प्रदेश ३

बाह्रबीसे पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । 

सोमबार बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । 

उनका अनुसार सोमबार बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ । पहिराबाट २२ घर पूर्णरुपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए । आंशिकरुपमा क्षति भएका घरको लगत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button