विचार / दृष्‍टिकोण

शकुन्तला तथा उपनिषद्ले जर्मनका विद्वानहरुलाई सम्मोहित पारेको छ

क्यारोलिन हेगन

दुई वर्षअघि म जुनबेला कोलोन,जर्मनीस्थित योग केन्द्रको एउटा कक्षामा थिएँ, त्यसबेला मैले पहिलोपटक भारतबारे सलिल ज्ञवालीद्वारा लिखित Great Minds on India शीर्षकको पुस्तक देखें। मैँले तत्काल त्यो पुस्तक हातमा लिएँ, किनकि कभरपेजमा भएका Arthur Schopenhauer र Albert Einstein का चित्रले मलाई आकर्षित गरिसकेको थियो। मसँगै योग गर्ने मित्रले पनि मलाई केहिसमय पहिला नै यो किताब पढ्ने सुझाव दिइसकेका थिए। पुस्तक हातमा लिएर पढ्न थालें। साँच्चै नै अत्यन्त आकर्षक लाग्यो मलाई। मेरो मनमस्तिष्कको कुनै एक कुनामा पनि मलाई भारत चाहिँ विद्या-शिक्षा र ज्ञानका क्षेत्रमा यतिसम्म समृद्ध थियो होला भन्ने लाग्दैन थियो। केही वर्षअघि भारतीय योगदर्शनप्रति आकर्षित भएर योगको अझ गम्भीर अध्ययन गर्न म भारत भ्रमणमा गएकी थिएँ। ग्रेट माईन्ड्स अफ इन्डिया ले भारतीय प्राचिन बारे अझ राम्ररी जान्नको लागी फेरि प्रेरित गर्न थाल्यो। योग बाहेक पनि प्राचीन भारतीय ऋषि-मुनिहरु चिन्तन-मनन र ज्ञान-बुद्धिका क्षेत्रमा हदैसम्म माथिल्लो स्तरमा पो रहेछन् भन्ने कुरा मलाई थाहा रहेनछ। भारतीय साहित्य,दर्शन र विज्ञानले सम्पूर्ण युरोपलाई, यूरोपीय सभ्यता, संस्कृति र साहित्यलाई पनि सयौं वर्षदेखि धेरै मात्रामा प्रभावित पार्दै आएको रहेछ भन्ने कुराबाट म अनभिज्ञ नै रहेछु। महान जर्मन मनीषीहरु, विशेषगरी अठारौँ र उन्नाईसौँ शताब्दीका विद्वानहरुका लागि भारत प्रेरणाको केन्द्र नै रहेछ। Albert Einstein, Arthur Schopenhauer, Herman Hesse, Jonathan Goethe अथवा Friedrich Hegel सबैजसो जर्मन मनीषीहरु भारत भुमिमा एकपटक पनि नटेकी यो देशबाट प्रभावित भएका रहेछन् र भारतबारे धेरै नै कुराहरु जानी सकेका रहेछन्। Albert Einstein जस्ता कहलिएका वैज्ञानिक समेतले प्रशंसा गर्दै भारतीय गणना पद्धति र 0 (शून्य) को प्रयोग बिना आधुनिक विज्ञान जगतले यति ठूलो विकासको फड्को मार्न सम्भव हुने थिएन भनेर भन्नु वास्तवमै अत्याधिक सोचनीय कुरा हो। कयौँ शताब्दी सम्म त युरोपेलि देशहरुमा भारतीय गणना पद्धतिलाई शङ्काका दृष्टिकोणले हेरिन्थ्यो। त्यसैले युरोपीयहरुले यसलाई आफ्नो अध्ययनमा सामेल नै गरेनन् । बल्ल मलाई थाहा हुँदैछ, ती रहस्यमयी ऋषि-मुनिहरुलाई त गणितका अनेकौं जटिल समीकरणहरु, विविध प्रकारका संख्या र पाई (pi) को स्थानमूल्यको पनि जानकारी रहेछ। Gottfried Leibniz र अरु गणितविदहरुले धेरै पछि मात्रै ति कुराहरुको जानकारी पाएका रहेछना।

