सम्पादकीय

चिनियाँ राजदूतको अस्वाभाविक सक्रियता

नेपालमा जब राजनैतिक माहौल गर्माऊँछ त्यतिबेला छिमेकी राष्ट्रहरुको सक्रियता पनि ह्वात्तै बढेर जाने गरेको छ। यतिबेला नेकपाभित्र आन्तरिक विवाद बढ्दै गईरहेको छ। सरकारको भविष्यमाथि नै प्रश्न उठिरहँदा नेपालमा छिमेकी देश भारत र चीनको चासो भने अस्वाभाविक रुपमैं बढेर गएको छ। छिमेकी भारत तथा चीनले यतिवेला नेपालमाथि अस्वाभाविक चासो बढाएर लगेका छन् । उनीहरूका चासोले सरकार र प्रमुख राजनीतिक दलको आत्मनिर्णयको अधिकारमाथि प्रश्न उठाउने ठाउँ दिएको छ । र, योसँगै कूटनीतिक मामलाका जानकारहरूले सरकारको कूटनीतिक नीतिको आलोचना गरेका छन् ।

चीनमात्र होईन, नेपालको तरल राजनीतिमा ढुंगा हान्ने काममा अमेरिका पनि उत्तिकै सक्रिय रहेको छ। भू-राजनिति र भू-रणनितिअन्तर्गत यतिबेला नेपाल यी तीन शक्तिराष्ट्रको खेलमैदानमा रुपान्तरण भएको छ।

कुनैपनि सार्वभौम देशमा उक्त देशको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल एवं हस्तक्षेपलाई कुनै कोणबाट पनि जायज मान्न सकिँदैन। नेपालले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप एवं चलखेललाई सहजै आमन्त्रण गर्नुको अर्थ नेपालको असंलग्न नितिलाई सोझै बेवास्ता गर्नु पनि हो।

यतिबेला नेपालमा बाह्य शक्तिको सक्रियता ह्वात्तै बढ्नुको प्रमूख कारण नेकपा नै हो। नेकपाभित्र चर्किराखेको आन्तरिक कलह एवं किचलोले गर्दा सरकारको भविष्यमा समेत असर पर्ने देखिएपछि बाह्य शक्तिको सक्रियता यो हदसम्म बढेर गएको हो।

विगतका दिनहरुमा नेपालको राजनितिमा हाकाहाकी भारतीय सक्रियता एवं हस्तक्षेप ओपन सेक्रेट नै थियो। नेपालको सूक्ष्म ब्यवस्थापनमा भारत खुलेआम देखिन्थ्यो भने चीन पर्दापछाडि मात्र थियो। तर अब समय बदलिएको छ। नेपालको आन्तरिक मामिलामा यसपाली भारत पर्दापछाडिबाट सक्रिय छ भने चीन खुलेआम मैदानमा उत्रिएको छ।

पछिल्लो राजनैतिक घटनाक्रमसंगै नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छिको अस्वाभाविक सक्रियतालाई यसै अर्थमा बुझ्न सकिन्छ। एकातर्फ कम्यूनिष्ट सरकार चीनको नियन्त्रणमा गयो भन्ने भारतीय पक्षको आरोपमाझ राजदूत यान्छिको एकपछि अर्को गरि नेकपाका नेताहरुको अकस्मात एवं अस्वाभाविक भेटलाई नेपालको राजनैतिक तथा कुटनैतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा पनि हेरिएको छ। साथै राजदूतहरुको यस्ताखाले सक्रियताले कतै नेपाल सरकार पूर्ण रूपमा भूराजनीतिक व्यवस्थापनमा असफल भएको त होईन भन्ने प्रश्न पनि जन्मिन थालेका छन।

देशको आन्तरिक राजनितिमा बाह्य निकायको यो हदसम्मको सक्रियता एवं हस्तक्षेपलाई कुनै पनि अर्थमा जायज मान्न सकिँदैन। नेपालका राजनैतिक दलहरुले आपसी समझदारीमा टुंग्याऊनुपर्ने बिषयमा बाह्य शक्तिको प्रभाव एवं हस्तक्षेपले अन्तत: दलहरुकै सामर्थ्यमाथी प्रश्न उठाऊनेमात्र होईन, समग्र नेपाल र नेपालीको स्वाभिमान र आत्मसम्मानमाथी पनि ठेस पुर्याऊँदछ। साथै दलभित्रको किचलोमा बाह्य शक्तिको प्रवेशको अर्थ भविष्यमा पनि नेपालका हरेक राजनैतिक निर्णयमा तिनै शक्तिको निर्णायक सहभागिता रहनेछ, जसले गर्दा नेपालको आत्मस्वाभिमान नै गुम्ने खतरा रहन्छ।

नेपालको आफ्नै परराष्ट्र निति छ, असंलग्न निति छ। बाह्य हस्तक्षेपमा सहभागिता पनि नजनाऊने र बाह्य हस्तक्षेपलाई आमन्त्रण पनि नगर्ने। सबै मित्रराष्ट्रहरुसंग समदूरी कायम गरि आफ्नो राजनैतिक एवं कुटनैतिक प्रदर्शनलाई उच्चतम बिन्दुसम्म पुर्याऊने। यी सबै नितिलाई लत्याएर नेपालको आन्तरिक मामिलामा समेत राजदूतहरुको अस्वाभाविक सक्रियताको आमन्त्रणले केहिक्षण कोहि ब्याक्तिबिशेषलाई त आनन्द मिल्ला, तर त्यसको असर भोलीका दिनमा समग्र पार्टि र देशलाई भने परिरहनेछ। आजको गल्तीको मूल्य कालान्तरसम्म राजनैतिक ब्यवस्थाले बेहोरिरहनुपर्नेछ, देशले बेहोरिरहनुपर्नेछ। कुन हदसम्म बाह्य शक्तिको सक्रियतालाई स्विकार गर्न सकिन्छ र कुन हदसम्म सकिँदैन, यसको मापदण्द बनाएर सोंच्ने काम राजनैतिक दलहरुकै हो। आन्तरिक किचलोमा बाह्य शक्तिको हस्तक्षेप अन्तत: असफलसिद्ध ठहरिन्छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button