कला साहित्य

नवीन थापाको कविता – डाँडामाथीको बूढो पिपल

सदियौँ देखि उभिरहेको छ,
डाँडामाथिको बुढो पिपलको रुख,
कहिल्यैँ हान्निएर आउँछ पूर्वतिरबाट बतास,
पिपल पातहरू फर्‍अररर पश्चिम फर्कन्छन,
उसैगरी पश्चिमतिर बाट पनि हान्निएर आउँछ बतास,
पिपल पातहरू उसैगरी फर्‍अरर पूर्व फर्कन्छन,

डाँडामाथिको पिपलको रुख र पातहरू,
सदियौँदेखि केवल हल्लिरहेका छन,
अनि हल्लिरहने पनि छन,
कताबाट आउँछन हावाका झोक्काहरू थाहा हुँदैन,
भेउ पाउँदैनन अनि मतलब पनि हुँदैन,
हल्लिरहनु उनीहरूको बाध्यता हो,
हल्लिदा हल्लिदै भाँचिनु ,
यामसँगै झर्नु र पुन पलाउनु,
अनि बिरूप भई रहनु,
रूप परिवर्तन गरिरहनु,
उनीहरूको नियति हो।

अनेकौँ याम,
अनेकौँ झरी,
अनेकौँ शिशिर,
कठ्याङ्गृने चिसा कहरहरू,
भतभत पोल्ने प्रचण्ड ताप सहेर,
आफूलाई समयसँगै नौला अवतारहरूमा देखाइरहन्छ,
डाँडामाथिको बुढो पिपल।

कहिल्यै आफूलाई सदाबहार राख्न नसक्ने,
सधैं सधैँ झुक्काएर आउने बहाब थेग्न नसक्ने,
मानौँ उनीहरूका सपनाहरू,
हावाका झोक्काले उडाएका पातहरू हुन,
हावाका झोक्काले भाँचिएर लडेका हाँगाहरू हुन,
जसको माया भइरहन्छ,
तर आफूसँगै राख्न पनि सक्दैन।

नवीन थापा क्षेत्री

प्राध्यापक,

मच्छिन्द्र उच्च माध्यमिक बिधालय
मोरङ्ग।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button