सम्पादकिय

यौटाको मुख थुनिएला, तर हजारौंका मुख कसरी थुन्ने?

सामाजिक संजालमा नेपालका लागि नेपाली अभियान चलाऊँदै आएका भ्रष्टाचारविरोधी अभियन्ता भनिने ज्ञानेन्द्र शाहिलाई हिजो भरतपुर चितवनस्थित चौविसकोठिमा केही उच्छृङ्खल समुहहरुद्वारा निर्घात कुटपिट गरिएको छ। ढुंगा तथा रड प्रहार गरि सांघातिक हमलामा परेका शाहिलाई प्रहरीले उद्धार गरि थप उपचारका लागि काठमाण्डौ ल्याएको थियो र हाल उनको काठमाण्डौमा उपचार भैरहेको छ।

घटना कसले र कसको मार्फत घटाईएको हो भन्ने सिन प्रष्ट देखिन्छ। नेपालगन्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईकै कारण विमान ढिला भएको भन्दै ज्ञानेन्द्र शाहिलगायतले मन्त्रीमाथी आक्रोश ब्यक्त गरेका थिए। नेपालगंज घटनालगत्तै देशभरबाट सत्तारुढ दल नेकपाका भातृसंगठनहरु ज्ञानेन्द्र शाहिमाथी जाईलाग्ने क्रम जारी थियो। जिल्ला जिल्लामा उनलाई प्रवेश निषेधको उर्दी जारी गरिएको थियो। ज्ञानेन्द्र शाहिको तस्विरमा राजासहितको ब्यानर जोडेर दुष्प्रचार पनि गरिंदैथियो भने कतिपयले भारतिय राजदूतसंग उनको फोटो जोडेर समेत प्रचारमा ल्याएका थिए।

ज्ञानेन्द्र शाहिमाथी चितवनमा कसले र कोद्वारा निर्देशित हमला हो भन्नेकुरा प्रष्ट हुँदाहुँदै पनि मान्छे अचम्मले अझैसम्म पक्ष बिपक्षकै वकालतमा लागिरहेका छन। नेपालगन्ज घटनाको प्रतिशोधस्वरुप चितवनमा उनीमाथी सांघातिक हमला गराईएको हो।

यौटा सामान्य आम नागरिकले बेथितिका विरुद्ध बोल्दा ज्यान नै धरापमा पार्नुपर्नेछ भन्ने कल्पना गणतन्त्रले सायद गरेको छैन र वेथितिविरुद्ध बोल्ने यौटा सामान्य नागरिककै कारण दूईतिहाई सरकारको मुटुमा ढ्याङ्ग्रो ठोकिएला भनेर पनि गणतन्त्रमा कल्पना गरिएको थिएन। र, भ्रष्टाचार र बेथितीका बिरुद्ध आवाज उठाऊने यौटा सामान्य नागरिकलाई सत्तारुढ दलले आफ्नो भएभरको संयन्त्र र शक्ति प्रयोग गरेर निमिट्यान्न पार्नखोज्ने यो कस्तो संत्रास हो सत्तारुढ दलमा? कस्तो कम्यूनिष्ट सिद्धान्त हो? कति कमजोर धरातल हो कम्यूनिष्टको?

बिरोधी, आलोचक या बेथिती र भ्रष्टाचारकाविरुद्ध आम नागरिक बोल्नै नहुने, उनिहरुले सार्वजनिक स्थलमा शान्तिपूर्ण विरोध या खवरदारी सभा गर्नै नपाऊने यो कस्तो राजनैतिक/ लोकतान्त्रिक अभ्यास हो सत्तारुढ कम्यूनिष्टहरुको? देशमा ब्याप्त बेथिति, अराजकता र भ्रष्टाचारका विरुद्ध बोल्नेलाई निमिट्यान्न पार्न भएभरको शक्ति प्रयोगमा ल्याऊन बाध्य यो कस्तोखालको गठवन्धन हो? कुन धरातलमा टिकेको कम्यूनिष्ट शक्ति हो?

भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहिमाथी निर्घात आक्रमण हुनु लोकतान्त्रिक गणतन्त्रकै खुल्लमखुल्ला धज्जी उडाऊनु हो। संविधानले हरेक नागरिकलाई स्वतन्त्ररुपमा बोल्न, हिंडडुल गर्न, आफ्नो बिचार राख्न र शान्तिपूर्ण सभासम्मेलन गर्न पाऊनुपर्ने मौलिक अधिकार दिएको अवस्थामा यौटा नागरिकको मौलिक अधिकारसमेत छिन्नेगरि उसको मुखै बन्द गर्नखोज्नु सरासर संविधान र कानूनको वर्खिलाप हुनजान्छ। केही आपराधिक तत्वहरुद्वारा कानून नै हातमा लिने चेष्टा गर्नु, सम्बन्धित दलका नेताहरु तैं चुप मैं चुप भएर बस्नु अराजकतालाई मौन स्विकृति दिएको मानिन्छ। सत्ता र शक्तिको आडमा कानून हातमा लिएर देशमा अराजकता फैलाऊने, बिरोधीका मुख थुन्नकै लागि भौतिक आक्रमणमा उत्रिने तत्वलाई बेलैमा नियन्त्रणमा लिनु जरुरी छ। यस्ता निन्दनिय कार्यमा राजनैतिक दलहरुको मौन स्विकृतिले अन्तत: देशै गुण्डाराजमा परिणत हुनेछ। यस्ता अराजक कृयाकलाप बेलैमा नियन्त्रण गर्न सकिएन भने एकदिन आफैले पालेको बाघले आफैलाई खानको लागि आक्रमण गर्नेछ। दलहरुको आजको मौन समर्थन त्योबेलासम्म धेरै ढिला र महंगो पर्नजानेछ। फेरि अर्को कुरा, बेथिति, बिसंगति र भ्रष्टाचारका बिरुद्ध बोल्ने नागरिकलाई यसैगरि मुख बन्द गराऊने कुचेष्टा गरिएला, भौतिक आक्रमणद्वारा एकजनाको मुख त बन्द गर्न सकिएला, हजारौं लाखौंका मुख कसरी बन्द गर्ने सरकार? किनकि लाखौं नागरिक आज सरकारको शैली र गतिदेखि चरम असन्तुष्ट छन। रुष्ट छन।

सम्बन्धित : यो देश कसैको पेवा होईन

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button