विचार / दृष्‍टिकोण

सनातन धर्मको अखण्डता

अनन्तगोपाल रिसाल//

वैदिक सनातन संस्कृति, पूर्वीय परंपरा र अध्यात्मपरक सम्पूर्ण श्रुति, स्मृति र न्याय शास्त्रहरुमा मानवजातिको अस्तित्व, आदर्श र मूल्यताको पहिचान हुनु नै सनातन धर्म प्रतिको विश्वास र श्रद्धाको मापक प्रमाण हुन्। सनातन वेद, सभ्यता र धर्म संस्कृति विश्वका लागि विश्वको निधि हो भनेर चिनाऊनु, पढाऊनु सक्नु नै आजको आवश्यकता हो । विभिन्न काल खण्डमा मन्त्र द्रष्टा ऋषिहरूले देखेका, सन्त समाज र तर्कद्वारा प्रमाणित गरेका र शास्त्रीय पद्धतीमा रहेका विधिवत् लेखेका र श्रुति परंपराबाट कण्ठ पारिएका शास्त्रहरु, उपनिषद्, पुराण, गीता, शुत्रहरूमा प्रश्नोत्तर, कथा, नाम, रूप, भूगोल र जीवन विज्ञान सम्बन्धी विषय वस्तुको प्रमाणिकता र प्रस्तुति नै पुरातन सनातन सभ्यताको अलौकिक कसी हो । प्रश्नोत्तरका प्रक्रिया र पूर्व पक्ष र सिद्धान्त पक्षले प्रस्तुत गर्ने प्रामाणिक विधिले यहाँको पूर्वीय दर्शनको प्रमाणित पक्ष र विवेकशीलताको शास्त्रीय महानता हो ।

यो अनन्त अदृश्य जगतमा जीवात्माको अज्ञानका कारण शुरू भएको सृष्टि पश्चात् दृष्य जगतमा देखिएका त्रिगुणरूपी प्रकृतिलाई योग, ध्यान, निष्काम कर्म, ज्ञानद्वारा ध्येय चिन्तनीय सत्य चैतन्य परम् आनन्द वस्तुको खोजी गरिनु नै जीवनको परम् ऊद्देश्य हो । आर्ष धर्ममा यिनै रहस्यहरुको अधिकारी भेद अनुसार साक्षात् अनुभवमा आत्मसात गराऊनु नै हाम्रो सभ्यताको मूल आशय पनि हो । मानव जातिको प्राकृत अनुमान, अन्ध-विश्वास र अन्ध-भक्ति नै पूर्ण सत्य प्राप्त गर्ने मार्गमा व्यवधान हुन् । सनातन धर्मले कुशल, सफल र असल त्रिपक्षीय आदर्श, शास्त्रीय मर्यादा र गुरु परंपराद्वारा सम्पूर्ण शंका र अध्यासका अपसारण गर्नु हाम्रो जीवनको एक मात्र स्वतन्त्र ध्येय हो र यहि सनातन धर्मको संस्कार पनि । सनातन धर्ममा सबै वर्णका लागि – चार पुरूषार्थ धर्म , अर्थ, काम र मोक्ष छन् भने दुई अकाट्य नीति छन् । ‘नेति नेति’ वा ‘सर्वं खल्विदं ब्रह्म’ का आधारमा सारा शास्त्रहरू रचिएका छन् र आदर्श पुरुषहरूद्वारा यिनै भावलाई समन्वय गरी भाष्यद्वारा प्रतिपादित र मर्यादित गरेका छन् !

