जागरण भिडियोराजनीतिविचार ब्लगविशेष

हिन्दी भाषाले के राष्ट्रियता र स्वाभिमानमा आँच आऊँछ?

श्रावण ४, २०६५ मा गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा ले हिन्दी भाषामा पद एवं गोपनीयताको शपथ ग्रहण गर्दा नेपालमा आगो बल्यो। धोती, कछाड र काँधमा तौलिया राखेर संसदमा सपथग्रहण गर्दा झाले नेपालीमा भएको सपथलाई उल्था गरेर हिन्दिमा उच्चारण गरेका थिए। दरभंगा बिहारमा जन्मिएर नेपालको सर्वोच्च अदालतको न्यायाधिश समेत भएका झा तत्कालिन मधेसी जनाधिकार फोरमको तर्फबाट गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। जातीवादी राजनिति चरमचूलीमा पुगेको तत्कालिन समयमा मधेसबाट जातियताको राजनिती गर्दै आएको क्षेत्रीय दल मधेसी जनाधिकार फोरमका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवार भएका झा को हिन्दि सपथकाण्डले नेपालमा ठूलै तहल्का मच्चाएको थियो। एकातर्फ नेपालको संसद, सरकार र न्यायालयमाथी भारतिय सुक्ष्म ब्यवस्थापन (माईक्रो म्यानेज्मेन्ट) को चर्को प्रभाव, जातिय एवं पहिचानको नाममा आन्दोलन, दलहरुको चरम असक्षमता, धरमराऊंदो राष्ट्रिय स्वाभिमान सबै उत्कर्षमा पुगेको बेला परमानन्द झाको हिन्दी भाषामा सपथले नेपालभित्र भूकम्प ल्याऊनु स्वाभाविकै थियो।

हिन्दी नेपालको कूल जनसंख्याको एक प्रतिशतभन्दा पनि कमको मातृभाषा हो, जुन नेपालको कतिपय तराई क्षेत्रमा बोल्ने गरिन्छ। तत्कालिन नेपालको अन्तरिम संविधानले हिन्दी भाषालाई मान्यता नदिएकोले झाको शपथ ग्रहण असंवैधानिक भएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्चमा दायर रिटउपर फैसला गर्दै २०६५ श्रावण १३ गते सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्दै झाले हिन्दिमा शपथ ग्रहण गरेको सन्दर्भमा लिखित विवरण उपलब्ध गराउन आदेश दिएको थियो। तर झाले अदालतद्वारा जारी आदेशको पालना नगर्दा करिब एकबर्षसम्म उपराष्ट्रपति पद नै खाली रहन पुग्यो र अन्तत: श्रावण ९, २०६६ मा सर्वोच्चले नेपाली भाषामैं सपथ गर्नू, गराऊनू भन्ने आदेश दिएपछि परमानन्द झा ले दोस्रोपटक नेपाली भाषामैं उपराष्ट्रपति पदको सपथ लिएका थिए।

तर, भारतिय संविधानमा भने फरक पनि छ। भारतिय संविधानको आठौं अनूसूचीमा नेपाली भाषालाई पनि क्षेत्रीय भाषाको मान्यता दिईएको छ। २५ बर्ष पहिला नै नेपाली भाषालाई भारतिय संविधानले क्षेत्रीय भाषाको रुपमा मान्यता दिएको हो। नेपालको संविधानले हिन्दी भाषालाई मन्यता नदिएता पनि मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दल, बुद्धिजिवी तथा विभिन्न पेसा संघठनसंग आवद्ध ब्याक्ति समुहले हिन्दीलाई सम्पर्क भाषाको रुपमा स्थापित गर्नुपर्ने भन्दै वकालत गर्दै आएका छन। नेपालको संविधानले हिन्दिलाई आजसम्म मान्यता नदिएता पनि रेडियो नेपालबाट भने आजसम्म पनि हिन्दिमा समाचार प्रसारण भईरहेको छ। उता भारतमा पनि अल इन्डिया रेडियोबाट दिनमा तिनपटक एक/एक घण्टाका दरले नेपालीमा कार्यक्रमहरु प्रसारण हुँदै आएको छ।

भारतमा करिब ४१ लाख जति भारतीय नेपालीभाषी छन, यो संख्या कूल भारतिय जनसंख्याको ०.४० प्रतिशत हुन आऊँछ। विशेष गरेर सिक्किम, पश्चिम बंगाल, उत्तराखण्ड, हिमान्चल प्रदेश र आसाममा भारतीय नेपालीभाषीहरुको बाहुल्य रहेको छ। यिमध्ये पनि सबैभन्दा नेपालीभाषी भारतियको बाहुल्य सिक्किममा रहेको छ, जहाँ कूल आवादीको ६२.६ प्रतिशत नागरिकद्वारा नेपाली भाषाको प्रयोग गरिन्छ। सन् १९७७ देखि नेपाली भाषालाई पनि भारतिय संविधानले मान्यता दिनुपर्ने भन्दै चलेको आन्दोलनले अन्तत: १९९२ मा मात्र मूर्त रूप लिएको थियो।

