व्यक्ति बिशेष

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको आज १०७ औं जन्म जयन्ती मनाइँदै

काठमाडौं : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम बुधवार देशभर मनाइँदैछ ।

नेपाली काँग्रेस केन्द्रले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती भर्चुअल रुपमा मनाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म भर्चुअल रुपमा वीपी जयन्ती मनाउने उल्लेख गरेका छन् ।

‘केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । जुममार्फत हुने कार्यक्रमको पहिलो दिन आज एक बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ बिषयमा बहस हुनेछ । बहसमा प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

दोस्रो दिन भोलि बिहीवार ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदान’ विषयमा बहस हुनेछ । उक्त दिन उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरुहरुले आफ्नो मत राख्नेछन् ।

तेस्रो दिन शुक्रवार ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा नरहरी आचार्य र प्रदीप गिरिले आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

काँग्रेसले आफ्ना भ्रातृ संस्था तथा जिल्लाहरुमा सातैभर वीपी जयन्ती मनाउन परिपत्र गरिसकेको छ । यसैगरी काँग्रेसले यो अवधिमा राहत वितरण गर्नुका साथै स्वास्थ्य सामग्रीसमेत वितरण गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना प्रतिकुलताबाट सुरक्षीत रहंदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दुरि र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ । राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहनेछन् ।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर वि.सं २०३३ सालमा नेपाल फर्किनु भएको थियो ।

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button