प्रदेश ५

क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठ्न सकेन

मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन ।

अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकालिदिनु पर्ने अडानमा स्थानीय प्रशासन छ । अस्पताल प्रशासनले भने मृत्यु भइसकेको संक्रमितको शव सुरक्षाकर्मीले नै व्यवस्थापन गर्नु पर्ने अडान राखेपछि २६ घण्टादेखि शव नउठेको हो । शव व्यवस्थापनका लागि दुई पटक शववाहन अस्पताल परिषरमा पुर्‍याएर फर्काइएको छ । तिलोत्तमा नगरपालिका–३ मगरघाटमा शव जलाउने स्थानीय प्रशासनको तयारी छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले कार्यविधिमा स्पष्ट उल्लेख नभएकाले अस्पतालबाट शव निकाल्नै समस्या परिरहेको बताए । ‘अहिले पनि जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही बेरमा निकास आउला ।’ अस्पतालमा जेठ १ गतेदेखि उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यविधिमा संक्रमितको मृत्यु भइसकेपछि सुरक्षा सामग्रीको प्रयोग गरेर सकेसम्म छिटो शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

संक्रमितको बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो ।

ट्राभल हिस्ट्री नभएको र भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा समेत नभएकाले उनका परिवार र आफन्तले पुन: परीक्षणको माग गर्दै आएका छन् । उनले बुटवल आउनुअघि स्वास्थ्य परीक्षण गराएका अर्घाखाँचीस्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै क्रिमसन अस्पतालकै १९ स्वास्थ्यकर्मीको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ । परिवार, आफन्त र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको रिपोर्ट आउन बाँकी छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button