विचार / दृष्‍टिकोणविशेष

महिला हिंसा: समाजभित्रको यौटा कुरुप तस्विर

शर्मिला ज्ञवाली :

भनिन्छ, हाम्रो समाज पुरुषप्रधान समाज हो। कथित पितृसत्तात्मक संरचनामा महिलाहरुलाई दोस्रो दर्जाको हैशियतमा राख्नको लागि अझैपनि कुनै कसर बाँकी राखिएको छैन। महिलाहरु ग्रामिण भेगमा मात्र पिल्सिएका छन भन्ने होईन, शहरमा पनि महिला हिंसा अत्याधिक छ। शहर भनेको शिक्षित र धनीमानी बस्ने संरचना हो भनेर हाम्रो दिमागमा सानैदेखि भरिदिईएको हुन्छ। त्यसैले शहरमा महिलाहरु पनि शिक्षित र सुरक्षित छन भन्नू नितान्त मनोगत कुरा हुन। आवरणमा शहरको भौतिक संरचना आकर्षक देखिएता पनि त्यहिं शहरभित्रका अधिकांश घरहरुमा प्राय: महिलाहरु प्रत्यक्ष या अप्रत्यक्ष रुपमैं हिंसाको सिकार बनिराखेका हुन्छन। घरमा बुहारीले नै सवै काम सम्हाल्नुपर्दछ भन्ने मानशिकता नै महिला हिंसाको पहिलो जड हो। पुरुषहरु बाहिर निर्धक्क भएर घुमफिर गर्दैगर्दा आज पनि त्यस्ता शहरका अधिकांश घरहरुमा महिला भने भान्छाकोठामैं सिमित हुनपुगेका छन। बिहान घरबाट निस्किएको श्रीमान बेलुकी नशाको तालमा साथीसंग घरमा आएर आफ्नो श्रीमतिको बखान गर्नथाल्दछ भने त्यो महिलामाथी गरिएको अर्को हिंसा भनेर सम्झिनुपर्ने हुन्छ। महिला प्रताडना र हिंसाका अनेकन आयाम छन। रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलतार शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ। तराईक्षेत्रमा विशेष गरेर दाईजोकै कारणले कयौं चेलीहरुको जीवन बर्बादी भैराखेको छ। यस्ता घटनाहरु हामी दिनहुँ सुन्दछौं। आफ्नै श्रीमतीमाथी सामुहिक बलात्कार, हत्या, एसिड प्रहार, घरनिकालाजस्ता जघन्य अपराध आवरणमा देखिने घटना हुन भने अदृष्य घटनाहरुमा महिलालाई शारिरिक एवं मानशिक तनाव दिनु, निम्नस्तरको गालीगलौज, परिवारका सदस्यबाट वेपरवाह गरिनु, समाजमा बदनाम गरिदिनुलगायतका सार्वजनिक हुन नसकेका हिंसा कति महिलाले सहंदै आईरहनुपरेको छ। छोरी जन्माएकै भरमा चरम शारिरिक एवं मानशिक यातना भोग्नुपरेका कयौं महिलाहरु आज पनि कष्टकर जीवन बिताऊंदै आएका छन।

अर्कोतर्फ महिलाका संवेदनशिल शारिरिक अंगहरुसंग छेंडाखानी गर्नु, नजिकिएर छोइन खोज्नु, सार्वजनिक यातायात या भिडभाडयुक्त क्षेत्रहरुमा महिलाका नितम्व, स्तनलगायतसंग ठोकिन खोज्नु, महिलाका संवेदनशिल अंगहरु एकोहोरो हेरिरहनु, महिलाका बारेमा ब्यंग्य कंस्नु, आपत्तिजनक तस्विर, पेन्टिङ्ग बनाऊनु, सामाजिक संजालमा महिलालाई होंच्याएर भिडियो, तस्विर, कार्टून बनाऊनु, अश्लील म्यासेजहरु पठाऊनु, दोहोरो अर्थ लाग्ने कुरा गर्नु यी सवै महिला हिंसाअन्तर्गत पर्ने गर्दछन र यस्ता हिंसाको सामना प्रतिदिन प्राय: महिलाहरुले गर्नुपरेको छ।

