कला साहित्य

कविता: सहिदका सपना

नवीन थापा क्षेत्री :
उज्यालो धर्ती र हँसिला मुस्कानहरू प्राप्त गर्ने अभिलाषामा,
आफ्ना खुशी र चाहनाहरू बन्धकी राख्यौँ,
अनि अन्धकार ल्याउने काला रातहरूको पहिचान गर्दैँ,
युद्ध मोर्चाहरूमा सामेल भयौँ,
रहर त कहाँ थियो र तिमीलाई?
परिवारको भविष्य जोखिममा राखेर हिड्न,
सामिप्यता र मायाबाट मुटुका टुक्राहरूलाई पर राख्न,
अनि अर्धाङ्गिनीको न्यानो आलिङ्गनबाट पर भाग्न,
देशको उज्ज्वल भविष्य बनाउने अभिलाषामा,
नचाहदा नचाहदै आफ्नै भविष्य भुल्न विवश भएकै हो,
लाग्थ्यो सिटामोल र जीवनजल नपाउने आँतहरूमा,
धर्तीमा खसेका बुँदबुँद रगतहरूका बदलाले भरिनेछन,
अनि कुपोषणग्रस्त शरीरहरूमा अन्नका दानाहरू सञ्चारित हुनेछन,
नाङ्गा आङहरू न त घामले पोल्नेछ न त जाडोले ककृनेछ,
तर कैयौँ व्यवस्था बदलिए बदलिएन आम मान्छेहरूको जीवन,
परिवर्तन त केवल सैनिकहरूलाई टुडिखेलमा परेड खेलाउन आएछ,
कालाबजारी र माफियालाई सत्ताको वरिपरि राख्न आएछ,
ठेकेदार,गुन्डा र अपराधीलाई नेता बनाउन आएछ,
आफ्ना कुर्सीमाथी शहीदका फोटा राखेर,
बलिदानीको उपहास गर्न आएछ,
शहीदका रगतमा टेकेर उभिएकाहरूले,
रगतको मूल्य नबुझेको देखेर होला,
कहिलेकाहीँ आकाश मेघ बनेर गर्जिदैँ,
वर्षारूपी आँशुको भेलले चेतावनी दिदैछ,
सिञ्चित रगतको भार थाम्न नसकेर,
पहाडहरू पहिरो बन्दै आक्रोशित हुँदैछन,
हे!शासकहरू तिम्रो यो अकर्मण्यता,
विकास ,न्याय,परिवर्तन र समानताको विरुद्धमा हो भने,
जनतामा छाएको यो निरासा,
मौन यो परिवेश,
आँधी,हुरी आउनु पूर्वको हो,
तिम्रा स्वार्थ,अकर्मण्यता त्यो आँधी,हुरीले उडाइदिनेछ,
अनि मात्र यो देश चलाउने माझीहरूले ,
यो देशलाई डुब्नबाट बचाउनेछन।

    मच्छिन्द्र उच्च माध्यमिक बिधालय, मोरङ्गमा अध्यापन गराऊंदै आऊनुभएका क्षेत्री साहित्यतर्फ पनि उत्तिकै रुचि राख्नुहुन्छ।
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button