कला साहित्य

मुर्दाहरु…

के लेखूँ आमा
देश नै मसानघाट बनेको बेला !

जलिरहेछन आवाजहरू
डढिरहेछन अक्षरहरू
घोंचिदै छ न्यायलाई हरियो बाँसले
सेलाउने तयारी गरिंदैछ अधिकारको अस्तु बाग्मतीमा !

भन के लेखूँ आमा
देश नै मसानघाट बनेको बेला !

लुगा लाएका जस्ता देखिने नाङगा मानिसहरू
सास चलेका जस्ता लाग्ने निर्जीव शरीरहरू
लाज ढाकेको अभिनय गर्ने निर्लज्ज अंगहरू
सबका सब मुर्दा भएको बेला !

भन के लेखूँ आमा
देश नै मसानघाट बनेको बेला !

कुनै दिन एउटा आस्थाको धरोहर
कालकोठरी भित्रै सेरिनु अघि
खबर फैलाएथे मुर्दाहरूले-
‘तेरो आधा अंगलाई
मुर्दा बनाउनु अघि नै नङग्याउँदै छम’ भनी !
पछि खबर लेखेथे तिनैले-
‘भिमकाय स्तम्भ लाई ढाली मुर्दा बनाइयो’ भनी !
मुर्दाहरुले लेखेको खबर इतिहास बन्यो
मुर्दाहरुले नै पढाए
मुर्दाहरूले नै पढे !
पढिरहेछन र पढिरहनेछन-
अचम्म माने झैं गर्दै,
कत्ति पनि अचम्म नमानी !

अर्को भरोसा खस्दा त्रिशूलीमा
पुन: सल्बलाए मुर्दाहरू
सेतो-कालो भेषमा !
हिमाल-पहाड-मधेशमा !
तर्साई-तर्साइ पर्वत चढे
ललाई-फकाई हिमाल उक्लिए

आरोहण गरे शिखरमा !
हेर त आमा,
शीरमा सेता देखिने सगरमाथा र कन्चनजंघा
छातीमा मुर्दा मुटुहरू बोकी बसिरहेछन गजक्क !

एउटा हरियो वन फाँडियो रातारात
मेसिन गन चलाएर !
न त्यो वनले कसैका घरमा पसी घोंचेको थियो !
न त्यो बनमा बस्नेले
कसैका गोठमा पसी बस्तुभाऊ खोसेको थियो !
गर्मी हुँदा सुस्ताउन मिल्ने
झरी पर्दा ओत लाउन मिल्ने
सुन्दर बनलाई उजाडियो-
मुर्दालय बनाउने गुरुयोजनामा !

परेवाहरूले केश मुण्डन गरे
गौंथलीहरू परदेश बसाइ सरे
गिद्दहरू गेट-पाले बने
कुकुरहरूले आफूलाई कारिन्दा भने !
अचेल पशुपतिमा बज्ने घन्टीको
प्रत्येक आवाजले भनिरहन्छ-
‘मुर्दाहरू नै मुर्दालय हेर्न टिकट काटेर जान्छन,अचम्म’ !

कलिलो योनी निमोठियो उँखुबारीमा
मुर्दाहरू आफै पुगे लाश उठाउन !
राखेर लाशलाई बिचमा
धुनी जगाइरहे कुनै अघोरीले झैं !
छामेर टालिएका आँखा र कानहरू
देखेर जताततै मसान नै मसानहरू
खुसी मनाए,उन्मादले कराए-चिच्याए-रमाए !
दलील एउटै थियो उनीहरूको-
‘मुर्दाहरूको साम्राज्यमा
नयाँ पुस्ताको पनि आगमन भयो !’

मूला काटे झैं मानिस काटियो
मानिस उखेले झै मूला उँखेलियो
-खेतबारीहरू मसानघाट बने !

‘सिस्टम’ र ‘जस्टिस’ झोलामा सारियो
माछा झैं क्याल क्याल मानिसहरूलाई पारियो
-गाऊँ-बस्तीहरू मसानघाट बने !

देश दोहियो, मस्तीको मही मथियो
घिऊ जति खाएर पिएर
बँचेकोलाई टाङ मुनि दलियो !
जाली कागजहरूको जग हाली
सहरहरू निर्माण गरियो !
समाते पछि मुर्दाहरूले
कुर्शी,कलम र तराजुहरू..
सहरहरू पनि मसानघाट बने !

भर्खर त रातो क्षितिजमा
बल्दै थियो एउटा आसाको दीप !
त्यसैमा पनि उठ्याएर खन्याइयो
साउने गन्डकीलाई सग्लै !
निभाइयो रोशनी सदालाई !
भन त आमा..
अँध्यारो भुगोलमा
को हिंड्छन, को डुल्छन
को किच्किन्छन, को हाँस्छन
को बस्छन, को बाँच्छन !
त्यो पनि अब मै मुर्दाले बताऊँ तिमीलाई ??!!

✍️हेमन्त गिरी,
टोकियो

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button