व्यक्तिका श्रद्धा, रूचि र क्षमता अनुसार जीव जगत र ईश्वरलाई हेर्ने तीन प्रक्रिया छन् । निर्गुण निराकार ईश्वर परमात्मा भक्तका भावना अनुसार जहाँ र जुनसुकै समयमा पनि सगुण निराकार वा सगुण साकार रूप लिन समर्थ हुनुहुन्छ । अपरा प्रकृतिका सगुण स्वरूप मध्ये पन्चमहाभूत र तीनद्वारा पन्चीकरण गरेर बनेका विभिन्न विवर्तित अंग प्रत्यंग र पदार्थहरू छन् भने
परा प्रकृतिमा अविनासी आत्मा र परमात्माका सत्य स्वरूप पर्दछन् ।

सनातन मर्यादामा दर्शन र आचरणको ऊत्तिकै मान्यता हुन्छ । अपरा विद्याले व्यावहारिक महत्वका विषयवस्तु, सगुण र तिनका उपादेयता स्पष्ट पारे झैं परा विद्याले जीवन, ईश्वर, जगत र जीवात्माको सूक्ष्म तथा वैज्ञानिक प्रमाण सिद्ध गर्दछ । जसरी सृष्टिका आदिमा प्रजापतिद्वारा गरिएको तपस्याबाट परम् ऋषिहरु, सनातन पुरूषहरु ऊत्पन्न भए र आदिकाल देखि नै विश्वका सम्पूर्ण द्वीपहरुमा विभिन्न सत्य संस्कार र धर्मका स्थापना र संरक्षण गर्दै आए । कालान्तरमा मनुष्यका जनसंख्या बढ्नु, तपस्यामा श्रद्धामा कमि हुनु, विभिन्न कालमा अवतरित सन्त, सिद्ध, ऋषि वा पैगम्बर हरूको पूर्ण आशय बुझ्न नसक्नु, विभिन्न शास्त्रीय ज्ञानको अल्प सिद्धि र सत्संगबाट भौगोलिक दूरी बढ्दै जानुबाट सनातन धर्मका यथार्थ रहस्य हराऊँदै जानुको कारण स्वत: स्पष्ट हुन्छ ।

त्यस्तै संसार चक्र अनुसार विश्वभरी छरिएर रहेका वैदिक सनातन धर्मीहरुको, प्रकृति पूजकहरूको संपर्कले पुन मानव समाज र समाज धर्ममा संस्कारित र उन्नतिशील हुँदै गईरहेछ ! दैवगुण र आसुरी गुण नै वर्ण व्यवस्थाको पालना र अवज्ञाका परिणाम हुन् । ईश्वरीय र प्राकृतिक सृष्टिमा पन्चीकरणका सिद्धान्तले सम्पूर्ण प्राणीहरुको प्रादुर्भाव भएझैं कार्य व्यवस्था र व्यवस्थापन दृष्टिकोणद्वारा गुण कर्मका विभाग भई वर्ण-पन्चीकरण प्रणालीद्वारा विश्वमा कर्म सहजीकरण भई रहेको देखिन्छ । कर्मका भेदले जीवको गति निर्धारण हुन्छ। निषिद्ध कर्म, सकाम वा निष्काम कर्मका फलको हेतु नै जीवले भोग्ने जीवनचक्र र त्यसैका परिणाम हुन् ।

अभय, मनको पवित्रता, चरित्रको स्थिरता, दान, आफ्ना ईन्द्रीयहरूका नियन्त्रण गर्नसक्ने शक्ति, यज्ञ गर्ने तत्परता, स्वाध्याय, मेहनत गर्ने शक्ति, सरलता, अहिंसा, सत्य, अक्रोध, फलासा त्याग, समभाव, दोषप्रति असंलग्नता, प्राणी मात्रमा दया, निर्लोभी हुनु, नम्रता, खराब काम गर्दा लाज मान्ने, बलियो मन, तेज, क्षमा, सहनशीलता, ब्रह्मचर्य, अद्रोह, मान, अपमानप्रति उदासीन आदि दैवी गुणका प्रभाव मानवहरुमा भई नै रहेका छन् भने आसुरीगुणहरर पनि – आडम्बर, चौपट्टै घमण्डी, मपाईं, क्रोध, कठोर हृदय र अज्ञानका रूपमा संसारमा हावी भई नै रहेका छन् । यो ज्ञान प्रवाह समुद्र मन्थन र स्वस्थ संवाद विवाद नै सबै धर्मलाई समन्वय, समभावले देखाऊन समर्थ छ । दया, दमन न दान नै मानवलाई चारित्रिक आदर्शका उत्कर्षता तिर उन्मुख गराऊने मार्ग हुन् ।

