सम्पादकीय

भारतीय टेलीभिजन च्यानल होइनन नेपालका भाग्यविधाता

भारतीय मिडियाहरुको चर्तीकला हेर्दा यस्तो लाग्छ; उनीहरु नै नेपालका भाग्यविधाता हुन। अझ विशेष गरेर भारतीय टेलिभिजन च्यानलहरुको प्रस्तुती कुन हदसम्म निम्छरो छ भनेर कल्पना गर्नको लागि यौटा सानो उदाहरण नै पर्याप्त छ। उसो त भारतको राजधानी दिल्ली हरेक बर्ष जाडो मौसममा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुने क्षेत्रमा पर्दछ। २०१८ को गर्मीको महिना जुनमा भारतकै प्रतिष्ठित मल्टिमिडिया कम्पनी जी ग्रूपअन्तर्गतको यौटा च्यानल `जी न्यूज´ ले यौटा अत्यन्त खेदजनक एवं गैरजिम्मेवारपूर्ण समाचार प्रसारित गर्यो, जुन समाचारलाई लिएर स्वयं भारतका अधिकांश जनता लज्ज्तित भएका थिए। जी न्यूजको सनसनीपूर्ण समाचारको शीर्षक थियो- `पाकिस्तान ने भारत पर गिराया गर्मी बम।´ जी न्यूजको उक्त समाचारलाई लिएर राजस्थानबाट पत्रकार मित्र बुध राजपुरोहितले मलाई म्यासेन्जरमा सन्देश पठाऊँदै भनेका थिए- हामी लज्जित छौं।

भारतीय न्यूज टेलिभिजन च्यानलबाट छुटकारा पाऊन भारतकै नागरिकले बहस गरिराखेको अवस्थामा त्यस्ता टेलिभिजन च्यानलबाट नेपाल आक्रान्त हुनु कुनै नौलो कुरा पनि होईन। सत्ताको ईर्दगिर्द घुमेर सत्ता र शक्तिको पुजा गर्ने अनि अफवाहको चरमचूली फैलाऊने भारतीय टेलिभिजन च्यानलहरु नै हुन भारतमा जातीय एवं धार्मिक साम्प्रादयता फैलाऊने पनि।

मुश्लिम, अल्पसंख्यक, दलित, सिमान्तकृत, पिछडावर्ग, श्रमिकजस्ता वर्गको सारथी कहिल्ल्यै बनेनन भारतीय टेलिभिजन च्यानलहरु, बरु उनीहरुको नाङ्गो तस्विर, गरीबी, सामाजिक मनोविज्ञानमाथी प्रहार गरेर मालामाल भए, जातीय दंगाको विजारोपण गरे, धार्मिक असहिष्णुतामा घ्यू थप्ने काम गरे भारतीय टेलिभिजन च्यानलहरुले।

र, अनि भन्नसम्म भ्याए – चीनको सिमाना बिरगंजसम्म आईपुग्यो भनेर। यतिविघ्न हतास र पराजित मानशिकता बोकेको टेलिभिजन दृष्य ऐलेसम्म मैले संसारमा देखेको पनि थिएन।

अहिले भारतीय टेलिभिजन च्यानलहरुमा नेपाल, भारत र चीनविचको सम्बन्धलाई लिएर जसरि एकपक्षिय, कपोलकल्पित र हतास मानशिकताका साथ बहस चलाईएको छ, त्यस्ता मनगढन्ते वहसबाट नेपाल उत्तेजित हुनुपर्ने कुनै कारण नै छैन। एकहिसावले भन्ने हो भने नेपालमा स्थापित मूलधारका संचारमाध्यमहरु निकै संयम, जिम्मेवारीवोध एवं राष्ट्रिय दायित्वसहित अग्रमोर्चामा छन भने भारतीय विद्युतिय संचारसंग भारतकै जनता आक्रान्त छन। तर, नेपालका विद्युतिय संचारमाध्यमले ऐलेसम्म व्यवसायीक धर्म निर्वाह गरेको कारणले नै राज्यको चौंथो अंगमात्र होईन, नागरिकको दिलमा समेत बस्न सफल छन। भारतका विद्युतीय संचारमाध्यमप्रति भारतीय जनताको चरम इरिटेड नेपालका मूलधारका संचारमाध्यमप्रति नेपाली जनताको नभएको हुनाले नागरिक र संचारमाध्यप्रतिको यो सौहार्दता निरन्तर रहिरहनेछ भन्ने अपेक्षा पनि छ।

नेपाल चीनको अंगालोमा जाओस या भारतको काखमा सुतोस, यो नेपालको आन्तरिक मामिला हो। नेपालको स्वविवेकको कुरा हो। यसमा भारतका टेलिभिजनहरुले भारतको न्यानो काख छोडेर चीनको चिसो काखमा नेपाल सुत्न गयो भन्ने हैशियत कसरि राख्न सके?

