प्रदेश ५

कपिलवस्तुका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

बुटवल : रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक दुबै जना कपिलवस्तुका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत्  कपिलवस्तुको शिवराज नगरपालिका-५ का २ जनाको मृत्यु भएको हो ।

कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले भीम अस्पतालमा उपचाररत शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुष र वडा नम्बर ५ कै ४७ वर्षीय महिलाको  बुटवलमा मृत्यु भएको जानकारी दिए ।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिदैं आइएको थियो।

पछिल्लो समय बुटवलको बेलवासमा बस्दै आएका उनमा दमको समेत समस्या देखिएको थियो । आइतबार राती साढे १० बजे उनको मृत्यु भएको शाहले बताए।

यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका-५ कै ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी  अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलाको समेत समस्या रहेकी उनले नियमित डायलाईसिस् गराउँदै आएकी थिइन् ।

कोरोना विशेष अस्पतालको आईसियुमा  उपचार भइरहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको थापाको भनाइ छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button