सम्पादकीय

गोदि मिडिया, पीत पत्रकारिता र दरिद्र मानशिकता

भारतीय संचारमाध्यममा प्रस्तुत सामाग्रीहरु हेर्दा र पढ्दा यस्तो लाग्छ, दुनियाँमा कहिं नभएको निच पत्रकारिता भारतमा मात्र हुने गरेको छ र भारतमा मात्र सम्भव छ, अन्य देशमा यतिविघ्न निच पत्रकारिताको उदाहरण सायदै भेट्न मुश्किल पर्ला।

पत्रकारिता के हो? पत्रकारिताअन्तर्गत केकस्ता आचारसंहिता को पालना गर्नुपर्छ, पत्रकारिताले देश र समाजलाई कुन मार्ग पहिल्याऊन मद्दत गर्नुपर्छ र पत्रकारिताअन्तर्गत केकस्ता दायित्व निर्वाह गर्नु जरुरी हुन्छ भन्नेसम्मको सामान्य मर्यादालाई समेत कुल्चिएर भारतीय संचारमाध्यम र पत्रकार जुन हदसम्म झरेर सामाग्रीहरु प्रस्तुत गर्दछन, ती सबै उनीहरुको देशमा मात्र होईन, बाह्य देशका नागरिकलाई समेत वाक्क बनाऊने खालका हुन्छन।

आफ्नै देशका अधिकांश नागरिक भारतीय न्यूज च्यानलहरुबाट हायल कायल भैरहेको अवस्थामा त्यस्ता न्यूज च्यानलहरुले छ्याप्ने हिलोले छिमेकी देशहरुलाई समेत असर पार्नु कुनै नौलो कुरै भएन। निम्नस्तरका टिप्पणी, कपोलकल्पित भिडियो संवाद, आधारहिन र तथ्यहिन समाचारका साथै अति नै तुच्छ प्रकृतिका शब्द चयनले भारतीय मिडियाहरु छिमेकी देशहरुमा मात्र होईन, विश्वका कतिपय अन्य देशहरुमा समेत बदनाम भएका छन।

नेपालकै सन्दर्भमा भन्ने हो भने नेपालका लागि चीनकी राजदूत होऊ यान्छिलाई `जासुस´ र `बिषकन्या´ समेत भन्न भ्याए भारतीय मिडियाले। अनि तिनै राजदूतसंग हाम्रा प्रधानमन्त्री ओलीको तस्विर जोडेर मायाजालको प्रपोगाण्डा मच्चाए, `भिभिआईपी हनी ट्र्याप´ को रोईलो काढे, बुढेसकालको सफेदीमा ओली बिषकन्याको मायाजालमा फसे भनेर भन्नसमेत भ्याए।

यो कस्तो पत्रकारिता हो भारतीय पत्रकारहरुको? यो कस्तो स्वतन्त्रता हो भारतीय पत्रकारलाई र यी कस्ता भारतीय संचारमाध्यम हुन? के र कुन उद्देश्यले खोलिएका संचारमाध्यम हुन? निरन्तर छिमेकीहरुमाथी विषवमन गर्नकै लागि खोलिएका संचारमाध्यम हुन या देश र समाजलाई सूसूचित गर्न खोलिएका संचारमाध्यम हुन?

भारतीय संचारमाध्यमद्वारा प्रस्तुत गरिने निरन्तरका निराधार र बिना प्रमाणका यस्तै झुठ समाचारले गर्दा नै आज भारतको कुनै पनि छिमेकी देशहरुसंग हार्दिकतापूर्ण सम्बन्ध छैन। द्विदेशिय एवं त्रिदेशिय सम्बन्धलाई कुटनैतिक एवं राजनैतिक सम्वाद र सहकार्यद्वारा थप उंचाईमा पुर्याऊनुपर्नेमा भारतीय गोदि मिडिया, पीत पत्रकारिता र दरिद्र प्रस्तुतीले गर्दा नै आज सबै छिमेकी देशहरुसंगको सम्बन्धमा असहज एवं जटिल स्थितिको सृजना हुनपुगेको हो।

यौटा सार्वभौम देशको स्वतन्त्र प्रधानमन्त्रीको सरेआम अपमान गर्ने अधिकार कसले दियो भारतीय मिडियालाई? नेपालस्थित चिनियाँ राजदूतलाई जासूस र बिषकन्या भन्ने अधिकार कसले दियो भारतीय मिडियालाई? नेपालको स्वतन्त्रतामाथी धावा बोल्ने अधिकार कसले दियो भारतीय मिडियालाई? नेपालको वैचारिक स्वतन्त्रता एवं निर्णय गर्नपाऊने अधिकारमाथी धावा बोल्ने को हुन ती भारतीय मिडिया? आफ्नै देशमा बदनाम भैसकेका मिडियालाई छिमेकी देशको अस्मिता नै धुमिल्याऊने अधिकार कसले दियो भारतीय मिडियालाई? आखिर किन र कहिलेसम्म छिमेकमाथी नाङ्गो प्रदर्शन भारतीय मिडियाको? यी र यावत प्रश्नहरुको चित्तबुझ्दो जवाफ मोदि सरकारले नेपाल सरकारलाई दिनैपर्दछ।

हुँदै नभएको संवादलाई प्रधानमन्त्री ओली र राजदूत यान्छिबिचको भिडियो संवाद बनाएर अनर्गल प्रचार गर्ने यस्ताप्रकारका भारतीय मिडिया च्यानलको नेपालमा प्रसारण बन्द गर्नु नै आवश्यक देखिन्छ। यौटा स्वतन्त्र देशको अस्मितामाथी नै धावा बोल्न खोज्ने गोदि मिडिया र पीत पत्रकारिताविरुद्ध नेपाल सरकारले कानुनी एवं राजनैतिक उपचार खोज्नैपर्दछ। सरकार बोलिदियो भने अन्य संवाहकलाई पनि होस्टेमा हैसे गर्न सहज हुन्छ। अर्को देशको राष्ट्रिय स्वाभिमानमाथी नै धावा बोल्न खोज्ने यस्ताखाले गोदि मिडिया र पीत पत्रकारिताको विषयलाई लिएर तुरुन्तै सरकारले मोदि सरकारसंग जवाफ माग्नुपर्दछ। अन्यथा अन्तर्राष्ट्रियरुपमा प्रचलित कानूनबमोजिम सरकारले कानुनी उपचारको बाटो पनि पहिल्याऊनु आवश्यक देखिन्छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button