अन्तर्वार्ताव्यक्ति बिशेष

सफलताका निम्ती: न जातले छेक्यो, न त अपाङ्गता नै बाधक बन्यो

सन्दीप थापा ,
पाल्पा पुर्वखोला गाउँपालिका १ सिलुवामा दलित परिवारमा २६ वर्षअघी जन्मिएका दृष्टिविहिन गणेश बिक जीवनलाई अर्थपुर्ण बनाउने महासङ्ग्राममा भाग लिएका जीवनयोद्दाहरूमध्य एक हुन् । जीवनका आरोह अबरोहलाई छिचोल्दै जीवनको यात्रा गरिरहनका निम्ती आवश्यक सङ्घर्ष गर्ने एक प्रतिनिधीमुलक पात्र हुन् उनी ।
हाल शिक्षक सेवा आयोगद्वारा सार्वजनिक प्रार्थमिक तहको पाल्पा जिल्लाको शिक्षक सेवा आयोगको नतिजामा खुल्ला तर्फ नाम निकाली स्थायी शिक्षकको रुपमा आफुलाई उभ्याउन सफल गणेश जन्मजात दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति हुन् । हाल दमकडा नमुना माध्यमिक विद्यालयमा शिक्षण गरिरहेका उनीसंग हालसम्म आइपुग्दा अनेक तितामिठा अनुभवहरू छन् ।
तत्कालिन सामाजिक परिस्थितीमा चेतनाको बिस्तारले ब्यापकता प्राप्त नगरिसकेको अवस्थामा ग्रामिण भेगमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो थिएन । त्यसमाथी जातिय बिभेदले जरो गाडेको समाजमा हुर्किएर सबैलाई चुनौती दिँदै जीवननौकालाई निपुर्णताका साथ खियाउँदै जिन्दगीको महासागर पार गर्नु चुनौतिपुर्ण रहेको उनी बताउँछन् ।
“तुलनात्मक रुपमा केही पिछोडिएको भेग पुर्वी पाल्पाको ग्रामीण ईलाकामा हुर्किएँ” उनी बिगतलाई सम्झँदै भन्छन् “दलित समुदायमा दृष्टिविहिन भएर जन्मिएको थिएँ, त्यसैले प्रगति गर्न त्यति सजिलो थिएन। तर परिवारको हौसला र बाबाममीको आफुहरूले नपढे पनि सन्ततीलाई अनपढ राख्नु हुदैन, जसरी पनि पढाउनुपर्छ भन्ने सोँचले मात्र पढ्न पाइएको हो ।“
गणेशका दाई तोया बिक पनि दृष्टिविहिन हुन्। सङ्गीतमा रुची रहेका तोयाले समेत जिल्लाबाट अपाङ्गता कोटामा प्रावि स्थायी शिक्षकमा नाम निकालेका छन् । गणेश बिगतलाई संझिदै भन्छन् “त्यति बेला अपाङ्गता भएका व्यक्तीहरूलाई समाजले बोझको रुपमा हेर्थ्यो, हामीहरूले पनि पढ्न सक्छौँ भन्ने चेतना गाउँस्तरमा पुगेको थिएन । पछि बुझ्दै जाँदा दमकडामा दृष्टिविहिन विद्यार्थीहरूलाई पढाइन्छ भन्ने कुरा थहा पाएर बाबाले हामीहरूलाई दमकडा ल्याएर भर्ना गर्नुभयो, ढिलै भए पनि शिक्षाको अबसर पाईयो।“प्रार्थमिक तहको शिक्षा गाउँकै जनहित प्रार्थमिक विद्यालयबाट पुरा गरेका गणेशले माध्यमिक तहसम्मको शिक्षा भने अन्य दृष्टिविहिनहरूसंगै बसेर दमकडा मावि बाट प्राप्त गर्ने अबसर पाए ।
विद्यालय शिक्षा आर्जन गर्ने क्रममा संगालेका अनुभवहरूलाई बटुल्दै उनी भन्छन्, “दलित समुदाय पिछोडिएको समुदाय भएर पनि हुनुपर्छ, हामी बाल्यावस्थामा हुँदा हामीलाई पढ्नुपर्छ लेख्नुपर्छ भनेर कसैले पनि राम्रोसंग सम्झाएनन्, खेल्ने डुल्ने र उत्पट्याङ गर्ने कार्य नै बढी सिकियो, ।“
