विशेष

धर्मले हामीलाई के सिकाऊँछ?

धर्म एउटा सजिलो शब्द हो । दैनिक जीवनमा धर्मको प्रयोग प्रायः हुने गर्छ । यसको लागि कुनै योग्यता या शिक्षा हासिल गर्नुपर्दैन । यो एउटा स्वाभाविक तरिकाले अभिव्यक्त हुने शब्द हो । धर्म भन्नाले हामीले असल काम, परोपकारी काम र सकारात्मक काम सम्झन्छौँ । कसले भन्छ धर्म गर्नुपर्दैन अथवा राम्रो होइन ?

धर्म ईश्वरसित जोडिएको शब्द पनि हो । जीवन मृत्युसँग पनि उत्तिकै सामीप्यता भएको अभिव्यक्ति पनि हो । त्यसैकारणले यो मानिसको आस्था र विश्वाससित सम्बन्धित छ । चाहे ईश्वरलाई पाउने उद्देश्यले होस् या पुण्य कमाउने लक्षले होस्, हामीले क्षणक्षणमा धर्म गर्नुपर्छ भनेर फलाकिरहन्छौं ।

तर धर्म एउटा साह्रै अप्ठेरो शब्द पनि हो । यसलाई सही मानेमा बुझ्न कठिन छ । यसको गहराइमा पुग्न अझ कठिन छ । जुन प्रकारले आजको संसारमा यसलाई बुझिएको छ, त्यो भ्रमात्मक पाइएको छ । विवाद नै हुनुनपर्ने शब्द र धर्ममाथि यति धेरै विवाद, विषमता र विकार देखिनु दुःखलाग्दो विषय हो ।

यसको मुख्य कारण धर्म शब्दको प्रयोग सीमित दायरामा भएकाले हो । नेपाल, भारत र यी देशहरूमा बोलिने भाषाहरू प्रयोग हुने अन्य मुलुकमा धर्मलाई अंग्रेजी शब्द रिलिजनको पर्याय सम्झिन्छ । त्यसैकारण हिन्दु धर्म, इस्लाम धर्म, बुद्ध धर्म, क्रिस्चियन धर्म भन्ने गरिन्छ । यसै सीमित प्रयोगबाट भ्रम सुरु हुने गरेको छ । हिन्दु, इस्लाम, बुद्ध अथवा क्रिस्चियन आस्था, विश्वास र सम्प्रदाय हो । ती आस्थामा विश्वास गर्नेहरूले आआफ्ना धार्मिक ग्रन्थहरू र परम्पराको अनुसरण गर्छन् ।

यही अनुसरण गर्नेक्रममा यिनका अनुयायीहरूका बीचमा अनेक विवाद, द्वन्द्व र झैझगडा हुने गर्छ । हुँदाहुँदा यस्तो झगडा राजनीतिक रूपमा पनि हुने गर्छ । यसबाट आतंकवादको सिर्जना भएको छ । यसले केही आस्थाहरूको बद्नाम पनि गराएको छ । यसबाट न यिनका अनुयायीहरू सन्तुष्ट छन् न त आलोचकहरू सही देखिन्छन् । यसबाट त्राण पाउनु आजको युगको एउटा ठूलो चुनौती बनेको छ ।

धर्म एक संस्कृत भाषाको शब्द हो । पूर्वीय आस्थाहरूमा यो शब्दको प्रयोग विभिन्न किसिमले भएको पाइन्छ । पूर्वीय र पश्चिमी देशका विद्वान्हरू एउटा कुरामा सहमत भएका छन् कि धर्म शब्दको पर्यायवाची शब्द कुनै पनि पश्चिमी भाषामा छैन । यसकारण प्रायः धर्मको उल्था रिलिजन ले गर्ने गरिन्थ्यो भने आजभोलि अंग्रेजीमा यसको उल्था राइटियस्नेस भनेर गरिन्छ ।

राइटियस्नेस भन्नाले सही कुरा, न्यायोचित कुरा, नैतिक कुरा आदि बुझिन्छ । तर यो अभिव्यक्तिले धर्मको मर्म बुझाउन सक्दैन । धर्मको मर्म योभन्दा पनि धेरै फराकिलो छ । हुन त धर्मले यी भावनालाई पनि समेट्छ तर धर्मले योभन्दा पनि फराकिलो भावनालाई जनाउँछ ।

