कला साहित्य

उमा अर्याल ढकालको कविता – रुन्छु आमा तिमी सम्झी किन आऊँदिनौ र

नवै महिना कोखमा राखी धर्ती टेकाएर
छोडी गयौ आमा किन एक्लै बनाएर

खुसी थिए आमा म त तिम्रै कोखमा छँदा
बाँच्ने थियौ होला तिमी मेरो जन्म नभा

प्रसव पिडा खटाएर मलाई जन्म दियौ
मैले संसार देख्न नपाई एक्लै बनाई गयौ।

तिमी बिना मैले संसार देख्ने कसो गरी
पापी दैव लगिस् बरै मेरै खुसी खोसी

बस्थे बरू आमा म त सधैँ तिम्रै कोखमा
कसले खान देला अब अमृत मलाई भोकमा

मलाई जन्म दिइ आमा किन बिदा भयौं
तिमी जाँदा मेरो खुसी आफैसँग लयौ

मेरो पीडा बुझिदिने यहाँ ईश्वर पनि हैन
तिम्रै साथमा लैजाउ आमा बाच्न मन छैन

रुन्छु आमा तिम्लाई सम्झी किन आउदिनौ र
मेरो ओठ सुक्न लागे अमृत पिलाऊन्नौ र

तिम्रै छाति चुस्न मन छ तिम्रै काखमा रम्न
अब मेरो पीडा बुझ्ने को हुन्छ र यहाँ भन

निन्द्राबाट ब्यूँझी हेर्दा भेटाउदिन कहि पनि
खोजीराछु आमा तिम्लाई छौ कि कतै भनी

कता गयौ मेरी आमा मलाई एक्लै छोडी
संसार नै रित्तो भयो अब मेरो लागि

छटपटाउँदै आमा खोज्दा तिम्रो मन रोला
मर्छु आमा क्वारेन्टाइनमा कसले छुन्छ होला

मेरो बिन्ती आमा तिमी फर्की आइदेउन
एकै पटक भए पनि अमृत पिलाईदेउन

तिम्रो छाति चर्किएर दशधारा रोकियो
जुन सपना देख्यौ आमा सधैलाई सकियो।

तिम्लाई लाको रोग चाहिँ मलाई किन देखिएन
त्यै कारणले आमा तिम्लाई भेट्न सकिएन।

तिम्रो रगत यो शरिरमा तातो बनी बग्छ
आमा तिम्ले दिने माया कसले दिन सक्छ

न त आमा नाम राखेर धागो बाँध्न पायौ
जन्मिदा नै अभागीलाई टुहुरो बनाई गयौ।

मेरो पीडा बुझिदिने गुनी तिमी हौ नि
मलाई छोडी कुन संसारमा बिलाएकी छौ नि

आमा भन्दा ठुलो यहाँ कोही हुन्न भन्थे
जाऔं हिँड भनि बोलाए तिमीसँगै जान्थे

खोज्दा खोज्दै थाकिसकें छैनौ कहिं पनि
लैजाउ आमा तिम्रैसाथमा तिमी जहाँ भनि

उमा अर्याल ढकाल
बुटवल।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button