कर्णाली प्रदेश

क्याम्पस प्रमुखको मासिक तलव ६ हजार मात्रै !

जुम्ला – सिञ्जा क्षेत्रमा स्थापना गरिएको सिञ्जा बहुमुखी क्याम्पस आर्थिक स्रोतको अभावले संकटमा परेको छ ।

विसं २०६७ सालमा स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिञ्जा क्याम्पसमा आर्थिक स्रोत अभावले त्यहाँका शिक्षक तथा प्राध्यापकहरुलाई तलब खान समेत हम्मे–हम्मे भएको हो ।

विद्यालयका २७ विद्यार्थीहरुले मासिक ५ हजारका दरले तिर्ने शुल्कबाहेक केही पनि आर्थिक स्रोत नभएकाले क्याम्पस सञ्चालनमा कठिन भएको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले जानकारी दिनुभयो ।

अहिले यो क्याम्पसमा ३ प्राध्यापक र ४ जना कर्मचारी छन् । तर आर्थिक स्रोत नभएका कारण प्राध्यापकको तलब मासिक ६ हजार रुपैयाँ मात्रै खानुपर्ने बाध्यता रहेको क्याम्पस प्रमुख नेपालको भनाइ रहेको छ ।

उहाँले भन्नुभयो ‘सिञ्जा गाउँपालिकाले यस वर्ष उपलब्ध गराएको ५ लाख रुपैयाँले कर्मचारी सबैले दामासाहीका दरले तलब खाएका छौँ ।’ यसो गर्दा आफ्नो तलब मासिक ६ हजार रुपैयाँ पर्न गएको प्रमुख नेपालले बताउनुभयो । सामुदायिक क्याम्पस भएकाले मासिक तलब पनि नहुने र विश्वविद्यालयबाट वार्षिक ५ लाख रुपैयाँ अनुदान आउने रकमसमेत रोकिएको उहाँको भनाइ रहेको छ ।

आंगिक क्याम्पस बनाउन अपिल :

क्याम्पसलाई आंगिक बनाएमा प्राध्यापक तथा कर्मचारीको तलब आउन सक्ने भएकाले मध्यपश्चिम विश्वविद्यालयमा आंगिका लागि भने निर्णय भएको विद्यालयको भनाइ रहेको छ ।

अहिले यो क्याम्पसमा व्यवस्थापन र शिक्षातर्फको कक्षा संचालन भइरहेको छ । २६ जना प्राध्यापक र २२ जना कर्मचारी हुनुपर्नेमा एक त दरबन्दी छैनन् भएकालाई पनि पारिश्रमिक नहुँदा समस्या भएको हो । सुरुको वर्षमा भने विश्वविद्यालय अनुदान अन्तर्गत ४३ लाख रुपैयाँ रकम प्राप्त भएको थियो ।

सिञ्जा क्षेत्रको एकमात्र क्याम्पसमा सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरुको भने चासो कम हुँदा क्याम्पस ओझेलमा परेको छ । यसले गर्दा क्याम्पसले गति लिन सकेको छैन । आर्थिक अभावका कारण पुस्तकालय पनि अपुरो छ ।

अन्य शैक्षिक सामग्रीहरु खरिद गर्नसमेत कठिन भएको छ । विसं २०६४ सालमा तत्कालीन संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा सुरु भएको क्याम्पसमा संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले फर्निचर उपलब्ध गराउनुभएको खबर उज्यालो अनलाईनमा छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button