(३) झूठो नबोल्नु।
(४) खराव आचरण वा अनैतिक सम्बन्ध नराख्नु।
(५) नशालु पदार्थ सेवन नगर्नु।
(६) पैसा, सुन चांदि बहुमुल्य बस्तु कसैबाट नलिनु।
(७) गहना, आभुषणले नसज्जिनु।
(८) अग्लो वा विलासी ओछ्यानमा नसुत्नु।
(९) बारंबार खाना नखाइरहनु, दिनको मध्यान्न पछि खाना नखानु।
(१०) नृत्य नहेर्नु, संगीत नवजाउनु वा नसुन्नु।

यस्ता अति आदर्श नियमकासाथ साधारण जिन्दगी विताउनु भनेर भनेका नेपालका शान्तिका दूत जन्मेको देशमा भने यि कामहरुले नै प्रशय पाइरहनु दुःख लाग्दो बिषय हो। सबै दश नियमहरु पालना गर्न नसकिएला अरे तर नम्बर एक देखि नम्बर आठ सम्म त सजिलै पालना गर्न सकिने नियमहरु हुन, तर खै? नेपाल लगायत विश्वका सबै मानिसहरु नगर्नु भनेका कुराहरु नै गर्नु भनेर बुझेका छन् र गरी आएका छन्। ‘न’ हटाएर बुझेका छन्, मार्नु, चोर्नु, बोल्नु …..यसैले गर्दा विश्वमा अशान्ति, दुःख, क्लेस बढदै छ।

बुद्धका चार आर्यसत्य (नोवल ट्रुथ)

(१) जन्म हुनु, बुढो हुनु, रोग लाग्नु र मृत्यु सबै दुःख हुन। चिन्ता, असन्तुष्टि, लालच, लगाव आदि नै दुःखका कारणहरु हुन।

(२) दुःख पाउनुको मुख्य कारण आफुसँग नभएका कुराहरु प्राप्त गर्ने अभिलाषा हो, त्यस्तै कामवासना, भोग प्यासको चाहना, तृष्णा हो।

(३) दुःख कष्टबाट उन्मुक्तिको लागि कुनै पनि कुरा प्राप्त गर्ने अभिलाषा, तृष्णा, चाहनालाई हटाउनु पर्दछ।

(४) यस्ता तृष्णा, चाहनाहरुलाई हटाउनका लागि आठवटा नियम पालन गर्नु पर्दछ, जुन तल दिइएको छ :

(क) जिवन, प्रकृति र विश्व प्रति सहि तरिकाले हेर्नु, बुझ्नु।

(ख) असल वा राम्रो सोच राख्नु

(ग) सत्य वोल्नु, अरुलाई चित्तदुख्ने, खराव शब्दहरु कुरो नबोल्नु।

(घ) असल चरित्र राख्नु, जिव जन्तुको ज्यान नलिनु, नचोर्नु, कामवासनामा लिप्त नहुनु

(ङ) नैतिक तरिकाले कसैलाई हानी नगरी आय आर्जन गर्नु,

(च) खराव बिचार, खराव कार्य, आचरणलाई त्याग्ने सोचराख्ने प्रयास, कोशीश गर्ने,

(छ) शरिर र दिमागलाई असरगर्ने खरावकुराहरु दिमागमा आउन नदिने, सधै सतर्क रहनु

(ज) दिमागलाई एकाग्रगरी ध्यान गर्नु

अहिलेको शहरिया समाज, पश्चिमी रहन सहनमा सम्पूर्ण विश्व लम्किरहेको अवस्थामा बुद्धका सम्पूर्ण ज्ञान वा आदेशलाई ब्यबहारमा उतार्न नसकिएला अरे, तर धेरैजसो आदेशहरु पालना गर्न सकिने खालकाछन्। यस्तो पालना गरेको खण्डमा घर, समाज, गाउँका, शहर राष्ट्र एवं विश्व नै एक सुखमय, शान्तिमय, आनन्ददायी भई यो भूलोक नै स्वर्गलोक बन्न सक्दछ।

बुद्ध जयन्तीको यो पवित्र अवसरमा अलिकति समय पनि बुद्धको संस्मरण गरी, केहिवेर ध्यानगरी शाकाहारी भोजन गरेमा सुख, शान्ति प्राप्त भई तपाईको जिवन पनि सफल हुनेछ। संसारमा सबैको भलो होस, कल्याण होस। बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button