कमजोर दृष्टिका बावजुत विद्यालय जान रहर लागेकाले उनी विद्यालय जान्थे। यद्यपी उनीहरूले पढेको कतिपयले पचाउँदैनथे। हौसला बढाउनुको सट्टा गाउँलेहरूले अनेकौँ नकारात्मक कुरा गरेर मनोबल गिराइदिने गरेको उनले गुनासो गरे। गाउँका बुद्दीजिवीहरूले नै आफ्नो दृष्टिविहिनतका कारण अनेकौँ दुर्व्यवहार गरेको सम्झिँदै गणेश भन्छन्, “गाउँका ठुलाठालु बुझ्रुक बर्गबाट त्यति सहयोग थिएन, तँ नदेख्नेले पढेर के हुन्छ?”, त्यतिकै झोला बोकेर विद्यालय गएर के गर्छस् भनेर हप्काएको उनी स्मरण गर्छन् ।
अपाङ्गताकै कारण उनीहरूमाथी आफन्तहरूको दृष्टिकोण पनि त्यति राम्रो थिएन । , पारिवारिक निकटता प्रगाढ भएका व्यक्तिहरूले उनीहरूको अपाङ्गताप्रति गरेको तितो व्यवहार अहिलेसम्म पनि भुल्न नसकेको उनी बताउँछन्। आफन्तहरूले गरेको असहिष्णु व्वहारलाई स्मरण गर्न जागरण पोस्टले गरेको आग्रहमा उनी भन्छन् “, “म त्यस्तै तीन चार कक्षामा पढ्थेँ परिवार संयुक्त थियो। धेरै जना हुन्थ्यौँ , बुबाले कृषीकर्म गर्नुहुन्थ्यो, परिवारको आर्थिक स्थिती कमजोर थियो । पाँच जना दाजुभाइ, दुइ दिदिहरू, पालनपोषणमा पिताजीलाई निकै गार्हो हुन्थ्यो, सबैका आवश्यकताहरू पुर्ती गर्न सजिलो थिएन , मेरा ठुलोबुबाले कहिलेकाहीँ भन्नुहुन्थ्यो यिनिहरू उसिनेका ऋण हुन्, पापी हुन्, उनीहरूलाई धेरै रुपैँया गनेर दक्षिणाको रुपमा दिने हो भने बाटो खाली हुन्छ, मर्छन् अनि बोझ कम हुन्छ “।
बिगतको स्मृतिपटललाई पल्टाउँदापल्टाउँदै भाबुक अनुहार पारेका गणेशले फेरी भने “ठुलोबुबाले बेलाबेलामा सबैको मुटुमा चिसिक्क सियोले घोँच्ने गरि बाबालाई भन्नुहुन्थ्यो, तेरा छोराहरू अन्धा छन्, के गर्छन् यिनीहरूले, के छ र तेरो सम्पती , “। आफुहरूको कुरालाई लिएर यसरी इस्टमित्रबाटै नकारात्मक कुरा हुँदा त्यतिखेरको बाल्यावस्थामा निकै नरमाइलो लाग्ने गरेको उनी बताउँछन् ।
शिक्षाआर्जनसंगै उनको जीवनशैली फेरियो, बिस्तारै समाजले पनि बुझ्दै गयो, चेतनाको बिस्तारमा उनी आफै खटिए । अपाङ्गता भएका व्यक्तीहरूप्रतिको नकारात्मक सामाजिक दृष्टिकोण हटाउन राम्रो गाउँ उत्थान अपाङ्गता समितीको गठन गरी आफ्नो गाउँ र वरपरका अपाङ्गता भएका अन्य ब्यक्तीहरूको सशक्तिकरण र शिक्षामा पहल गरेको उनले बताउँछन् । गाउँलेहरूको पुरानो रुढिबादी परम्परा र अन्धविश्वाँसी धारणालाई परिवर्तन गर्न पाल्पा सिबिआरमा रही कार्य गरेपश्चात समाजको हेराईमा बदलाव आएकोमा उनी प्रफुल्ल देखिन्छन् ।