हिन्दु आस्थामा धर्म भन्नाले त्यो व्यवस्थालाई जनाउँछ, जसबाट प्राणी र ब्रह्माण्डको सम्बन्ध कायम भएको छ । यसले स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र जिउने सही तरिका आदिलाई जनाउँछ । बुद्ध आस्थामा धर्मले ब्रह्माण्डको नियम, कानुनलाई बुझाउँछ, तर यसबाट बुद्धले प्रतिपादित गरेका शिक्षादीक्षालाई पनि समेट्छ । त्यसैगरी जैन आस्थाले तीर्थंकरद्वारा प्रतिपादित शिक्षादीक्षालाई जनाउनुका साथै मानव जातिको नैतिक उत्थान र शुद्धीकरणका उपायहरूलाई पनि समेटेको छ ।

जुन जीवन शैली र दर्शनलाई धारण गरिन्छ त्यो नै धर्म हो भनेर मानिन्छ । मानिस जुन विचार, आचरण र धारणा धारण गर्छ, त्यो नै धर्म हो । त्यसैले मानव समाजमा अनेक धार्मिक आस्था विकास भएको हो ।

धर्मलाई परिभाषित गर्नु कठिन मानिएको छ । किनभने यो शब्दको लामो र अनेकताले भरिएको इतिहास पाइन्छ र यसले अनेक किसिमका अभिव्यक्ति जनाउने गरेको पाइन्छ । त्यसैले अरू भाषामा यसको पर्यायवाची पाउन नसकिएको हो । अंग्रेजी, फ्रेन्च र जर्मन भाषामा यसको उल्था गर्न प्रयत्न गरेका विद्वान्हरूले यो काम अति कठिन भएको स्वीकार गरेका छन् । उदाहरणका लागि ग्रासम्यानले ऋग्वेदको उल्था गर्दा धर्मको विभिन्न सात माने निकालेका छन् । कार्ल फ्रेडरिक गेल्डरले यसै काममा २० किसिमका मतलब निकालेका छन् ।

जस्तो– कानुन, व्यवस्था, कर्तव्य, प्रचलन, गुण, प्रतीक आदि । मोनिएर विलियमले झन् अनेक प्रकारका मानेहरू निकालेका छन् । उनका अनुसार धर्मबाट राम्ररी स्थापित भएको कुरा बुझिन्छ । यसैगरी यसबाट बलियो आदेश, नियम कानुन, प्रचलन, परम्परा, कर्तव्य, अधिकार, न्याय, नैतिकता, नैतिक आचरण, आस्था, धार्मिक गुण, असल काम, स्वभाव, चरित्र, गुण, सम्पत्ति भन्ने पनि बुझिन्छ । अतः एउटा शब्दले मात्र धर्मको मर्म बुझाउन सक्दैन, न यीमध्ये केही शब्द मिलाएर यसको माने बुझाउन सकिन्छ । दैनिक जीवनमा धर्म भन्नाले असल जीवन पद्धति अथवा जीवनको सही बाटो भनेर जनाउँछ ।

प्राचीन ग्रन्थहरूमा धर्मले ब्रह्माण्डको कानुन, ती शक्तिहरू जसले अराजकताबाट ब्रह्माण्डको सिर्जना गर्‌यो र यसैको व्यवस्थासँग सम्बन्धित कर्मकाण्डलाई जनाउँछ । कालान्तरमा यसको माने बदलिँदै गएको र सुध्रिँदै गएको देखिन्छ ।

यसले संसारलाई व्यवस्थित राख्नको लागि चाहिने मानव व्यवहार जनाउन थालेको पाइन्छ । यसले विभिन्न परिप्रेक्षमा अव्यवस्था रोक्ने सिद्धान्त, व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन र प्रकृतिमा समेत व्यवस्थित थिति कायम राख्न आवश्यक कार्य र व्यवहारलाई पनि जनाउन थालेको पाइन्छ । धर्मले कर्तव्य, अधिकार, चरित्र, व्यवसाय, आस्था, परम्परा र सबै किसिमका उचित, सही र नैतिक व्यवहार समेटेको छ ।

हिन्दु धर्ममा भमराले मह बनाउनु, गाईले दूध दिनु, सूर्यले घाम दिनु, नदी बगेर जानुलाई धर्म मानेको छ । मानवताको सम्बन्धमा धर्म भनेको सेवाको गुह्य वस्तु, यसको प्रभाव र यसको आवश्यकता र सबै जीवहरूको अन्तर सम्बन्धलाई बुझाउँछ । त्यसैकारण धर्म शब्दको मतलब कुन सन्दर्भ र परिपेक्षमा गरिएको हो, त्यसलाई बुझेर मात्र यसको सही माने बुझिन्छ ।

