पत्रपत्रिकाबाटसमाज

असार १६ देखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

नागरिक उड्डयन प्राधिकरणले बढीमा ११ दिनभित्र धावनमार्ग जीर्णोद्धारको पहिलो चरणको काम सम्पन्न गर्दै असार १६ देखि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले चैत ११ देखि विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग सुधार्न १० घण्टा आंशिक उडान बन्द गर्दै जीर्णोद्धार थालेको थियो । 
‘असार १६ देखि काठमाडौं विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा ल्याउँदै छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले भने । उनका अनुसार भदौ १४ सम्म २१ घण्टा विमानस्थल सञ्चालन हुनेछ । त्यसपछि दोस्रो चरणमा धावनमार्गसँग जोडिएका ‘प्यारलल ट्याक्सी–वे’ तथा अन्य बाटोको सुधार थालिनेछ । यो काम भदौ १६ देखि पुस १५ सम्म चार महिना हुने भए पनि विमानस्थल अहिलेजस्तो १० घण्टा बन्द गरिनेछैन । ‘मुख्य काम सकिइसक्यो, धावनमार्ग र पार्किङ–वे जोड्ने बाटाहरूको जिर्णोद्धार गर्न चार महिना राति ११ः३० देखि बिहान ६ः३० सम्म ७ घण्टा उडान सेवा बन्द गरिनेछ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘तर त्यसबेला अहिलेजस्तो उडान अवरोध हुनेछैन ।’ विमानस्थल २१ घण्टा सञ्चालन हुदा दैनिक ३ सय ५० हाराहारी आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन्छन् । अहिले १० घण्टा आंशिक बन्द भएका कारण दैनिक ७० वटासम्म उडान कटौती भएका छन् । यो कुल उडानको २० प्रतिशत हाराहारी हुन आउँछ ।
४५ वर्षपछि भइरहेको धावनमार्ग जीर्णोद्धार ग्लोबल टेन्डरबाट छानिएको चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । कम्पनीले यस पटक तोकिएकै समयमा काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । ‘वर्षा भइहाले ११ दिन लाग्ला, होइन भने एक सातामा अब मुख्य धावनमार्ग जीर्णोद्धारको काम सकिनेछ,’ प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले भने । उनका अनुसार पहिलो चरणमा चिनियाँ ठेकेदारले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौडाइको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाइ तथा २० सेन्टिमिटर खनेर नयाँ अलकत्रा राख्ने कार्य थालेको थियो । उसले अलकत्रा खनेर उच्च गुणस्तरको बिटुमिन राख्ने काम सकिसकेको छ ।
अहिले पुरै धावनमार्गको माथिल्लो तहमा उच्च गुणस्तरयुक्त अलकत्रा राख्ने काम भइरहेको छ । ‘११ सय मिटर सकिइसक्यो, बाँकी काम एक हप्ता हाराहारीमा सकिएला । अनटाइम काम भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने । चिनियाँ कम्पनीले धावनमार्ग मात्रैको काम तीन महिनाभित्र सक्ने सम्झौता गरेको थियो । यसबाहेक ट्याक्सी–वे र ड्रेनलगायत पूर्वाधार सुधार्न १८ महिना दिइएको छ । यो ठेक्का चिनियाँ कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा सकारेको थियो ।आयोजनाका अनुसार अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या हुनेछैन । सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा पनि सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले यो जीर्णोद्धारले धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने जनाएको छ । अहिले विमानस्थलले नोटाम (नोटिस फर एयरम्यान) जारी गर्दै राति १० देखि बिहान ८ बजेसम्म उडान रोकेको छ । काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुन्छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button