कला साहित्यसमाज

निर्मला आइन फेरि सम्झनामा…..

“नो ओन किल्ड निर्मला”

दिन हरेक बिहान हुन्छ
हरेक गोधुलि पछि रात हुन्छ
बिहान उज्यालो घाम झुल्किन्छ
बेलुकी टहटह जुन लाग्छ
औसीको कालरात्रीमा समेत
आकाशैभरि लाखौं तारा चम्किन्छन्
तर हप्तौं बितिसके
महिनौं बित्न लागिसक्यो
निर्मलाको घरआगनमा
उदाएको छैन घाम
झुल्केको छैन जुन
र चम्केको छैन तारा ।

रहस्य रहस्यकै देश हो यो
सिमसिम सिमसिम खुल्जा
अलिबाबा र चालिस चोरको कहानी जस्तो
कहिले चालिसेले लुटे
कलिहे चालिसलाई मारेर अलिबाबाले लुट्यो
अनेकौं तथ्यहरु गुप्त रहनसक्ने
तिलस्मी देश हो यो
सिकार खेल्दा जंगेलाई
सेतो बाघले मार्‍यो
र पनि आजसम्म सनाखत भएन
होनहार तीन छोरीहरु मारिए
नमिता, सुनिता र मिरा
देख्ने जान्ने चुडामणि मारिए
र पनि रहस्यहरु सेतीको अँध्यारो गल्छिमा
बिलुप भए सधै सधैका लागि ।

एक होनहार संगीत
पर्वीण गुरुङ्ग मारिए
उदाउँदा दुई नक्षेत्र मारिए
सबुत प्रमाणहरु दासढुङ्गा मै दफन भए
सिङ्गो बंशनास भयो
अटल, अजर, अमर राजपरिवारको
जोडित् सबुत प्रमाणहरु
स्वस्ती, दन्डवत र दाम चढाई संगै दफन भए ।

यो पनि हुनसक्छ
निर्मला नामकी कुनै बालिका नै थिइनन्
सम्भव यो पनि हुनसक्छ
पन्त परिवारको आजको यो उद्बेग र छट्पटाहट
नाट्यमन्चको कुनै दुखान्त दृश्य हो
यो पनि हुनसक्छ
उखु बारीको त्यो बिद्रुप परिदृश्य
हलिउड, बलिउड वा कलिउडको ब्यानरमा निर्मित
कुनै जासुसी सिनेमाको भयंकर सिन ।

समयक्रममा
भिमदत्त भित्रको यो सानो गाउँ कोल्टी
कोल्टी कोल्टी नरहेर
डरलाग्दो अजिङ्गर बन्ने छ
कहानी बन्दै बनाउँदै
निर्मला हुन् या होइनन्
होइनन् वा हुन्
थिइन वा थिइनन्
थिइन त कहाँ र किन थिइन
थिइनन् त कसरी यो सानो कोल्टीलाई
यति साह्रो रुवाउन पुगिन् ?
सायद थिइनन्
यदि थिइन र मारिएको भए
किन र कसरी मारिइन् ?

कालान्तरमा
भनौं पुस्तौं पुस्ता पछि
देशबासीहरु
सुदुर पश्चिमको देशाटनमा जाँदा
कोल्टीको बाटो काट्दा
एकपटक झसङ्ग हुनेछन् र
मनलाई सान्त्वना दिनेछन्
सायद निर्मला थिइनन्
र त उनलाई कसैले पनि मारेको थिएन ।

सर्जक: दिपक विश्वकर्मा

१६ असोज,२०७५ बुटवल ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button