यसबाट के प्रमाणित हुन्छ भने संसारका कुनै पनि कुनामा राम्रा नराम्रा व्यक्तिहरुको पहिचान तिनका चरित्र, आदर्श र गुणहरुमा निर्भर गर्दछ न कि तिनका जन्म, थर, लिंग, वर्ग वा राष्ट्र, वंश वा धर्म गुरु । कुनै पनि कर्तव्य र धर्मको रहस्यमय भाव बुझ्नलाई त्यहि परिप्रेक्षमा र समय सन्दर्भमा जानु आवश्यक छ। वैदिक सम्प्रदायका कतिपय शब्द र आशय अनेक पन्थ सम्प्रदायका भाव वा भाषामा अनुवाद गर्न सकिन्न र त्यस्तै अन्य मुलुक भूगोल र परिस्थितिका धार्मिक भावलाई हुवहु बताऊन सकिन्न र जसले गर्दा त्यो श्रद्धा भाव विचार बताऊन मनग्य नहुन सक्छ ।

ब्राह्मिक सम्प्रदाय – ब्रह्म, प्रणव, मन, चित्त बुद्धि वा आत्मालाई नै मूल विषय र ध्येय बनाएर तिनकै आधारलाई पुष्टि गर्दै उद्भव भएका पन्थ, धर्महरूमा दर्शन प्रधान छन् । प्रसिद्ध षट्-दर्शनमा न्याय-वैशेसिक, सांख्य-योग र मिमांसा-वेदान्त आदिको युगल जोडी मनन योग्य छ। त्यस्तै सनातन धर्मका अन्य नास्तिक दर्शनहरुमा बौद्ध जैन सिख्ख चार्वाक आदि विशिष्ट छन् ।ब्राह्मणहरूमा देखिएको वलिप्रथा, हिंसा, अन्ध विश्वास, अन्ध भक्ति र कर्मकाण्ड प्रतिको ज्यादा मोह लिप्सालाई बौद्ध धर्मले नयाँ परिमार्जन गर्यो । फेरि सनातन वैदिक धर्ममै पनि औद्योगिक युगसंगै कालान्तरमा विभिन्न मत मतान्तरका भेद आदि अंकुरण भईनै रहेका छन् । ती मध्ये आधुनिक सम्प्रदायमा ब्रह्मकुमारी, आर्यसमाज, ईस्कोन, कृष्ण प्रणामी, वैष्णव, ईसा फाऊन्डेसन, राधेराधे वा विभिन्न शैव मत र शाक्त मतहरू अनगिन्ति छन् र तिनले यौटा नयाँ गैर-सरकारी आध्यात्मिक संस्थाका रूपमा समाजमा नयाँ सेवा र सोच दिन समर्थ छन् ।

अब्राह्मिक सम्प्रदाय – सनातन धर्म बाहेकका अन्य प्रचलित संम्प्रदायमा ईसाई, यहुदि र ईस्लाम धर्म सिद्धान्तमा फरक रहेपनि आपसमा पैगंबर, धर्मगुरूहरू परपुरक छन् । सनातन सभ्यता र वेदलाई अपौरूषेय शास्त्र रूपमा नमाने पनि आफ्ना गुरु ग्रन्थ र ईष्ट मान्ने परंपरा यहुदिहरूका संरक्षक अब्राहम नै धर्म पिताका रूपमा स्थापित भएका थिए र उनले नै ईश्वर धेरै हैन एक हुनुहुन्छ भनेर घोषणा गर्ने पहिलो व्यक्ति थिए।