घरभित्र होस या घरबाहिर हरेक दिन महिलाले पुरुषबाट थप्पड, लात्ती, अपमान, धम्की, यौन शोषणलगायत अनेकन हिंसात्मक घटनाको सामना गरिरहनुपरेको छ। आफ्नो महत्वपूर्ण जिवनको जिवनसाथी भनेर सर्वस्व त्यागेर तन मन सबै समर्पण गरेकी नारीमाथी आफ्नै पति या उसका परिवारका सदस्यद्वारा दुर्व्यवहार, बलात्कार, हत्यासम्म हुनु यहाँ कुनै नौलो बिषय भएन। यति हुँदासम्म पनि हामिलाई यौटि प्रताडित नारिको बारेमा कुनै चासो या सरोकार नै रहंदैन। किनकी तिनै नारीलाई घरको इज्जत जोगाऊनुछ। नेपालका अधिकांश क्षेत्रमा घट्ने गरेका महिला हिंसाको स्वरूपहरूमा महिला माथि गरिने कुटपिट, मानसिक यातना, गालीगलौज, घरेलु हिंसा, जवरजस्ती करणी, बैवाहिक बलत्कार, एसिड खन्याउने, बोक्सीकोआरोपमा दुर्व्यवहार,बहुविवाह, वालविवाह, प्रेमको नाममा धोका, मानव बेचविखन तथा ओसारपसार, हाडनातामा करणी, वैदेशीकरोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन आदि देखिएको छ । जस्तैः बोक्सीकोआरोपमा महिलाहरूलाई गाउँ निकाला गर्नु , पारिवारिक रिसइवीको कारण अवोध बालिकादेखि ७५ वर्षे बृद्ध महिलासमेत बलात्कृत हुनुपरेको छ।

अर्कोतर्फ महिलाका संवेदनशिल शारिरिक अंगहरुसंग छेंडाखानी गर्नु, नजिकिएर छोइन खोज्नु, सार्वजनिक यातायात या भिडभाडयुक्त क्षेत्रहरुमा महिलाका नितम्व, स्तनलगायतसंग ठोकिन खोज्नु, महिलाका संवेदनशिल अंगहरु एकोहोरो हेरिरहनु, महिलाका बारेमा ब्यंग्य कंस्नु, आपत्तिजनक तस्विर, पेन्टिङ्ग बनाऊनु, सामाजिक संजालमा महिलालाई होंच्याएर भिडियो, तस्विर, कार्टून बनाऊनु, अश्लील म्यासेजहरु पठाऊनु, दोहोरो अर्थ लाग्ने कुरा गर्नु यी सवै महिला हिंसाअन्तर्गत पर्ने गर्दछन र यस्ता हिंसाको सामना प्रतिदिन प्राय: महिलाहरुले गर्नुपरेको छ।

महिलालाई प्रताडित गर्नको लागि पुरुषहरुसंग अनेकन वाहाना छन। पुरुषहरुमा यौटा दम्भ के छ भने उसले जसरी पनि महिलामाथी हैकम जमाऊनैपर्दछ। आफू मर्द हुनुको परिचय महिलालाई दिनुछ र महिलामाथी उसको पूर्ण अधिकार रहेको हुनुपर्दछ भन्ने मानशिकताले गर्दा नै अधिकांश महिलाले हिंसा झेल्नुपरिरहेको छ। यतिमात्र होईन, जब यौटा पुरुषले आफ्नै पत्नीमाथी यदि हैकम जमाऊन सकेन भने उसले हिंसाको साहारा अन्य महिलालाई आक्रमणको तारो बनाऊन पुग्दछ। उसले आफुलाई पुरुष हुनुको पुरुषार्थमाथी यति घमण्ड चढेको हुन्छ कि आफ्नो नजरका वरिपरि रहेका हर कोहि महिला उसको नजरमा एक खेलौनासरह देख्न थाल्दछ जसलाई प्राप्त गर्न उसले कुनै कसर बाँकी राख्दैन। सल्लाहमा सजिलै प्राप्त गर्नसक्यो भने भरपुर प्रयोगमा ल्याऊँछ भने सल्लाहमा यदि कुनै पनि नारी उसको पक्षमा आऊन सकिनन भने कुनै पनि हालतमा उसले कुकर्म गर्न थाल्दछ। पुरुषार्थको घमण्डले अन्धो बनेको त्यस्तो ब्याक्तिले समाज र ईज्जतको कत्तिपनि हेक्का राख्दैन। फलस्वरुप नारीहरु त्यस्तो हिंसाको शिकार बन्न बाध्य हुन्छन। घरभित्र पनि बाबू, हजुरबुवाबाट छोरी, नातीनी, दाइ भाईबाट दिदी बहिनी, शिक्षकबाट बिद्यार्थी बलत्कृत भएका घटनाहरु सार्वजनिक हुने कारण नै यहिं हो।