माथि उल्लेख गरिएका विद्वानहरु भारतीय ज्ञान, विशेषगरी भाषाविज्ञान, दर्शन र अध्यात्म विद्याबाट प्रभावित हुनु भनेको कम अचम्मको कुरा होइन। जीवनको गम्भीर अर्थ खोज्ने एउटा ठूलो समूहलाई सधै भारतको रहष्य, दर्शन र योग विद्याले यो देशतिर आकर्षित गरिरहेकै छ। Arthur Schopenhauer समेतले भारतीय उपनिषद्को अध्ययन गर्दा अन्तर्मनबाटै शान्तिको अनुभव गर्नुहुन्थ्यो। Schopenhauer ले आफ्नो चर्चित ग्रन्थ ‘The World as Will and Representation’ मा भनेका छन्-“संसारभरिका कुनैपनि ग्रन्थको अध्ययन उपनिषद भन्दा पनि लाभदायक र प्रेरणादायी हुनै सक्दैन। यसले मेरो यो वर्तमान जीवनमा शान्ति प्रदान गरेको छ र मृत्युउपरान्त पनि यसले शान्ति दिनेछ। उपनिषदले दुनियाँलाई विश्वबन्धुत्व र वसुधैव कुटुम्बकम्को सन्देश मात्र दिँदैन, विशुद्ध ज्ञानको खोजी गर्नेहरुलाई मानवको जगतप्रतिको विशाल अस्तित्वसम्बन्धी ज्ञान पनि दिन्छ। आज यो कुरालाई सबैले आत्मसात गरीसके कि यूरोपियनहरुले भाषाशास्त्र, समाजविज्ञान, ज्योतिष अथवा गणित, जीवन दर्शन, मनोविज्ञानका सूत्र सिद्धान्तमाथी अध्ययन गर्न शुरुगर्नुभन्दा दुई सहस्राब्दी वर्षपहिले नै भारत यी र यस्ता अनेकौं विधामा अत्यन्त विकसित थियो भन्नेकुरा आज कसैका लागि पनि नौलो विषय होइन। स्विस भाषा वैज्ञानिक Ferdinand de Saussure र अमेरिकन भाषाविद् Leonard Bloomfield र Noam Chomsky ले पाणिनिका वैज्ञानिक विश्लेषणसम्मत भाषासिद्धान्तहरू उधारो नलिईकन शायदै आधुनिक भाषाविज्ञानको यति दह्रो र सर्वस्वीकार्य जग बसाल्न सक्थे होलान्। Johann Goethe ले त आफ्ना कयौँ कृतिमा स्पष्ट रुपमै प्राचीन भारतीय साहित्यिक सम्पन्नता बारे स्वीकार गरिसकेका छन्। उनीद्वारा कालिदासकृत ‘शकुन्तला‘ नामक नाटकको गहन अध्ययन र मुक्तकण्ठले गरिएको प्रशंसाले जर्मन नाट्यजगत र अभिनयका क्षेत्रमा क्रान्ति नै ल्याइदिएको थियो। सायद यसैको परिणामस्वरुप उन्नाइसौं शताब्दीमा शकुन्तलाका कयौं प्रभावकारी जर्मन अनुवाद देख्न पाइएका थिये। जर्मन दार्शनिक Gottfried Von Herder ले एकपटक भनेका थिए- “मानवजातिको ज्ञान र विद्या-बुद्धि विकासका सम्बन्धमा अनुसन्धान गर्दा यो सजिलै थाहा हुन्छ कि ज्ञान र विद्या-बुद्धिले सर्वप्रथम यही भूमिमा आकार लिएको थियो।” उनको यो भनाइबाट यूरोपलाई साहित्य, सभ्यता अथवा संस्कृतिका बाटोमा अझ उत्कर्षतिर डोर्याऊने पहिलो देश भारत नै हो भनेर स्पष्ट हुन सकिन्छ। Johann Herder, Wilhelm von Humboldt र विख्यात आधुनिक पदार्थविद् Warner Heisenberg हरुले पनि भारतको अकल्पनीय र अतुलनीय आध्यात्मिक ज्ञानको गुणगान गाएका छन्।

सलिल ज्ञवालीद्वारा लिखित ग्रेट माईन्ड्स अफ इन्डियाको जर्मन इडिसन बुक

योगजस्तो गम्भीर र विशाल दर्शन जान्नका लागि यो देशबारे म किन गर्व गर्दछु भन्ने कुरा गर्न माथि भनिएका प्रसङ्गहरु नै पर्याप्त छन्। अहिले म भगवद्गीताका साथै Edwin F. Bryant द्वारा लेखिएको पतञ्जलिकृत योगसुत्रको अध्ययनमा रमाइरहेकी छु। सरल शब्दमै भन्नुपर्दा पनि यो अनुभव धेरै अद्भूत छ। पूर्वको यस्तो उज्यालो अतीत र विशाल ज्ञानका सामु पश्चिम सारै निरीह देखिन्छ।

अन्त्यमा भन्नुपर्दा पूर्वीय सभ्यताको यस्तो उज्यालो पक्षको जानकारी पाएपछि जस्ताको त्यस्तै पश्चिमी जगतसम्म यी कुरा पुर्याउने इच्छा जागेर मैले यो पुस्तक जर्मन भाषामा अनुवाद गर्ने निर्णय गरें। ‘Great Minds on India’ जस्तो अतुलनीय पुस्तकको जर्मन भाषामा अनुवाद गर्ने अवसर पाउनु मेरा लागि एक अहोभाग्यको कुरा हो। मेरो यो प्रयास वास्तवमा यस उपमहाद्वीपका प्राचीन सन्त-महात्मा, ऋषि-मुनिहरु प्रति मेरो विनम्र र हार्दिक श्रद्धा व्यक्त गर्ने अवसर पनि हो। मलाई आशा छ यो पुस्तकको प्रकाशनले प्राच्य सभ्यताले दिएको ज्ञानको ज्योति पश्चिमी जगत सम्म पुर्याउने कार्य अवश्य गर्नेछ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button