सम्पादकिय

फेरि पनि दण्डहीनताका कारक नेता नै हुन

अपराधशास्त्रमा एउटा सिद्धान्त छ, दण्डहिनताले समाजमा अपराधको सङ्ख्या बढाउने गर्दछ। रौतहट नरसंहारको योजनाकार एवं खुंखार गुण्डा नाईके कांग्रेस सांसद मो.अफताव आलमलाई राज्यले समयमै दण्ड दिन नसक्दाको परिणाम उसद्वारा फेरि पनि अन्य जघन्य अपराध भए। सर्वोच्चको लगातारको दबाबका कारण १२ बर्षअंघिको रौतहट नरसंहार काण्ड अन्तत: दबाउन खोजिएर पनि दबिएन। सर्वोच्चको बारम्वारको आदेशलाई लत्याईरहने प्रहरी प्रशासनको चरित्रदेखि आजित सर्वोच्च अन्तत: सर्वोच्चको आदेश कायम नगर्नेलाई नै कारवाहिको भागिदार बनाऊने भन्ने आदेशले अन्तत: रौतहट प्रहरी प्रमूख एसपी भुपेन्द्र खत्री तातिए र गुण्डा नाइके अफताव आलम पक्राऊ पनि गरिछाडे। तर प्रहरीको भागीदारी त्यत्तिमा मात्र सीमित छैन। दोषीलाई समयमै कारबाहीको दायरामा नल्याउँदा भएका अन्य घटनाको समेत जिम्मेवारी प्रहरीले लिनुपर्दछ।

अब कल्पना गर्नुहोस त, देश र जनताको सेवामा खटिनुपर्ने प्रहरी पैसा र शक्तिवालाको सेवामा मात्र खटिन थाल्यो भने नतिजा के निस्किंदोरहेछ? रौतहटको खुंखार गुण्डा नाईके कांग्रेसको सांसद मोहम्मद अफताव आलमको पैसा र शक्तिका सामुन्ने यौटा सिंगो प्रहरी प्रशासन नै ढलक्कै निहुरिएर आलमको संरक्षणमा लाग्दा आम पिडित जनताले न्याय त पाएनन पाएनन, सिंगो प्रहरी प्रशासनसमेत कसरी बद्नाम हुनपुग्यो? नेपालको गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी यौटा गुण्डा नाईकेको पैसा र शक्तिसामु छर्लङ्गै निरीह बनिदिंदा सिंगो प्रहरी प्रशासनमात्र होईन, समग्र देशकै प्रतिष्ठामा समेत आँच आईरहेको छ। प्रहरीका यस्तै हर्कतहरुले गर्दा आजका दिनसम्म आम नागरिकले प्रहरीलाई विश्वास गर्न सकिराखेका छैनन। समाजमा दुखसुखमा प्रहरीलाई आफ्नै सहयोगी अंग सम्झिएर आत्मियता दर्शाऊने या गुनासो पोख्न सकिराखेका छैनन। आम नागरिकको स्नेह प्राप्त गर्नुपर्ने नेपाल प्रहरीले उल्टै नागरिककै नजरमा शंकाको घेरामा खुम्चिन बाध्य हुनु नेपाल प्रहरीको लागि लाजमर्दो अवस्था नै हो।

गुण्डा नाईके मोहम्मद अफताव आलमले रौतहटमा मच्चाएको आमनरसंहार घटनाको १२ बर्षमा १६ जना एसपीहरुको सरुवा भएर गएछ। ती सोह्रजना एसपीहरु सबै आलमको छायाँंका सामुन्ने निरीह भएर नै फर्किएछन भने अब भन्नुहोस नेपाल प्रहरी कसको लागि? नेपाल प्रहरीलाई दिएको शक्ति के का लागि र नेपाल प्रहरी अब किन भन्ने प्रश्न उठ्ने कि नउठ्ने त? १६/१६ जना एसपीमध्ये कोहि पनि मर्द/ बहादूर एसपी रौतहटमा देखिएनछ। यौटा आततायी गुण्डा ठेगान लगाऊन नसक्ने एसपीलाई आम नागरिकले कुन आधारमा एसपी सा´प भनेर गुहार माग्न जाने? अन्य जवानहरुले कुन स्फूर्तीसाथ सलाम ठोक्ने त्यस्ता एसपीलाई जो यौटा गुण्डाको छायाँसंग तर्सीराखेको हुन्छ।