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ। त्यसैले यो एउटा जघन्य अपराध हो। चरम महिला हिंसाको नियति भोगिरहेको छ हाम्रो समाजले आजका दिनसम्म पनि। महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै दाषीदेख्ने सामाजिक परिवेश छ । आँट गरेर सार्वजनिक गरिएका घटनामा महिलाका लागि पैरवी गरिदिने महिलाकानून व्यवसायी छैनन् । जसका कारण महिलाहरूका विशेष प्रकारका पीडा पुरुष कानुन व्यवसायीलाई सुनाउनवा अदालतमा जवाफ दिन नसक्ने भएका कारण पनि महिला सम्बन्धी घटनाहरूको पछिसम्म अनुगमन हुनसक्दैन । यसले पनि पीडकलाई फाइदा नै पुर्‍याएको छ ।

महिला हिंसाका सम्बन्धमा अनुसन्धान गर्ने दक्ष महिला प्रहरी, महिला कानुन व्यवसायी, अदालतमा गोप्यइजलास र महिला न्यायाधिश नहँदासम्म महिलाले जतिसुकै हिम्मत गरेर आफ्नो पीडा सार्वजनिक गरेपनि उल्टो झन पीडित हुने स्थिति कायम रहन्छ । हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचको अधिकार र विवाहित महिलाकोपनि पैत्रिक सम्पत्तिमा अधिकारको सुनिश्चितता नभएसम्म महिला विरूद्धको हिंसा मुक्त समाजको कल्पना गर्नसकिँदैन।

महिलामाथी हुने घरेलु तथा बाह्य हिंसाले केवल महिलालाई मात्र चोट पुर्याऊंदैन, यस्ताखाले हिंसाले सन्तान, घरपरिवार हुँदै समाजसम्म गहिरो असर पार्दछ। समाजमा देखापर्ने यस्ताखाले महिला हिंसाले महिलाको आत्मसम्मानमा गहिरो धक्का लागेको हुन्छ। महिलामा अनेकन मानशिक समस्याहरु देखापर्न थाल्दछन। हिंसाको चपेटामा परेकी महिलामा देखापर्ने चिन्ता, हडबडाहट, त्रास, इज्जत, प्रतिष्ठाको भयले कतिपय महिलाले आत्महत्यासम्मको बाटो रोजेका हुन्छन। अर्कोतर्फ हिंसामा परेकी महिलाले आफ्नो परिचय बदल्ने भरमग्दुर कोसिस गरिराखेकी हुन्छिन। त्यस्ता महिलाहरु आफूलाई सानोभन्दा सानो खुशीबाट पनि टाढा राख्ने कोशिषमा लागेका हुन्छन। घरपरिवार, आफन्त तथा इष्टमित्रबाट बिस्तारै आफूलाई टाढा राख्न बाध्य भई एक्लोपनाको शरण लिन बाध्य हुन्छन। एक्लोपनाको सिकार भएका महिलामा डिप्रेसनको समस्या देखा पर्दछ, फलस्वरुप नशाजन्य औषधीको साहारा हुँदै मृत्युसम्म रोज्ने बाध्यता आईपर्दछ।

महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो। महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा सिकाउनुपर्दछ। जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणाममुखी योजना र कार्यक्रम ल्याउन जरूरी छ। समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको अन्त्यगरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिन्छ।

लेखकद्वारा थप: किन बदल्ने पोखरा विमानस्थलको नाम?

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button