हाम्रा नीतिनिर्णायकहरूको कार्यकलाप अधर्मी भएको पाइन्छ । धर्म अविवेकी र अनैतिक होइन । तर हाम्रा नेताहरू यस्तै कार्य गर्न विख्यात भएका छन् । त्यसकारण धर्मको सही माने र मर्म प्रस्फुटन पार्ने र सबैलाई ग्राह्य बनाउने आजको सबभन्दा ठूलो चुनौती भएको छ ।
यस पृष्ठभूमिमा नेपालमा हामीले धर्ममाथि अन्याय गरेका छौं । सबभन्दा ठूलो अन्याय हाम्रो संविधानले गरेको छ । नेपाललाई धर्म निरपेक्ष भनेर धर्मको खिल्ली उडाएको छ । हाम्रै परम्पराअनुसार पनि धर्मलाई जीवनको एक अभिन्न अंग मानिएको छ । यसबाट के ज्ञात हुन्छ भने धर्म संसारमा निरपेक्ष हुनै सक्दैन । के खाने, सुत्ने, नित्य क्रिया गर्ने, यौन क्रिया गर्ने कर्म पनि धर्म होइन ? सास फेर्ने काम धर्मको पहिलो कर्म मानिएको छ ।

के नेपालीहरू यसबाट टाढा रहन सक्छन् ? तर संविधानमा लेखिएपछि यी कर्म नगरीकन बस्न सक्छन् भन्ने बुझ्नुपर्‌यो । त्यसकारण नबुझीकन लेखिएको भए यसलाई सुधार्न सकिन्छ । तर बुझेर लेखिएको भए लेख्नेको नियत नै सफा थिएन भनेर बुझ्न सकिन्छ । किनभने यसबाट नेपालीहरूको दैनिकीमै द्वन्द्व खडा गर्ने नियत रहेको बुझिन्छ ।

धर्मको गुह्य र व्यापक मर्मअनुसार यसलाई जीवनको मूल मन्त्र नै बनाउनुपर्छ । यसबाट नेपालमा मात्र होइन, विश्वमै शान्ति र सुव्यवस्था कायम गर्न मद्दत गर्छ । विश्व शान्तिको आधार बन्न सक्छ । वर्तमान धार्मिक द्वन्द्व समाधान गर्न सकिन्छ । यसबाट भइरहेको हिंसा, हत्या, आतंक आदि रोक्न सकिन्छ । यी कुकृत्य धर्मलाई एउटा सानो घेराभित्र राखेर भइरहेका हुन् । एउटा आस्था, संस्कार र अन्धविश्वासलाई सर्वोत्तम मानेर भइरहेका हुन् ।

धर्मलाई संसारको सर्वमान्य, सर्वस्वीकृत र सर्वव्यापी बनाउनुपर्छ । धार्मिक कट्टरपन्थीहरूकै कारण विश्व विभक्त भएको छ । यसलाई एकताबद्ध पार्न असली धर्मले सबभन्दा ठूलो भूमिका खेल्न सक्छ । यस्तो धर्मबाट अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न सकिन्छ । मानवतालाई चाहिने सबै तत्त्व यसमा समावेश भएका छन् र विश्व शान्ति र सद्भावना यसैको बलमा बढाउन सकिन्छ । तर यसको लागि व्यापक समझदारी र व्यापक धारणा हुनुपर्छ ।

अभाग्यवश धर्म शब्दको सीमित बुझाइ र अनुसरणले यसबाट धेरै देशलाई कष्ट पुर्‌याइरहेको छ । नेपालमा यसको बीउ मात्र रोपिएको छ । यसबाट सिर्जना हुन सक्ने र हुने द्वन्द्वको परिकल्पना मात्र हामीले गर्न सक्छौं । संविधानले धर्म निरपेक्ष भनेर हामीलाई अधर्मी बनाएको छ । खासगरी संविधानका निर्माताहरू अधर्मी भएका छन् । किनभने राज्यको आधारभूत लक्ष नै जनताको सुरक्षा र कल्याण गर्नु हो ।

हाम्रा राजनीतिक नेतृत्व र शासकहरू यसैमा चुकेका छन् । धर्म अस्वाभाविक, अप्राकृतिक र अवैज्ञानिक होइन । यस मानेमा हाम्रा नीतिनिर्णायकहरूको कार्यकलाप अधर्मी भएको पाइन्छ । धर्म अविवेकी र अनैतिक होइन । तर हाम्रा नेताहरू यस्तै कार्य गर्न विख्यात भएका छन् । त्यसकारण धर्मको सही माने र मर्म प्रस्फुटन पार्ने र सबैलाई ग्राह्य बनाउने आजको सबभन्दा ठूलो चुनौती भएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button