कला साहित्य

शास्त्रीय पात्रहरूको जन्म

राम लोहनी
प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

हिन्दुहरूको दुई महान काव्य रामायण र महाभारतप्रति लोकको अवधारण बिल्कुल भिन्न छ। रामायणको नामसँग करुणा र कर्तव्यको भावना पैदा हुन्छ। यसको विपरित महाभारत भन्ने वित्तिकै युद्धको संझना हुन्छ। दुबै काव्यमा प्रमुख पात्र बनेर एक एक स्त्री रहेका छन् – सीता र द्रौपदी। सीताको स्वरूपलाई सहनशीला, क्षमा र धैर्यताको प्रतिमूर्ति मानिन्छ भने द्रौपदीमा साहस, सक्रियता र प्रतिशोधको चरित्र आरोपित छ। यद्यपि दुबै पात्रहरूको उत्पत्तिलाई असाधारण ढङ्गले काव्यकारले प्रस्तुत गरेका छन्। दुबै पात्रको जन्म प्राकृतिक छैन। रामायणमा भन्दा महाभारतमा पात्रहरूको जन्मलाई बढाइचढाइ गरिएको छ। दशरथका पत्नीरहरूले पुत्रेष्टि यज्ञको प्रसाद खाएको कारण राम आदि पात्रहरू गर्भमा आएको प्रसङ्ग छ। तर महाभारतमा यस्ता अनगिन्ति पात्र छन्, जो सजह ढङ्गबाट गर्भमा आएका छैनन्, सहज ढङ्गबाट जन्मिएका छैनन्। एउटा अनौठो समानता चाहिँ के छ भने राज्यका उत्तराधिकारी राजकुमारहरू सजिलै जन्मिदैँनन्। दशरथका तीन पत्नीा कुनैबाट पनि लामो समयसम्म जायजन्म हुँदैन। यता महाभारतमा शान्तनुदेखि नै यो समस्या छ। शान्तनुका पिता प्रतीपलाई लामोसमयपछि पुत्रलाभ भएको हो। प्रतीपका तीन पुत्रमा एक बाह्लिकले मावलीको उत्तराधिकारी बन्नु पर्यो, देवापि तपस्यामा लागे। उत्तराधिकारी पुत्रको लागि प्रतीपले तपस्या गर्नुपरेको थियो र वृद्धावस्थामा पुगेपछि मात्र शान्तनुको जन्म भएको थियो।

शान्तनु र गंगाको विवाह पनि सामान्य नरहेको देखिन्छ। पुत्रप्राप्तिको लागि तपस्यारत प्रतीपलाई वरण गर्ने विचारले गंगा प्रतीपको काखमा बस्‍न पुगेकी थिइन्। तर जानेर वा नजानेर गंगा प्रतीपको दायाँ जाँघमा बस्‍न पुगिन्। दायाँ जाँघमा बसेर गरेको प्रणयअनुरोधलाई प्रतीपले स्वीकार्न सकेनन्। किनभने पुरुषको वायाँ जाँघ मात्र प्रेयसीको लागि हो र दायाँ जाँघ पुत्र वा पुत्रवधुको लागि हो भन्ने मान्यता थियो। पछि द्रौपदी वस्त्रहरणको समयमा दूर्योधनले द्रौपदीलाई बस्‍नको लागि आफ्नो वायाँ जाँघको प्रदर्शन गरेका थिए। दायाँ जाँघमा बसेकी गंगालाई आफ्ना पुत्रले विवाह गर्ने आश्वासन दिए प्रतीपले। यथासमयमा गंगासँग शान्तनुको विवाह त भयो। तर गंगाको आँठौ पुत्र देवव्रत मात्र शान्तनुले प्राप्त गरे।
शान्तनुका पुत्रहरू चित्राङ्गद अविवाहित र विचित्रविर्य सन्तानहीन परलोक गए। चित्राङ्गद र विचित्रविर्यकी माता सत्यदेवीले विवाहपूर्व नै पराशर ऋषिबाट व्यासलाई जन्म दिएकी थिइन्। यिनै व्याससँगको नियोगबाट विचित्रविर्य पत्नी अम्बिका र अम्बालिकाबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो। अम्बिकाकी दासी वनिताबाट विदुरको जन्म भयो। धृतराष्ट्रकी पत्‍नी गान्धारीले लामोसमयको गर्भाधानबाट मासुको डल्लो मात्र जन्माइन्। व्यासले यही मासुको डल्लोलाई टुक्रा पारेर सय भाइ छोरा र एक छोरी पैदा गराइदिए। पाण्डुकी पत्‍नी कुन्तीले धर्मराज, वायु र इन्द्रसँगको नियोगबाट युधिष्ठिर, भीम र अर्जुन जन्माइन् भने माद्रीकुमारीले अश्विनीकुमारसँगको नियोगबाट नकुल र सहदेव जुम्ल्याहा पुत्र जन्माइन्। कुन्तीले विवाहपूर्व नै सूर्यसँगको संवन्धबाट कर्णलाई जन्म दिएर गंगामा बहाइदिएकी थिइन्। सूर्यसँगको संवन्धबाट तत्काल कर्णको जन्म भएको थियो। जन्मदै कुन्डल, कवचसहित कर्ण जन्मेका थिए। र, कुन्ती कुमारी नै रहने आशिर्वाद सूर्यले दिएका थिए।

महाभारतका अर्का प्रमुख पात्र द्रोणाचार्यको जन्म पनि स्त्री गर्भबाट गराइएको छैन। गंगास्‍नान गर्न लागेको बेला अप्सरा घृताचीलाई देखेर स्खलित हुन पुगेका ऋषि भारद्वाजले सो विर्य कलशमा जम्मा गरे। सोही कलशबाट द्रोणाचार्यको जन्म भयो। त्यस्तै द्रौपदीको जन्म त कामना गरिएकै थिएन। राजा द्रुपदले द्रोणाचार्यसँग बदला लिन पुत्र प्राप्ति हेतु गरेको यज्ञबाट धृष्टद्युम्नको जन्म भयो। पुत्रको कामना गरिएको सो यज्ञबाट पुत्रीको पनि जन्म भएको थियो। सोही पुत्री द्रौपदी हो। यज्ञबाट जन्मेकी भनेर याज्ञसेनी पनि भनियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button