प्रदेश १

लिपुलेकमा भारतले सडक बनाएको बिरोधमा बिराटनगरमा प्रदर्शन

भारतले नेपाली भूमिमा सडक बनाएको विरोधमा विराटनगरको सीमानजिक विरोध प्रदर्शन गरिएको छ । जोगबनी नाकावारि सीमानजिक क्षेत्रका युवाहरुले लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएको भन्दै विरोध गरेका हुन् । उनीहरुले भारतले गर्दै आएको पटकपटकको अतिक्रमणको निन्दा गरेका छन् ।

प्रदर्शनका क्रममा युवा समूहले अतिक्रमणविरुद्ध नारा लगाएका थिए । प्रदर्शनकारीले ‘स्वतन्त्र युवा समूह विराटनगर’नामबाट तयार पारिएका ब्यानर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि विराटनगर महानगरपालिका १७ मा विरोध सभा गरिएको थियो । सभामा बोल्दै समूहका अध्यक्ष हमिद आजादलगायतले अतिक्रमणको विरोध गरेका थिए ।
प्रदर्शनमा सहभागी युवाले विस्तारवाद मूर्दावाद, नेपाली सीमा मिच्न पाइँदैन, गो ब्याक इन्डिया लगायत नारा लगाएका थिए । युवा अग्रसरतामा अतिक्रमणविरुद्ध प्रदर्शन सुरु भएपछि रानी क्षेत्रका अरु पनि सहभागी भएका थिए ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको हो । नेपाली पक्षसँग सल्लाहै नगरी एकतर्फी रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय राजधानी दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए ।

भारतले सन् २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टी पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको व्यापक विरोध हुँदै आए पनि त्यसयता उत्पन्न समस्या समाधान भइसकेको छैन । पहिलेकै समस्या रहेको अवस्थामा चीन जोड्ने सडकमार्ग बनाएको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button