विचार / दृष्‍टिकोण

बैशाख महिनामा काठमाण्डौमा यतिविघ्न जाडो किन?

डा. अम्बरिस पोख्रेल

डा. भगवती कुंवर पोख्रेल //

गत सालको मंसिर महिना देखि बिस्तारै सुरु हुँदै गरेको नोबल कोरोना भाइरस (कोभिड_१९) पुषको अन्त्यतिर चिनियाँ सहर हुवानमा महामारीको रुपमा सङ्क्रमित भइरहेको थियो । त्यसको सही मूल्यांकन गर्दै चीनी सरकारले सम्बन्धित क्षेत्रका शहरहरू लाई छिटो भन्दा छिटो लक डाउन (बन्द सत्र नेपालीमा) गर्दै लाखौं नागरिकहरुको व्यवस्थापन गर्दै भाइरसको संक्रमणलाई आफ्नो नियन्त्रण लिन सकेको देखिन्छ । लक डाउन (बन्द सत्र) भनेको व्यवस्थापन लागि समयको माग हो । सत्ता भागवण्डाको लागि फुर्सदको समय होइन । चिनियाँ सहरहरूमा दैनिक गुड्ने करोडौं सवारीसाधनहरु ठप्प हुन पुगेको कुरा स्पष्ट नै छ । ती सवारि साधनहरू तथा दशौं हजार कल कारखानाबाट उत्पादित प्रदूषण स्वतः सुन्य अवस्थामा झरेको छ । अर्थात् वातावरणले आफ्नो पुरानो स्वरूप ग्रहण गर्न सकेको देखिन्छ । त्यसले गर्दा चिनिया भूभागमा समेत चिसो हावाको चाप सक्रिय हुन पुगेको देखिन्छ ।

मानव जाति आफैले सृजना गरेको प्रदूषण यसरी बन्द सत्र मार्फत विश्वका थुप्रै देशहरूमा न्यून वा सुन्य अवस्थामा झरेको विद्यमान अवस्था रहेको छ । तर प्रदूषणको सुरुवात लगभग सन अठार सय पचास (सन् १८५०) बाट भएको मानिएको छ । यो मितिलाई केन्द्र बिन्दु एक छिनको लागि सम्झिन सकियो भने वातावरणलाई दुई प्रकारले हेर्न र बुझ्न सकिन्छ । अर्थात् यो मिति अघिको प्राकृतिक वातावरण जसमा मानव जातिको हस्तक्षेप कम् रहेको अवस्था र पछिल्लो अवस्था भनेको हामीले दैनिक रूपमा वातावरण माथि गरेको हस्तक्षेप वा अप्राकृतिक वस्तुहरूको उत्सर्जन हो ।

विश्व मानव जातिले गरेको अप्राकृतिक वस्तुहरूको उत्सर्जन तथा दोहनले गर्दा वातावरणको आफ्नो ऐतिहासिक पहिचानमा फेरबदल भइरहेको छ । यही कुरालाई मध्य नजर गरेर नै विभिन्न देशहरुले विभिन्न प्रकारका वातावरणीय मापदण्डहरू निर्धारण गरेका छन् । ती मापदण्डहरू अन्तर्गत मानिसहरूले आफूलाई समय अनुकूल बनाउनु कानुनी र व्यावहारिक रूपले बाध्य भएका छन् । सन् १८५० पछि पनि पुन: विभिन्न चक्रीय स्वरुपहरु देखापरेका छन् । एशिया तथा पूर्वी एसियाका देशहरूमा त्यो प्रकारको चक्रहरु देखा परेको छ । जस्तै सन् १९८० को दशक पछि पनि विभिन्न चक्रहरु देखा परेको छ । यसको सामान्य अर्थ के हो भने वातावरणमा समय अनुसार हावाको उच्च चाप र न्यून चापिय केन्द्र विन्दुहरु को फेर बदल भइरहेको छ । दक्षिण एसिया का थुप्रै क्षेत्रहरू (देशहरू) मा समेत त्यो प्रकारको फेरबदल भइरहेको छ । न्यून र उच्च चाप केन्द्रहरूमा आइरहेको फेरबदल नै मौसम परिवर्तन हो । हाल वैशाख महिनामा पनि धेरै चिसोपन को प्रत्यक्ष अनुभव यही मौसम परिवर्तन हो । यो क्रम लामो वर्षहरू सम्म रहेको अवस्थामा मात्र त्यो वातावरणीय अर्थात् हावापानीको परिवर्तन हुन् जान्छ ।