ईस्लामले निराकार ईष्टदेवका रुपमा मान्दछन् त ईसाईहरु पनि परमेश्वर पिता र उनका छोरा जिजसलाई श्रद्धा विश्वास गर्दछन् । संसारमा गुण भेद अनुसार तामसिक राजसिक र सात्विक संस्कार र तिनका संस्कार पनि पन्चीकरण गर्न मिल्दछ । प्रकृति पूजक वैदिक सनातन धर्म र सभ्यता नै कालान्तरमा अपभ्रंस र परीवर्तित भएर आज हामी लाखौं वर्ष पछि यो स्थितिमा छौं । कुनै पनि अल्पज्ञ मानव जातिलाई सँधै सबैकुरा थाहा हुनुपर्छ भन्ने छैन । यौटा प्रसंग अर्को युग र परिस्थिति संग नमिल्न सक्छ। यौटा भूगोल अर्को वनोट वर्ग मान्यता संग भिन्दै देखिनु नै यो संसारको स्वभाव हो । त्यसैले आफ्नो उद्धार, ध्येय र प्राप्त गर्ने प्रक्रिया सबै जाति देश संस्कारको व्यग्लै हुन्छ, विश्वलाई समभावले हेर्नु नै आजको तत्व र धर्म सवन्वय हो ।

जसरी यौटी आमालाई सबै सन्तानहरुको उत्तिकै प्रेम रहन्छ त्यसरी नै सागररुपी सनातन धर्ममा सम्पूर्ण पन्थ, समुदाय, दर्शन, तर्क र विश्वासहरू चाहे पनि नचाहे पनि प्राकृतिकरूपले नै समाहित हुन्छन् भन्ने मेरा नितान्त व्यक्तिगत मान्यता हुन् !
पवित्र अश्वत्थ वृक्ष, पर्यावरणीय संरक्षक वृषभकी जन्म दातृ गौमाता, अजश्र गंगाजलको श्रोत अक्षय हिमालय शैल श्रृंखला आदि नामले पनि सनातन धर्मलाई परिचय दिन सकिन्छ। सनातन सभ्यताना यी ईश्वरीय विभूतिहरूको संख्यामा कमि छैन ।

हो, आफूलाई सनातन सभ्यता भन्दा भिन्दै हुँ र हाम्रा धर्म स्थापकहरू अरूभन्दा भन्दै, हाम्रो मान्यता र मूल्यता सबै भन्दा विशिष्ट छ भन्ने सोचाई भएकाहरूले धर्मलाई सनातन देख्न सक्दैनन्। न कि तिनै ऋषिहरूद्वारा दृष्टित, प्रणिपादित र पौराणिक विषय सन्दर्भ सामग्रीका ऊल्लेख सम्म पनि गर्न चाँहदैनन् । यो त सरासर चोरी हो, पाखण्डी पन र प्रज्ञावादको पराकाष्टा हो । सनातन धर्मलाई, वर्ण र कर्मलाई, ध्यान, भक्ति र ज्ञान आदि सम्पूर्ण उपनिषद्, ब्रह्मसुत्र आदि वातानुकूलन वैज्ञानिक अनुसन्धनात्मक सकारात्मक पद्धतीका ऊत्कर्षतालाई अषौरूषेय भनेर मानवीय अहंकारलाई सिथिल गराऊने र संसारका सबै धर्म पन्थ परंपरालाई सनातन सभ्यताकै विकृत वा विवर्तरूप हुन् भनी पारिवारिक समन्वयता गरी एक ईश्वरलाई नै यस्को श्रेय समर्पण र अखण्डता प्रदान गर्नु एक मात्र मानवका लागि निश्चिन्त मार्ग, सहज शान्ति र मुक्तिको उपाय हो ! जय सनातन धर्म !

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button