विशेष

मेरो पाँचौँ जन्मदिनसम्म आइपुग्दा- (संविधानको आत्मपरक कहानी)

आज संविधान दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामनासहित यो विशेष सामाग्री । संविधानको मानविकरण गरेर पस्किने जमर्को जागरण पोस्टले गरेको छ ।

सन्दीप थापा :
आज असोज ३ गते,अर्थात मेरो पाँचौँ जन्मदिन। म अर्थात तपाईंहरूको मुटुको ढुकढुकी। आम नेपालीहरूको प्राण र सास, सबैको आशाको उषाकिरण, चार वर्ष पुगिसकेछ म जन्मिएको। भुकम्प आउने साल रे मेरो यस धरातलमा तामझामका साथ अवतरण भएको। तर नजन्मिदै मेरो न्वारन गरिईसकेको रहेछ। अझ यसो भनौँ, छोरो पाउने कहिले हो कहिले,भोटो सिलाउने अहिले भनेझैँ म जन्मिनुभन्दा कैयौँ वर्षअंघाढिदेखी नै मेरो नामाकारण गरिईसकेको थियो। थर चाहीँ म जन्मिएको साललाई मानिने सहमती गरिसकेका रहेछन् मलाई जन्माउन कोसिस गर्नेहरूले। अरु त नौ महिनामै जन्मिन्छन् तर म कहाँ नौ महिनामा जन्मिनु? एक्काइस महिना गर्भभित्र बस्नुपर्यो। अन्य जननीहरूले बयस्क उमेरमै सन्तानोत्पादन गर्छन् तर अपबादमा परिन् मेरि माताश्री । मेरी आमा प्रजातन्त्रले मलाई आफु बुढि भएपछी मात्र जन्माइन् । मलाई जन्माउदा मेरी जननी प्रजातन्त्रको उमेर ६५ वर्ष पुगिसकेको थियो ।

अरु त एकल प्रक्रियाबाट जन्मिन्छन तर म भने समुहबाट जन्मिएँ। अरु दुई जनाको समागमबाट जन्मिन्छन् तर मलाई जन्माउन ६०१ जनाले कम्मर कस्नुपर्यो। एकैचोटीमा त के सक्थे र मलाई धर्तीको मुख देखाउन दुई-दुई चोटी कोसिस गर्नुपर्यो । चौसठ्ठी सालमै गर्भिणी भएकी थिईन् रे मेरी आमा, तर उनको गर्भलाई षड्यन्त्रपूर्वक लात्तीले हानेर २०६९ जेठ १४ गते राती बाह्रबजे तुहाइएछ । सायद त्यतिखेर मेरो दाजु तुहियो, नत्र म कहाँ जन्मिन पाउनु। एउटा सन्तान तुहिएर के भो र? हाम्रा बाहरू थाकेका थिएनन् । मलाई जन्माउने धोको थियो सबैको। सबैले नै म नजन्मिएसम्म परिवर्तन नहुने महसुस गरेका रहेछन्। त्यसैले फेरि मलाई जन्माउनका लागी २०७० मङ्सिर ४ मा पुन गर्भवती बनाइयो मेरी आमा- प्रजातन्त्रलाई । राणाशाहीहरूको सौता बनेर भित्रिएकि उनले धन्न आफुमाथी पनि सौता बेहोर्नुपरेन सन्तान नजन्माएको बाहनामा। अहिले पनि तिनै ६०१ नै कम्मर कसेका थिए तर केही फरक अनुहारसहित। सायद त्यही फरक अनुहारका बिजहरूले मेरी आमा प्रजातन्त्रको कोखभित्रको पाठेघरमा हुर्केको भ्रुण “म”लाई दाजुको तुलनामा बिकसित गरेको हुनुपर्छ । त्यसैले त दाजु चार वर्षसम्म आमाको पेटभित्र रहेर पनि जन्मिन पाएन। सुसारेहरूको भकुराभकुरमा मेरो आमाकै पेटमा लात्ती बजारियो। जन्मिन नपाएको गर्भभित्रको मेरो दाजु त्यही कलहको शिकारमा तुहिएर मर्न पर्यो । तर म चाहिँ अलि बिकसित अणुहरूको समिश्रण थिएँ कि? त्यसैले त जन्मिन पाएँ।

