सुदुरपश्चिम प्रदेश

लिपुलेकमा शसस्त्र प्रहरी पठाऊँदै सरकार

लिपुलेकमा तत्काल बोर्डर अब्जरभेसन पोष्ट-बीओपी पठाउने सरकारको तयारीपछि शसस्त्र प्रहरी बल-एपीएफ मुख्यालयले त्यस ठाउँमा आफ्नो टोली बस्ने ठाउँ खोजिरहेको छ।

शसस्त्र प्रहरी प्रवक्ता प्रविन श्रेष्ठले सिमाभन्दा करिब एक किलोमिटर भित्र रहेको छाङ‌रुमा बीओपी बस्ने ठाउँ खोजिरहेको जानकारी दिए। ‘हामीले बीओपी बस्ने ठाउँका लागि जग्गा प्राप्त गरिसके पनि मौसमी प्रतिकुलताका लागि संरचना तयार हुन सकेको थिएन। अहिले सरकारले तत्काल पठाउनुपर्ने निर्देशनपछि हामी भाडामै भएपनि भवन खोजिरहेका छौँ’, नायब महानिरिक्षक-डीआईजी श्रेष्ठले भने।

सरकारले केही महिना अघि सिमामा बीओपी संख्या एक सय १४ वटा थपेर २ सय २० पुर्‍याउने निर्णय गरेको थियो। त्यसमा छाङ‌रु पनि समावेश थियो। हाल बीओपीको संख्या एक सय २० वटा रहेको छ । सरकारको निर्णयपछि एपीएफले भारत र चीनसँगको सिमानामा ८ वटा बीओपी थप गरेको छ। यसअघि चीनसँगको नाकामा बीओपी नरहेकामा हालसालै संखुवासभाको किमाथांकामा बीओपी स्थापना गरिएको थियो।

हरेक बीओपीमा प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको टोली रहन्छ। शसस्त्र प्रवक्ता श्रेष्ठले भवनको उपलब्धता र क्षमताअनुसार यो संख्या तलमाथी हुन सक्ने बताए। ‘कति मान्छे अँट्न सक्ने भवन प्राप्त हुन्छ त्यही अनुसार हामी जनशक्ति पठाउँछौँ’, उनले भने।

त्यसअघि सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितीको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले तत्काल शसस्त्र प्रहरी पठाउने तयारी भइरहेको जानकारी गराएका थिए।

नेपाली भूमिमा पर्ने लिपुलेक क्षेत्रमा भारतले चीनसँग जोड्ने सडक मार्ग बनाइरहेको समाचार बाहिर आएपछि राजधानीमा दिनहुँजसो भारत सरकारविरोध प्रदर्शनहरु भइरहेका छन्। भारतले नेपालको जमिन अतिक्रमण गरेको र सरकार लाचार भएको भन्दै सिमा विवाद समाधान गर्न चौतर्फी दबाब बढेको छ।

डीआईजी श्रेष्ठले लिपुलेकको बीओपीका लागि आवश्यक पर्ने अन्य भौतिक र प्राविधक तयारी पनि भइरहेको बताएका छन्। मेडिकल सामग्री र मौसमी प्रतिकूलता विरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका सामग्रीको तयारी भइरहेको शसस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button