भारत अंग्रेजहरुको गुलाम हुँदैगर्दा पनि नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र थियो। भारतीय जनताहरुले अंग्रेजको गुलामी स्विकार्दासम्म नेपालका नेपाली जनता स्वतन्त्र र स्वाभिमानी जिन्दगी जिऊँदै थिए भने अंग्रेजबाट छुटकारा पाएको ८ दशक पूरा हुन पाऊँदा नपाऊँदै भारतीय टिभी च्यानलले नेपालको भाग्यरेखा कोर्ने हैशियत कुनै कोणबाट पनि राख्न सक्तैनन।

नेपालका न्यूज टेलिभिजन च्यानलहरुले भारतको स्वतन्त्रता, अस्मिता र प्रतिष्ठानमाथी कहिं कतै आंच नपुर्याएको अवस्थामा भारतीय न्यूज टेलिभिजन च्यानलहरुले नेपालको अस्मितालाई कुल्चिंदै चीनको सिमाना बिरगंजसम्म आईपुग्यो भनेर भन्ने हिम्मत कसरि राख्दछन?

दूई देशबिच आपसी सहकार्य र विश्वासमा सुल्झिने कुटनैतिक, राजनैतिक एवं रणनितिक महत्त्वको विषयमा भारतीय न्यूज टेलीभिजनहरुको शैली मोदी सरकारभन्दा माथी देख्दा लाग्छ; भारतमा भारतीय संचारमाध्यम आफ्नै कारणले राज्यको चौंथो अंग बन्न सकिराखेका छैनन, तर नेपालका संचारमाध्यमहरु ऐलेसम्म राज्यको चौंथो अंग बन्न सफल नै छन, भविष्यमा बाटो नबिराए।

र, यौटा उदार र विश्वकै लोकतन्त्रमूलक देश भनिएता पनि भारतीय संविधानमा नेपालमाजस्तो संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको पाइँदैन। भारतीय संविधानको धारा १९ ले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । त्यसका आडले भारतको उच्च न्यायालयले प्रेस स्वतन्त्रताको पक्षमा दिएका फैसलाहरूले नै नजिरको रूपमा कानूनी हैसियत ग्रहण गरेको पाइन्छ । संविधानले दिएको स्वतन्त्रताको उपयोग गर्न चाहनेले भारतमा सन् १९५३ को कम्पनी ऐनअनुसार प्रकाशनका लागि रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ। यसका साथै भारतमा श्रमिकसम्बन्धी विभिन्न कानूनहरूले पनि प्रकाशनको क्षेत्रमा गाइड गरेको पाइन्छ ।

नेपालमा संचार क्षेत्रलाई राज्यको चौंथो अंग मानिएको अवस्थामा मिडियासम्बन्धि बिबादलाई नेपाल प्रेस काऊन्सिलले हेर्दछ। नेपालका जिम्मेवार अनलाईन मिडिया, छापा मिडिया, अन- एयर मिडिया एवं श्रव्य- दृष्य मिडियाले कहिं कतै गल्ती गरे तुरुन्त कारवाहीको भागिदार हुन्छन र नेपालभर सम्प्रेषण गर्नेमात्र नभई बन्देजको अवस्थाको सामना गर्दछन र त नेपालका मूलधारका मिडियाको धर्म पनि सेवा रहिआएको छ।

भारतीय टेलिभिजन मिडियाले नेपालको भाग्य कोर्ने होईन। उनीहरुले बहस चलाऊन सक्तछन, तर चीनको बोर्डर बिरगंजसम्म आयो भनेर भन्न मिल्दैन।

राजनैतिक, भौगोलिक, कुटनैतिक, सामाजिक एवं आपसी हितमा सल्झिने काममा भारतीय टेलिभिजन मिडिया वकिल नबनेकै राम्रो।

नेपालले लिपुलेक, कालापानी, लिम्पियाधुराको सट्टामा तराईमा धेरै जमीन गुमाएको छ, भारतको अतिक्रमणद्वारा । मेरो देशले नेपालको यो भुभाग यसरि हडप्यो भनेर कहिलेकाहिं रिपोर्ट पनि त बनाऊ यार भारतीय टेलीभिजनकर्मीहरु !

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button