स्वास्थ्य

बालबालिकामा रक्त क्यान्सर बढ्दो

पछिल्लो समय रक्त क्यान्सर हुने बालबालिकाको संख्या बढेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अनुसार रक्त क्यान्सरको आशंकामा हाल दैनिक ५० जनाभन्दा बढी बालबालिकाको उपचार हुने गरेको छ ।
५ वर्ष अघिसम्म यस्तो संख्या अत्यन्त न्यून रहने गरेको अस्पतालको भनाइ छ । अस्पतालको बाल रक्त क्यान्सर विभागमा २८ जना बालबालिका भर्ना भएर उपचार गराइराखेका छन् । बच्चाहरूको क्यान्सर अन्य क्यान्सरभन्दा बढी संवेदनशील हुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकोले यो बढी चुनौती भएको विशेषज्ञ चिकित्सकहरू बताउँछन् ।
अस्पतालको बालरोग एवम् रक्त क्यान्सर विशेषज्ञ डा.कृष्णसागर शर्माले भने, ‘जति बढी प्रविधिको विकास हुँदै गयो, उति बढी बालबालिकामा हुने रक्त क्यान्सर चुनौतीपूर्ण बनेको छ ।’ उनका अनुसार शरीरका अन्य भागमा क्यान्सर हुँदा त्यो भागमा मात्रै असर हुन्छ भने रक्त क्यान्सर भयो भने यसले सबै अंगमा असर पार्छ । नेपालमा १ हजार ५ सयभन्दा बढी बालबालिकामा रक्त क्यान्सर भएको अनुमान गरिएको उनको भनाइ छ, जसमध्ये आधाजति मात्र अस्पतालको सम्पर्कमा आउने गर्छन् ।
२० प्रतिशत बालबालिकालाई बचाउनै मुश्किल
रक्त क्यान्सर भई आउने २० प्रतिशत बालबालिकालाई बचाउन मुश्किल परेको अस्पतालले बताएको छ । अस्पतालका विशेषज्ञ चिकित्सकका अनुसार कतिपय बिरामी ढिलो आउने, आए पनि नियमित उपचार र औषधी प्रयोग नगर्ने गरेका कारण उनीहरूलाई बचाउन नसकिएको हो ।
बालबालिकामा मुख्यतया ३ प्रकारका एएलएल, एएमएल र सीएमएल रक्त क्यान्सर देखिएका छन । तीमध्ये अधिकांश बालबालिकामा एएलएल प्रकृतिको रक्त क्यान्सर हुने गर्दछ । यो प्रकृतिको रोग चाँडै नै निको हुने र शतप्रतिशत उपचार सफल हुने चिकित्सकको दाबी छ । अस्पतालको उक्त विभागमा २३ जना एएलएल, एएमएल ३ जना र सीएमलका बिरामी एकजना मात्र रहेको बताइएको छ ।
एएलएल रक्त क्यान्सर प्रभावित बिरामीको शतप्रतिशत उपचार सफल भए पनि अन्य प्रकारका रक्त क्यान्सर प्रभावित बालबालिकाको शतप्रतिशत सफल उपचार हुन नसक्ने डा. शर्माले बताए । रक्त क्यान्सर गर्ने अधिकांश उपचार सम्भव नभए पनि बोनम्यारो ट्रान्सप्लान्ट सुविधा अस्पतालमा उपलब्ध छैन । यस उपचारको लागि विदेश नै जानुपर्ने उनको भनाइ छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button