पहिला अनेकौँ हन्डर र ठक्कर खाँदै सङ्घर्ष गरेकैले अहिले उनी र उनका दाई तोया बिक पुर्वखोला गाउँपालिका १ साविकको सिलुवा गाबिसको क्षेत्रमा दलित समुदायको तर्फबाट स्थायी रुपमा जागीर खाने पहिलो ब्यक्ति भएका छन् । त्यतिखेर हेय भाव प्रकट गर्नेले अहिले उनीहरूको मुग्ध कण्ठले प्रशंसा गर्छन् । तुलनात्मक रुपमा राज्यका निकायहरूमा पिछोडिएको बर्ग दलित समुदायको प्रतिनिधित्व गर्दै खुल्ला प्रतिस्पर्धाबाट अन्य गैरदलित साङ्ग ब्यक्तीसरह सफलता हाँसिल गरेकोमा उनी खुसी देखिन्छन् । यो सफलतालाई उनी एउटा सानो खुड्किलो मात्र ठान्छन्। “जिन्दगीमा अझै धेरै प्रगती गर्न बाँकि रहेको उनको भनाई छ। । दृढ सङ्कल्प र इच्छाशक्ती भए प्रगतीका निम्ती जात र अपाङ्गता बाधक नबन्ने उनी बताउँछन् ।
समाज परिवर्तन भए पनि सामाजिक दृष्टिकोणमा अझै पनि अपाङ्गता भएका व्यक्तीहरूप्रति हेरिने दृष्टिकोणमा सतही रुपमा मात्र परिवर्तन आएकोमा उनी सन्तुष्ट छैनन्। आमुल परिवर्तन नआएकोले अपाङ्गता भएका व्यक्तिहरूप्रतिको सामाजिक बिभेदको स्वरुप अझै अन्त्य हुन सकेको छैन।

विशेषत सम्बन्धका विषयमा सामाजिक दृष्टिकोण अझै पुरातनबादी पाउँछन् उनी। । “माया प्रेम र सम्बन्धमा जात हेरिदैन, व्यक्तिको शारिरिक बनावट, स्वरुप र संरचना हेरिदैन, मन र ब्यवहार हेरिन्छ, तर समाजले एउटा सवलाङ्ग र अर्को अपाङ्गता भएको व्यक्तिबिचको प्रेमलाई स्विकार्दैन, दुर्भाग्य त यो छ कि सपाङ्ग र अपाङ्गबिच विबहा सम्बन्ध कायम गर्ने सवालमा समाज बाधक बन्छ”। बिडम्बनापुर्ण भावमा उनी भन्छन् “समाजले सपाङ्ग र अपाङ्गता भएका ब्यक्तिबिच वैवाहिक सम्बन्ध कायम भएको स्थितीमा कुरा काट्छ, कोही नपाएर यस्तीलाई ल्याएछ फलानाले वा ढिस्कानो यस्तो अपाङ्गसंग गईछे भनेर गफगर्ने मरमसला बन्छ कुरौटेहरूलाई ”। मिलेको जोडीलाई पनि बिभिन्न सड्यन्त्र गरेर समाजले छुटाइदिन खोज्ने गरेको प्रति दुख ब्यक्त गर्दै उनले सामाजिक स्तरमा अपाङ्गता भएका व्यक्तिहरूप्रतिको भेदभावपुर्ण दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए। शिक्षाको बिकास र चेतनाको बिस्तारसंगै अपाङ्गता भएका ब्यक्तिहरूलाई धर्तीका बोझको रुपमा नियाल्ने, अन्नको नाश गर्नकै निम्ती जन्मिएको ठान्ने कुधारणामा ब्यापक परिवर्तन आएता पनि समान अवसर र व्यबहारजन्य पक्षहरूमा परिवर्तन आउन नसकेको उनले दुखेसो गरे।