मेरी आमा गर्भवती भएको डेढ वर्ष बित्न नपाउँदै धर्ती नै हल्लियो रे। देश नै पिङ मच्चिएजस्तै मच्चिएछ । कैयौँ गर्भवती आमाहरू आफ्नो कोखभित्र हुर्किईरहेको सन्ततीलाई धर्तीको मुख देखाउन नपाउदै यमराजको आहार भए । कतिपयको हालत मेरो दाजुलाई जन्माउन नसकेकी चारवर्षअघीकि आमाकैजस्तो पनि भएछ । तर मेरी आमा झन तङ्ग्रिईन्। धर्तीले ‌आमाको पाठेघरभित्र हुर्किईसकेको मसहित मेरी आमाको जग हल्लायो । तर म झन त्यो पिङमा मच्चिने मौका पाएर होला थप चञ्चल हुने मौका पाएँ । बिकसित हुने क्षेत्र भेट्टाएँ । मलाई के कसरी जन्माउने, कस्तो तरहले सुसार गर्ने भनेर आपसमा बाझाबाझ गरिरहेका मेरी आमाका ६०१ सुसारेहरूलाई पनि एकापसमा मिलाइदिएछ भुकम्पले । र त उनीहरूले आआफ्ना गोरुहरू जुधाउनभन्दा छिटोभन्दा छिटो मलाई सकुशल धर्तीमा अवतरण गराउनेतर्फ सोँचे । मेरो गोरूको बार्है टक्का भनेर पूर्व र पश्चिमपट्टि फर्किएका दाजुभाईहरू मिले। एकले अर्कालाई सौतासौतीको जस्तो ब्यवहार देखाएका धाईहरू पनि एउटै आमाले जन्माएका छोरीहरूजस्तै गरे । सबैको ध्यान मलाई सकुशल जन्माउने नै थियो।

म जन्मिने खबरले दिल्लीको दरबारलाई पनि झस्काएछ । हतारहतार मेरी आमाको डेलिभरी डेट दुई हप्ता जति पछाडी सार्न भनेर दिल्लीबाट बिदेशबिभाग प्रमुख भुरुर्र नेपालतर्फ पँखेटा फिँजारेर उड्नुपर्यो । तैपनि उनको उडानले थकान सिवाय केही भेटाएन। २०७२ असोज तीन गते बेलुकी मलाई प्रजातन्त्रको गर्भबाट नेपालमा अवतरण गराइयो । दुलही झैं सिंगारिएको अस्पताल संविधानसभा भवन नयाँ बानेश्वरमा विधिवत रुपमा बेलुकी ५:५६ मा डाक्टर रामवरण यादबले माता प्रजातन्त्रको कोखको सफल सल्यक्रिया गरे । म जन्मिएको अवसरमा हजुरबुबा हजुरआमा , काका , काकिहरूले देशभरी हर्ष बढ्याईँ गर्न निर्देशन दिएछन् । जताततै झिलिमिली पारिएछ, देशभरी नै दिपावली गरिएछ, दसैँ नआउँदै तिहार आएछ । जिन्दावादका देउँसी र भैलो घन्काइएछ । तर मेरी माताका सुसारे र धाईहरूमध्य जम्मा ५३७ धाई तथा सुसारेहरूले मात्र मेरो जन्मोत्सबलाई अनुमोदन गरे। अरुले चाहिं मलाई अपुर्णताको बिल्ला भिडाइदिए र मेरो जन्मलाई कालो दिन पनि भन्न पछाडी परेका छैनन् अझै पनि ।

नेपालमा मेरो पदार्पण भएको पनि आज चार वर्ष पुरा पुग्यो । पाँचौ जन्मोत्सब पनि भब्यताका साथ मनाइरहेका छन् । म आएपछि जताततै धान फलाउने आसले बसेका खेतहरू चाहिँ झनझन बाँझै देखिदै छन् । म जन्मिएसंगै मेरा अङ्गहरू बिकसित हुँदै छन् । ९ ओटा प्रणालीहरूको समिश्रण मेरो देह, ३५ ओटा भाग र ३०८ ओटा हड्डीहरूको सहायताले मैले जति सक्दो यत्न प्रयत्न गरेर आफुलाई बलियो पार्न खोजिरहेको छु। तर म मेरा अभिभावक बाटै कमजोर बन्दैछु ।

