कला साहित्य

बेश्या प्रेमिका

सच्चा अक्कल
थोरै म कच्चा छु
उमेरको के हिसाब
अझै त म बच्चा छु
स्वतन्त्र उडेर आकाशमा
स्वधिनमा म अच्छा छु

उडेर पंख फिजाई
चुमेर तिम्रो निधारमा
दिल तिम्रो पत्थरको
पिपल बनेर टुसाएँ
झुकेर तिम्रो पाउमा
श्रद्धाको जल चढाएँ
मायाले देब्रे छातीमा
आजीवन तिमीलाई अटाएँ

मै तिर बाटो मोडेर
प्रेमिका रानी बनायौ
अन्तरँग प्रेमले जोडेर
त्यसपछी खरानी बनायौ

भन्नै चाहेनौ धेरै केही
लामै संदेश पठायौ
जोडेर मलाई को को सँग
विश्वासको सिमा घटायौ

फूल जस्तो यो शरिर
अर्कैलाई नामसारी गर्दे रे
जहाँ भन्छ जतिले
त्यहीँ मनपरि लड्दे रे

समर्पण प्रेमको जोखेर
तराजु ढल्कायौ आफैमा
मुटुमा छुरा रोपेर
सुनपानी छर्कायौ आफैमा

पुरुषको च्यादर ओढेर
उसैको प्रेम खास्सा भो
आफैले साथ छोडेर
प्रेमिका अब वेश्या भो

तिमीले दिएको उपनाम
सँधै प्रिय बनेकै थियो
उतार चढाव जीवनको
मनको साथी बनेकै थियो
बाचा प्रेमको तोडेर
बिदाईको संज्ञा जनायौ
दशथरीसँग जोडेर
प्रेमिका वेश्या बनायौ

तिमीले दिएको संदेशमा
अब त म वेश्या हुँ
कस्तो इतिहाँस पो लेखियो
न हाँस्नै सक्छु न त रोउँ

प्रेमले मुटु सिंचिदा
लडेरै आएँ क्रोधमा
कहाँ कहाँ झुट छु?
भगवानलाई एकफेर सोधन

अब त जोड्दिंदा
खै को को सँग
कुन मुटु लिएर आउनु म?
झुकेर यो शिर त्यो पाउमा
के सारले माया लाउनु म?

संग्लिदा आत्मा प्रेमले
फर्केर आएँ कयौँ पटक
धमिलो भयो अब त
माया प्रेम सबै चटक

त्यागुँला बरु दुई मुठ्ठी सास
तर फर्किन्न अब कहिले
जहाँ म बिटुलो छु
राखुँला मनमै सबै पिर
तर लर्किन्न अब कहिले
जहाँ म बेईज्जती छु

फर्केर तिम्रा पाईलाहरुले
डोब पनि कहीँ नराखुन्
क्रोधको तिम्रो बोलीले
जे सुकै मलाई फलाकुन्
तिम्रो देव नजरमा अब
पुरुष घेर्ने ऐसा हुँ म
कुल्चेर विश्वास प्रेमको
काँचुली फेर्ने वेश्या हुँ म

हराउनेछु उचो गगनमा
यो शिर आफैमा झुकाउँछु
सुख र दुख मनको
कसेर मनैमा लुकाउँछु

दिनमा डुब्ने रातकी रानी
आकाशको अब हुँ चन्द्रमा
पुर्णिमाको उज्यालोमा पनि
तिम्रोलागी चाँदको दाग हुँ म
जति रोए कराए
कहिले पुरा नहुने माग हुँ म

पिरती फूलको नाममा
जलन र ईर्ष्या हुँ म
कुल्चेर विश्वास प्रेमको
काँचुली फेर्ने वेश्या हुँ म
प्रेमीले दिएको संज्ञामा
अब त केवल वेश्या हुँ म
अब त केवल वेश्या हुँ म

✍️ श्वेता मैनाली
सिड्नी अस्ट्रेलिया

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button