पुस्ता हस्तान्त्रण र उदार मानसिकता एवं चेतनाको उच्चतम बिकाससंगै जातिय बिभेद तथा छुवाछुत जन्य प्रथामा कमी आएको उनी बताउँछन्। सोँचाईमा समयानुकुल आएको परिवर्तनसंगै कुप्रथाहरू निमिट्यान्न हुँदै जाने उनको बुझाई छ। जातिय बिभेद बिरुद्द डटेर लाग्नुपर्नेमा उनले जोड दिए। जातिय विभेद निर्मुलिकरण गर्नेसम्बन्धी हाम्रो जिज्ञासामा उनी फेरी बिगततर्फ फर्किए । “गाउँकै प्रार्थमिक विद्यालय पढ्दाको कुरो, विद्यालयबाट फर्कनेक्रममा तिर्खा लागेकोले विद्यालय नजिकैको घरमा गई पानी खान मागेँ। आँखाले त्यति मेसो नपउने भएकाले अम्खरा छोईएछ । दरो गाली गर्नुभयो, तथानाम भन्नुभयो। त्यतिखेर त केही जवाफ दिइन , तर यसको प्रभाव भने मानस्पटलमा निकै नराम्रोसंग पर्यो । दलित भएकैले यतिबिधी गाली खाएकोमा बालसुलभ मनलाई दरो झोँक चल्यो। भोलीपल्ट उहाँहरू नभएको मौका छोपी उहाँका छोराछोरीहरू भएको बेलामा त्यो घरभित्र जबर्जस्ती पसेँ। अनि मलाई पक्राउ गर्न पुलिस लिएर आउनु भनि हाकाहाँकी चुनौति दिएँ। पछी उहाँहरूले थहा पाएर निकै गाली गर्नुभयो, तर त्यो गालीको केही प्रभाव परेन, आफ्नो कार्यले मनमनै आफैसंग अचम्म मानिरहेँ”।
त्यसो त अहिले जातिय पक्षहरूमा तुलनात्मक रुपमा ब्यापक परिवर्तन आएको छ। पुरानो पुस्ताका बृद्दवृद्दा व्यक्तिहरू बाहेक आफ्नो पुस्ताका साथीहरूले जातिय बिभेदलाई आरेघाटमा सेलाइसकेको उनी बताउँछन् । अन्तरजातिय वैवाहिक सम्बन्ध, कानुनको प्रभावकारी कार्यन्वेयन, संवैधानिक एवं कानुनी पक्ष लगायतका कुराले बिभेदलाई निकै कम गराएको उनको ठम्याइ छ ।
समाजमा आधुनिकता भित्रिइसक्दा पनि दलित समुदाय अझै परम्परागत अवस्थामा रहेकोमा उनी चिन्तित देखिन्छन् । श्रमको सम्बन्ध आर्थिक जीवनसम्म कायम हुन नसकेकोप्रति उनको चित्त बुझेको छैन । अझै पनि बालिघरे प्रथाका अवशेषहरू ग्रामीण स्तरमा कायमै छन् । ग्रामिण स्तरका दलित समुदायका व्यक्तिहरूले प्राप्त अधिकारको प्रयोग उचित ढङ्गले गर्न नसक्दा वकालत र पैरवीलगायतका कार्यले दलितहरूको जनजीवनमा तात्विक प्रभाव पार्न नसक्नु बिडम्बना रहेको उनी बताउँछन् ।
उनले अन्य व्यक्तीहरूसंग सहकार्यमा दृष्टिविहिनद्वारा अभिनित चलचित्र समेत निर्माण गरी दृष्टिविहिनहरूलाई अभिनयको क्षेत्रमा क्रियाशील गराउने प्रयत्न समेत गरेका छन् । ७ वर्षअगाडी नै बनेको “प्रयास” नामक चलचित्र दृष्टिविहिनता र अन्य अपाङ्गता भएका व्यक्तीहरूद्वारा अभिनित पहिलो नेपाली चलचित्र रहेको उनले दाबी गरे। यद्यपी पर्याप्त सहयोगको अभाबमा उक्त चलचित्र राष्ट्रिय स्तरसम्म नपुगी केही स्थानहरूमा च्यारिटी सोमा सिमित गर्नुपरेको गुनासो गरे। उनले चलचित्रकर्मीहरूलाई दृष्टिविहिनहरूलाई समेत चलचित्रमा भुमिका निर्वाह गर्न दिन अपिल गरेका छन्। लगानीकर्ताहरू उत्साहित भए आफुले यससम्बन्धी जस्तोसुकै सहयोग गर्ने उनको भनाई छ।