नजन्मिदै मेरो न्वारन गरिईसकेको रहेछ । अझ यसो भनौँ छोरो पाउने कहिले हो कहिले, भोटो सिलाउने अहिले भनेझैँ म जन्मिनुभन्दा कैयौँ वर्षअगाडीदेखी नै मेरो नामाकारण गरिईसकेको थियो । थर चाहीँ म जन्मिएको साललाई मानिने सहमती गरिसकेका रहेछन् मलाई जन्माउन कोसिस गर्नेहरूले । “नेपालको संविधान २०७२” मेरो पुरा नाम। तर मेरो परिचयका निम्ति यत्तिमात्र प्रयाप्त थिएन ।

मेरा अन्य सात अङ्गहरू मिलेर बनेको सङ्घिय प्रणालीको नामांकन गर्ने, मेरा अभिभावकहरू परिवर्तन गर्ने लगायतका लक्ष्यसहित निर्वाचन भयो । तर महत्वपुर्ण सङ्घिय प्रणालीका जम्मा तीन अङ्गहरूले मात्र नाम पाएका छन् । अरु सबै अनामिक । बेनामी । नजन्मिदै नाम तय भएको मेरो महत्वपुर्ण अङ्गहरूको नाम भने म चार वर्ष भैसक्दा पनि तोक्न सकेका छैनन् मेरा न्वारनकर्ताहरूले ।

मेरो अस्तित्वसंगै जोडिएका प्रदेश प्रणालीभित्रका कतिपय अङ्गहरूले मेरो अस्तित्वलाई नै चुनौती दिन खोज्छन् । मेरै कारण आफ्नो बेग्लै पहिचान पाउनेहरूले पनि मलाई अपाङ्ग भएको बताउँछन् । मेरो जन्म भएको चार महिना छ दिन पछाडी नै पहिलोपटक सफल सल्यक्रिया गरियो । तर सबै अङ्गहरू अझै सन्तुष्ट छैनन् । मेरो शरिरका सबै कोष र तन्तुहरू पुर्ण बिकसित अवस्थामा छैनन् । र त मलाई कमजोर बनाउन रक्तसञ्चार प्रक्रियालाई नै बन्द गर्ने चुनौती दिइरहेछन् । त्यसो त म जन्मिएदेखी मलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा पाउन सकेको होईन । आफ्नो ईशाराअनुसार सुत्केरी नगराईएको झोँकमा म जन्मिएको चार दिनदेखी नै बलिया छिमेकीले हाम्रो घरको बाटो नै बन्द गरिदिए । नुन , तेल चामल, दाल आउने बाटो नै ठप्प । बिचरी मेरी आमाले प्रयाप्त पौष्टिक तत्व नपाएपछी मैले कसरी पर्याप्त पोषण र खोप पाउनु । त्यसैले त अहिलेसम्म मेरा अङ्गहरूले राम्ररी काम गर्न नसकेका । मेरो शरिरको सबैभन्दा महत्वपुर्ण प्रणाली, सङ्घिय प्रणालीका चार अङ्गहरू अझै पनि बेनामी बनेका।

