कला साहित्य

खै आमाको ममतामयी काख?

सन्दर्भ : भारतीय भूमिमा ज्याला-मजदुरी गर्न गएका नेपालीहरू विश्वव्यापी विनाशक बन्दै गएको कोरोना महामारी, नेपाल र भारतमा भएको लकडाउनको अवस्था र आफ्नो देशमा आउन नदिई सीमाक्षेत्रमा रोकिएका नेपालीहरूको पीडा :

कपिलमणी ज्ञवाली//

आज ऊ अट्तीस डिग्रीको तापक्रममा तातिरहेको पराईको आँगनीबाट बलीन्द्र आँसु झार्दै आमालाई हेरिरहेछ । भनिरहेछ, “आमा मर्नै परे पनि तिम्रो न्यानो काखमा मर्न पाऊँ, आमा, एकपटक मलाई तिम्रो काखमा बसेर भक्कानिन देऊ, आँसु झार्न देऊ । तिम्रै काखको सुरक्षित ओतमा बस्न देऊ ।”

तर जीवन गुजाराका लागि विदेशी भूमिमा रगत, पसिना बगाउन विवस लाचार, निरीह, निमुखा, दु:खको बेलामा आमाको न्यानो काख र ममता खोज्दै आएका आफ्नै सन्ततीले पराइको आँगनमा, पराइको लाठी र बुटको प्रहार खाएको देखेर आमाको मन अवश्य भक्कानिनु पर्ने हो तर आमा आफ्नै सन्तती न यताको न उताको बेवारिसे टुहुरो भएको दृश्य टुलुटुलु हेरिरहिछिन्, न आऊ भनेर बोलाउन सक्छिन्, न गएर ल्याउन सक्छिन् ।

जब म जान्ने-बुझ्ने भएँ तबदेखि आमाको पेट अघाएको मलाई थाहा छैन । च्यातिएको मजेत्रोले टपक्क मलाई पिठ्युँमा बाँधेर घर-घर गई भाँडा माझेको, लुगा धोएको देखेको छु । पिठ्युँमा घाँसको भारी र अगाडि हातमा मलाई राखेर खर्यानबाट दिनहुँ आएको देखेको छु । च्याँख्लाको सानो डल्लो सिन्कीको झेलमा डोबेर आँसुका धारासँगै खुवाएको संझना मलाई अझै छ ।

त्यही पराइले हिजो गौँडो बन्द गर्यो, आउने-जाने बाटोमा तगारो लगायो, सामान रोकिदियो । आमाको काम खोसियो, मेरो गाँस रोकियो । एक मुठी पिठोको ढेंडो पकाएर मलाई खुवाइन् आमाले, आफू भोकै बसिन् तर गहभरी आँसु लिएर कहिल्यै गौँडा खोल् भनिनन् पराइसँग।
आज त्यही पराइले आफ्नै सन्ततीमाथि लाठी र बुट बर्साउँदा पनि उनी उल्टै भन्दै छिन्, “यता आउनु हुँदैन, जाओ, उतै बस । यता आयौ भने हाम्रो काल बन्न सक्छौ । अब मलाई पराइले दिएको पीडा सहन नसकेर तड्पिएका तिमी जस्ता निमुखा सन्ततीको पीडाले केही असर गर्दैन ।”

गर्मीले भतभत पाकिरहेको कालीको बगरमा रहेको आँपको रुखको छायाँमा बसेको मेरो मनमा नालायक सन्तती भएको पीडा-बोध भयो । एकपटक गएर आमाको काखमा हाम् फाली सोध्न मन लाग्यो, “आमा ! हिजो चाइना जहाज पठाएर आफ्नै सन्तती ल्याउनुभएको होइन ? आमा ! हिजो अष्ट्रेलियामा जहाज पठाएर ल्याएका को हुन् नि ? अरूलाई आफ्नो घर ससम्मान ल्याउन हुने, हामीलाई आफै आउन खोज्दा पनि नदिने ? आमा ! के हामी हजूरका सन्तती होइनौँ र ?” यति सोच्दै रहँदा मेरा आँखा अनायासै दिल्लीको होटेलमा काला भाँडा धस्काउँदा कटकटिएका हातमा परे ।

तर पनि मेरो मनको कुन्तरमा रहेको प्रश्न मेटिएन । आमाको काखमा बसेर कँसिला मुठ्ठी भुइँमा बजार्दै सोध्न मन लाग्यो, “आमा ! अरू देशले धमाधम जहाज पठाएर आफ्ना सन्तती आफ्नो घर लैजाँदै छन् नि, होइन र ? तिनीहरू भोकै भए भनेर तारे होटेल खोलिदिनुभयो, सवारी-साधन पाएनन् भनेर हेलिकप्टर पठाइदिनुभयो । होइन र आमा !”

यत्तिकैमा पल्तिर चार-पाँचजना साथीहरू पानी खान नपाएर बेहोस भएको भन्ने हल्ला आयो। साथीहरू पानीका बोतल लिएर दौडिएका देखिए ।
“ए ए ! गएर एम्बुलेन्स बोलाइदिन भन्न हो । लौन, छिटो समाओ, अस्पताल लैजान परो ।” अलि पर रुखमुनि एक्कासी साथीहरूको भीड़ लाग्यो । तीन दिनदेखिको भोको साथीले अन्तिम सास फेर्दै रहेछन् ।

विचरा साथी ! मर्नै परे पनि आफ्नी आमाको ममतामयी न्यानो काखमा शिर राखेर मरून्” भन्ने उद्देश्यले झ्यांगकुटी पार्दै गौँडोसम्म पुरायौँ तर त्यहाँ ठूलो तगारो लगाइएको थियो । आफ्नै सहोदर दाजु-भाइ ठानेर अनुनय-विनय गर्यौँ तर हाम्रो अनुनय-विनय कसैले सुनेन । उल्टै हामीमाथि बन्दूक तेर्साइयो ।

यत्तिकैमा साथीले एकपटक तिंगरिंग आंग ताने र सधैंका लागि आँखा चम्लिए । हामी साथीको पार्थिव शरीर त्यही तगारोमा राखेर कुरिरहेका छौँ । तर कहिलेसम्म?

प्रतिक्रियाका लागि
[email protected]
२०७६/१२/२२/७

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button