हामीले सरसर्ती पुनरावलोकन गर्दा के भेटियो भने गत वर्षको (सन् २०१९) अप्रिल महिनाको ३०, २९ र २८ तारिखमा नेपालको पश्चिम तिर बाट तातो हावा प्रवेश गरी काठमाण्डौ सम्म आइपुगेको देखिन्छ । त्यो प्रकारको हावा भारतीय भूमि हुँदै पाकिस्तानी भुमिसम्मको मरुभूमि क्षेत्रको समेत देखा पर्दछ । हामीले गरेको परीक्षणबाट पनि काठमाण्डौको सतह देखि १००, २०० र ५०० मीटरको उचाइमा पाँच दिने हावाको बहाव (२६,२७,२८,२९ र ३०) को दिशा तथा प्रस्थान केन्द्रहरू समेत एउटै रहेको तलको चित्र “क” मा सजिलै देख्न सकिन्छ। यो प्रकारको बहाव स्थानीय नभएर अन्तरदेशीय तथा क्षेत्रीय आयतनमा देखा परेको छ, जुन कुरा हामीले वर्षौंदेखि सुन्दै आएको र त्यसको नतिजा अझ अनुभव गरेकै थियौं ।

हामीले पुन: यो वर्षको (२०२०) अप्रिल महिनाको ३०, २९ र २८ तारिखको पनि परीक्षण गरेर हेर्दा गत वर्षको भन्दा लगभग एक सय अस्सी डिग्री को फरक दिशा तथा केन्द्रहरुबाट हावाको बहाव काठमाण्डौ मा प्रवेश गरेको देखिन्छ । यो हावा विशेष गरी हाम्रो देशको हिमाल तथा पहाडको स्वच्छ हावाको प्रधानता देखिन आउँछ । चित्र “ख” अनुसार चिनियाँ भूमिको हावा नेपाल तीर आए जस्तो देखिएता पनि त्यो पूर्ण सत्य होइन । चित्र “ख” मा उल्लेख भएको मितिको हावाको बहाव नेपालको आफ्नै मौलिक प्रदूषण विहिन स्वच्छ हावा हो । यहाँ बिर्सन नहुने कुरा के छ भने, यो प्रकारको हावाको बहाव पुन: प्रदूषण सुरु भएको अवस्थामा परिवर्तन हुने हो वा होइन, अझै केही हप्ता हेर्नु पर्ने हुन्छ । यदि अहिलेको अवस्थामा परिवर्तन भएन भने त्यो स्वतः मौसम बाट हावापानी परिवर्तनमा परिणत हुने छ । यसको पछाडिका आयामहरू को विस्तृत अध्ययन तथा परीक्षण अहिले हामीले गर्नु पर्ने आवश्यकता महसुस गरेनौ कारण केही हप्ता पछि स्वतः थाहा हुने नै छ ।

विशेष गरी चिनियाँ तथा भारतीय शहरहरूमा डिजेल, पेट्रोल तथा इन्धनबाट चल्ने गाडी देखि लिएर कारखानाबाट उत्पादित प्रदूषण कम् हुन गइरहेको अवस्थामा नेपालमा पनि बन्द सत्र (लक डाउन) कारणले थोरै मात्रामा भए पनि प्रदूषण कम भएको छ । एकै पटक एकै प्रकारको अंकुश (प्रदूषण) बाट वातावरण स्वतन्त्र भएको कारणले वैशाख महिनामा गत वर्षहरुको तुलनामा दैनिक मौसममा नयाँ प्रकारको फेरबदल भइरहेको छ । सवारी साधन तथा कारखानाको प्रदूषणले विशेषत हावाको बहाव लाई कन्ट्रोल गरिरहेको हुन्छ । अहिले त्यो बहाव माथि कुनै प्रकारको अन्तरदेशीय दबाब (बुझ्ने शब्दमा: कुटनैतिक दबाब छैन तर सकारात्मक प्रभाव) नपरेको हुँदा हामी नेपालीहरुले आफ्नै भूमिको मौलिक मौसमको वा चिसोपन अनुभव गर्न पुगेका छौ ।

यो प्रकारको फेरबदल सानो स्केलमा रहेका कारक तत्वहरूले सम्भव हुन सक्दैन । अहिलेको अवस्था ठूलो स्केलमा भइरहेको हो । यसको पछाडि आफ्नै मापदण्डहरू छन् । एउटै लेख मार्फत ती सबै कुराहरूको व्याख्या हुन सक्दैन । यसरी अहिले भइरहेको मौसमी अवस्था अन्तरदेशीय प्रभावमा (दबाब होइन) तर नेपालकै मौलिक बहाव हो । स्मरणीय छ, सानो स्केलमा सम्भव हुने अवस्थाहरू झन् धेरै विद्यमान थिए र छन् । तर त्यही अनुसारको अर्को प्रकारको मौसमको प्रतिनिधित्व गर्दछ। त्यसैले नौलो प्रकारको मौसम वैशाख महिनामा प्रत्यक्ष अनुभव आफै गरिरहेका छौं । यो पछाडिको विस्तृत विज्ञान पछि अझै पढौला वा जान्दै गरौंला।

(डा. पोख्रेल र कुंवर अमृत साईन्स क्याम्पसमा अध्यापन गराऊनुहुन्छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button