कला साहित्य

असनको साँढे

ऋषि धिताल//

टुँडीखेलको
भाषणको थुप्रोबाट
तासको दुक्का लिएर
म जस्ता धेरै खाडी तिर लागे।

असनको साॅंढे
सिंहदरबार पुगेर मस्त सुत्छ
कुकुर भुकेको आवाज उसको कानमा पर्छ
अनि बल्ल ऊ ब्युँझन्छ ।

अनि कालीमाटीको सब्जी मण्डीसँगै
हाॅंसिरहेको हुन्छ फोहरको थुप्रो
बर्षौँ बर्षदेखि ऊ
मलाई आश्वासन दिन्छ,राष्ट्रिय योजनाले जस्तै ।

सेतीजस्तै ,कालीजस्तै
कैयौँ नदिहरु सधैँ
गंगा सागरको चुम्बन गरिरहेछन्
तर यहाॅं किन ? यो झूठो भइरहेछ ।

ज्युॅंदाहरुको भीडमा
गोली हानेर
बाग्मती पुगेर रुन्छ,त्यही हत्यारा
संवेदनाको फूल चढाउॅंदै।

अनि अर्को दिन
स्वयम्भू पुग्छ,त्यही हत्यारा
र सय जोडी सेता परेवा उडाउॅंछ
शान्ति र मानवताको खोजीमा भन्दै ।

वर्षौँ वर्षदेखि
कैयौँ सेता परेवाहरु उडीरहे र उडाइरहे
शान्ति र मानवताका खातिर
तर अझै असनको साॅंढे
सिंहदरबार पसि मस्त निदाएकै छ ।

बालुवाको बगरमा
बालुवा चालेर सुन भेट्छ,एक गरीब
निलो नुनिलो पसिना चुहाउँदै
तर शहर तिर भेटिएको सुन फेरि हराएको खबर सुन्छु ।

भरतपुर,चितवन
हाल: जापान

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button