दार्जीलिङबाट निर्वाचित बिजेपी सांसद राजु बिष्ट।

१९९२ मा भारतिय संविधानको आठौं अनूसूचीमा नेपाली भाषाले प्रवेश पाएसंगै भारतिय संसदमा नेपाली भाषा पनि गुन्जिन थालेको हो। तलको भिडियोमा पश्चिम बंगाल राज्य अन्तर्गत दार्जिलिङ्ग लोकसभा निर्वाचन क्षेत्रबाट निर्वाचित बिजेपीका सांसद राजु बिष्टले भारतिय संसदमा ढाका टोपी र इष्टकोट ढल्काऊँदै नेपाली भाषामा सपथ लिएको दृष्यले सांच्चिकैं मन प्रफूल्लित बनाऊंदछ। नेपाली भाषा र ढाका टोपीमाथी गर्वले ढक्क छाती फुलेर आऊँछ। तर, नेपालको संसदमा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदले धोती, कछाड र काँधमा तौलिया राखेर हिन्दिमा भाषण गर्दा हाम्रो मन चाहिँ चसक्क किन हुन्छ होला? सायद नेपालको संविधानले हिन्दिलाई मान्यताप्राप्त भाषाको रुपमा नलिएर पो हो कि या हाम्रो राष्ट्रियता नै कमजोर भएर हो? अथवा, हाम्रो नेतृत्वमा ईमान नदेखिएर पो हो कि या नियतमा नैं खराब भएर या हामी आफै कमजोर भएर? यस्ता सवालको जवाफ भने हामी कदापी पाऊन सक्तैनौं। तर, भाषाकै कारणले राष्ट्रियता र स्वाभिमानमा दनदनी आगो नै लागिहाल्ला भन्न सकिन्न, जवसम्म, तवसम्म नेतृत्वले घुँडा टेक्दैन, अलिकति ईमानको भए पनि ख्याल गरेको हुनेछ र लोकलाजको भएपनि हेक्का गर्नेछ। आगो त तब लाग्नेछ: जब सिक्किम भारत बिलयका खलनायक लेण्डुपले झैं सर्वस्व बेईमानीको हद पार गर्नेछन। अहिले तत्काललाई भाषाकै कारणले राष्ट्रियता र स्वाभिमान धरापमा पर्लाझैं मलाई लाग्दैन।

यद्यपि अश्विन ८, २०७३ का दिन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट फर्किएपछि अंगिकृत नागरिकता लिएका ब्यक्तिपनि देशको प्रमुख कार्यकारी पदमा पुग्न सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाएका थिए।
भारतले अंगिकृत नागरिकता लिएका ब्यक्ति पनि नेपालको राष्टपति र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेपालका राजनीतिक दलहरुलाई दवावको सामना गर्न नसकि भारत र मधेसी मोर्चाको यही माग पुरा गर्न प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रक्रिया अघि बढाएका थिए। नेपालको संविधानले अंगिकृत नागरिकता भएका ब्यक्ति राज्यका अन्य सवै पदमा पुग्न सक्ने भएपनि प्रमुख पदमा पुग्न नसक्ने ब्यवस्था गरेको थियो । यही बुँदामा भारतले सवैभन्दा बढि असहमति जनाउँदै आएको थियो । भारतको लोकसभामा तत्कालिन विदेशमन्त्री सुष्म स्वराजले यही धारामा आपत्ति जनाएकी थिइन। संविधान संशोधनमा प्रधानमन्त्री दाहालले अंगिकृत नागरिकता र हिन्दी भाषामा सरकारी कामकाजको बिषय प्रमुख बनाएका थिए भने मधेसी मोर्चालाई सन्तुष्ट बनाउन राष्टिय सभामा जनसंख्याका आधारमा प्रतिनिधत्व बनाउने, अखण्ड नवलपरासीसहित बर्दियासम्म एक प्रदेश बनाउने र स्थानीय तह प्रदेश मातहत राख्नेसहितको संशोधन प्रस्तावमा छलफल गरेका थिए। हिन्दी र अंग्रेजी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने गरी तत्कालिन प्रधानमन्त्री दाहालले छलफल अगाडी बढाएका थिए। त्यसबेलाका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने भन्दै बहसमैं उत्रिएका पनि हुन। तर तत्कालिन सत्ता गठबन्धन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने राष्टघाति कदममा आफुले साथ नदिने बताएता पनि हालको नागरिकता बिधेयकमा नेपाली कांग्रेस पनि आश्चर्यजनक रुपमा मौन बसेको छ। हाल एकिकृतपूर्वको एमालेले पनि दाहालको त्योखालको कदमलाई राष्टघाति कदमका रुपमा ब्याखा गरेता पनि अहिले ऊ आफै चरम विवादास्पद बन्न पुगेको नागरिकता बिधेयक जसरि भएपनि पास गराएरै छाड्न नाभीदेखिको बल लगाएर कंस्सिएको छ। अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई राज्यको प्रमुख पदमा पुग्ने र हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन नसकिने निस्कर्ष त्योबेलाको एमालेको थियो। तर आज त्यहिं पूर्व एमाले ३६० डिग्रीले फनक्क फर्किएको छ।

राजनितिमा यस्ता धूर्त, फटाहा, नैतिक र चरित्रहिन लेण्डुपमय खेलाडी छ्यापछ्याप्ति छन र त आज यौटा भाषासंग तर्सिनुपर्ने अवस्था छ।

प्रस्तुति: बिजय ज्ञवाली

बिजेपी सांसद राजु बिष्टको सपथग्रहणको छोंटो भिडियो हेर्नुहोस :

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button