अहिले मेरो सुरक्षाका लागी प्रत्येक कोषिकाहरूमा रहेका संरक्षकहरूको गद्दारीका कारण पुर्वबाल्यअवस्थामा मेरो जुन गतीमा बिकास हुनुपर्ने हो सो हुन सकेको ‌छैन । मेरा अभिभावकहरूले मेरो मर्मअनुसार काम गर्नुभन्दा पनि चुट्किला मात्र सुनाउँदा भुकम्प गएको साल जन्मिएको मेरो धरातलिय जग भुकम्प प्रतिरोधी नबन्ने त होईन भन्ने त्रास ब्याप्त छ । मलाई हेप्नेहरूले, मेरो अस्तित्वलाई अस्विकार गर्नेहरूले मेरो जन्मदिनमा कालो दिन मनाउदै छन् । उनीहरूलाई मेरो महत्व बुझाउन नसके ममाथी आक्रमण हुन के बेर? मेरी आमाले एउटा सन्तान समेत जन्माउन नसकेको आरोपमा खेप्नुपरेको लाञ्छना, ६५ वर्षको उमेरमा कठोर प्रसवता सहेर मलाइ जन्माएको पिडाको आर्तनाद, सबैको मूल्य आखीर मै त हुँ । त्यसैले मेरो जीवनको चिन्ता गर्ने मेरा अभिभावकहरूलाई विशेष आग्रह, कृपयाँ मलाई उचित पौष्टिकता चाहिएको छ । मलाई हुर्काउने कानुन तर्जुमा र कार्यन्वेयनमा बिलंबता नगर्नुहोस् । मेरा परम आदरणीय संरक्षक र सुसारेहरू, मेरा अङ्गहरू अप्रेसन गरेरै भएपनि निको बनाइदिनोस्, ताकि मलाई कसैले अपुर्ण नभनुन्, मेरो जन्मदिनमा कसैले कालो दिन नमनाउन् ।

भर्खर ताते गर्दै गरेको मलाई अहिले राम्रोसंग हुर्काउनुहोस्, बढाउनुहोस्, पछि म आफै असल अभिभावकत्व चयन गर्न सक्ने हुनेछु । मेरा अबिकसित अङ्गहरूको तिब्र वृद्दी र बिकास गर्न आवश्यक मौसम मिलाइदिनुहोस् । तपाइँहरूको असल संरक्षकत्वको अभावमा म रोगी हुन सक्छु। जताततै फैलिएको डेङ्गुले मलाई पनि त समात्न सक्छ त्यसैले मलाई उचित वातावरण र मलजल चाहिएको छ । काकाहरूको घरझगडाले मलाई कमजोर बनाउँदै छ । तपाइँहरूको भकुराभकुरमा परेर कतिपयले मलाई जलाइरहेका छन् । त्यो तापले डढेको मेरो शरिर भतभती पोलिरहन्छ ।

जताततै मेरै चर्चा छ । कतिपय हर्षले हुरुक्कै, कसैको फर्माइस पुरा भएकाले फुरुक्कै, कोही जुर्मुराउँदै उचालिइरहेछन् जुरुक्कै, कोही उन्मत्त भएर उफ्रिदै छन् बुरुक्कै । तर कतिपय भने डरले हायलकायल, मसंग हावाकावा हुँदै तर्सेर तुरुक्कै । कतिपयले मेरो असफलताको दिनगन्ती सुरु भएको कुरा चिया पसलदेखी चौतारीसम्म, भतेरदेखी भट्टीसम्म गरिरहन्छन् ।

म सबै कुरा सुनेर पनि केही गर्न सक्दिन । सबको चाँजोपाँजो मिलाउने जिम्मा तपाइँकै हो । मलाई जन्मदिनमा शुभकामना होईन , सही संरक्षकत्व दिनुहोस्। यति भए मेरो अनुहार उज्यालो हुनेछ । कालो दिन मनाउनेहरूलाई पनि मेरो महत्व बुझाइदिनुहोस् ।

मेरो छैटौँ जन्मोत्सबमा मसंग कोही पनि नरिसाओस्,मलाई यहिं आशिर्वाद चाहिएको छ।

आज यत्ति नै। बाँकी कथा फेरी अर्कोबर्ष गरौँला । तपाइँहरूको आशाको केन्द्रबिन्दुको दियो लामोसमयसम्म बलिरहोस् भन्ने चाहानेहरूले यो मेरो विशेष आग्रह सामाजिक सञ्जालमार्फत् सबैसमक्ष सेयर गरिदिनुहोला।

तपाइँ सम्पूर्णको ढुकढुकी
नामः नेपालको संविधान
थर: २०७२

सन्दीप थापा क्षेत्री

जागरणपोस्टका पाल्पा प्रतिनिधी सन्दीप थापा ले समसामयिक सामाजिक आर्थिक र राजनैतिक विषयहरूमा समेत कलम चलाउँछन् ।
लेखकलाई फेसबुक ट्विटर मा भेट्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्ः

लेखकबाट थप

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button