अहिले राज्यले सबै प्रकार र प्रकृतीका अपाङ्गता भएका ब्यक्तीहरूप्रति समान निती अंगालेकोमा उनलाई चित्त बुझेको छैन, अपाङ्गताको प्रकृती र प्रवृतीअनुरुप बिभिन्न क्याटागोरीमा बिभाजन गरी सोहीअनुरुप अन्य सेवासुविधा वितरणमा पृथकता ल्याउनुपर्नेमा जोड दिए। कतिपय ब्यक्तीहरूले अपाङ्गताको मुद्दालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याएर त्यसलाई मागी खाने भाँडो मात्र बनाएकोमा समेत उनले आपत्ती प्रकट गरे। बिभिन्न गैरसरकारी संस्थाहरूमा डलरको खेती गरेर अपाङ्गता भएका ब्यक्तिहरूको नाम बेचेर केही ब्यक्तीहरूले आम्दानीको स्रोत बनाएको उनले गुनासो गरे।
सफलताका निम्ती सङ्घर्ष नै जिन्दगीको प्रमुख माध्यम रहेकोले सङ्घर्ष गर्न छाड्न नहुने उनले बताए। ब्यक्तिलाई प्रगती गर्नका निम्ती जात र अपाङ्गताले नछेक्ने उनको भनाई छ। उनी त एक प्रतिनिधी पात्र मात्र हुन्। पाल्पा जिल्लामा यस वर्ष उनी लगायत मिठु कुमारी पराजुली, सुन्दरी गौतम तोया बिक लगायतका दृष्टिविहिनहरूले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्रार्थमिक तहको स्थायी शिक्षक पदपुर्ती नतिजामा नाम निकाल्न सफल भएका छन् । आँट र सहास भएपछी सफलताका मार्गहरू खुल्दै जाने उनीहरूले प्रमाणीत गरेका छन् ।
संसारमा कोही व्यक्ति पनि आफैमा सम्पुर्ण रुपमा परिपुर्ण रहनु संभव हुदैन । आफ्नो जीवनभर मानिस पुर्ण हुने मार्गमा दौडिरहन्छ, तर उसले जीवनको पुर्णताको परिभाषा नबुझ्दै आफ्नो जीवनयात्रा समाप्त गर्छ । जीवन नै अपुर्णताको सङ्गालो, कसैको शारिरिक अपुर्णता, कसैको मानसिक अपुर्णता, कोही वैचारिक अपरिपक्व । यद्यपी मानिसले जिन्दगीलाई सार्थक बनाउन हर बखत अनबरत सङ्घर्ष गरिरहनुपर्छ । धर्तिमा जन्मिएपछी डार्विनको भाषामा भन्नुपर्दा “बाँच्नका लागी सङ्घर्ष गर्नुपर्छ।“ बिभिन्न अपुर्णताहरूलाई, जन्जिरहरूलाई काबुमा राख्दै सफलताको मार्ग पहिचान गर्न आफुलाई हरदम तमतयार राख्नुनै पर्ने हुन्छ
मानिसलाई सङ्घर्ष गरेर सफलताको चरम चुलीमा पदार्पण गर्न त्यति सहज कार्य हुँदै होईन, अझ अपाङ्गताले जीवनलाई नै चुनौती दिईरहेका व्यक्तिहरूलाई सफलताको खुड्किलोमा पाइला लम्काउन तुलनात्मक रुपमा कठिन हुनु अस्वभाविक होईन तर अनबरतको सङ्घर्षले सफल बनिने उदहारणहरू खोज्न हामी हकिङ्स वा केलरसम्म पुग्नु पर्दैन। स्थानिय स्तरमै लुकेका हुन सक्छन् । तिनको पहिचानका निम्ती सही ब्यवहार आत्मसात गर्नु भने जरुरी देखिन्छ।
जागरणपोस्टका पाल्पा प्रतिनिधी सन्दीप थापा ले गणेश बिकसंग गरेको अन्तरवार्तामा आधारित
समसामयिक सामाजिक र राजनैतिक विषयहरूमा कलम चलाउन मन पराउने लेखकलाई फेसबुक ट्विटर मा भेट्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्ः

लेखकबाट थप

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button