रौतहटमा सरुवा भएर गएका१६ एसपीमध्ये कसैले पनि पिडित भनिएका नागरिकको गुनासो सुन्नेसम्मको हिम्मत गरेनछ्न। गुण्डा नाईके आलमको छायाँका सामुन्ने सबै एसपी निरीह भएछन, लाचार भएछन। त्यस्ता निरीह र लाचार एसपीले कुन आधारमा आफ्नो बर्दीको साख जोगाएका होलान र सरकारी नुनपानी कसरी पचाऊन सकेका होलान? जनताको सेवा गर्न भनेर खटिएको प्रहरीले जनताको गुनासो सुन्दैन, जनताको जाहेरी लिन अस्विकार गर्छ, गलत मुचुल्का उठाएर घटनालाई गुमराहमा पार्न खोज्छ, पैसा र शक्तिको पछि पछि दौडिन्छ भने त्यस्ता संगठन र त्यस संगठनमा रहेर काम गर्ने पात्रहरुको जिम्मामा कसरी देश र जनताको सुरक्षाको जिम्मा दिन सकिन्छ र?

दण्डहिनताका विभिन्न स्रोतहरू हुन्छन् । राज्य र राजनीतिक संरक्षण दण्डहिनताको सबभन्दा प्रधान कारण हो । राज्यका सबै अङ्गमा शासक दलबीचको भागवण्डाका कारण आज कुनै पनि क्षेत्र राजनीतिक पूर्वाग्रहबाट मुक्त हुन सकेको छैन । प्रहरी प्रशासनदेखि सरकारका सबै निकायमा कुनै पनि काम फत्ते गर्न शासक दलको सिफारिस लिएर जानुपर्ने विकृति फैलिएको छ । राज्यको निकायभित्र दण्डहिनता झाङ्गिदा अपराधीहरू उत्साहित बनेका छन् र फेरि फेरि पनि अपराधका लागि हौसिएका छन् । राज्यको निकायमा आफ्नो प्रभाव भएपछि जस्तै अपराध गर्दा पनि उम्कन मिल्ने अवस्थाका कारण आज राज्य जनताको सेवक नभई शोषक निकायमा परिणत भएको छ । हिजो राजाको दरबार, अञ्चलाधीश कार्यालयलाई जसरी जनताले शत्रुतापूर्ण वा भयको आँखाले हेर्ने गर्दथे, त्यसरी नै राज्यको चरित्रका कारण हेर्ने अवस्थामा तात्विक रुपमा भिन्नता आएको छैन ।

राज्यमा दण्डहिनता मौलाऊनुको प्रमूख जिम्मेवार फेरि पनि हाम्रै नेता हुन। देशमा गुण्डा, अपराधी, हत्यारा, बलात्कारीजस्ता तत्वहरु मौलाऊनुमा राजनैतिक दलहरुको चरम दोष छ। राजनितिमा अपराध हावी गराऊने यिनै नेता हुन र प्रहरी प्रशासनभित्र चरम राजनैतिक हस्तक्षेप र तिव्र राजनितिकरण गरेर प्रहरिलाई निकम्मा बनाई देशलाई गुण्डाराजमा धकेल्ने यिनै हाम्रा नेता हुन। देशमा दण्डहिनता, अराजकता बढ्नुमा हाम्रा नेताको दोष छ। प्रहरी प्रशासनलाई पंगु बनाएर मनपरी गर्ने हाम्रा नेता हुन। दुषित मुहानका स्रोत हाम्रा नेता हुन।

यौटा शक्तिलाई शक्तिहिन बनाऊँदाको परिणाम हामीले त के भोगेका छौं र? अफ्रीकी मुलुक रुवाण्डा, सुडान, सोमालियाजस्ता देशका नागरिकले जे भोगेका छन त्यसको कहानी कहालीलाग्दो छ। ढिलै भएपनि हाम्रोमा अलिकति कानूनको आश छ, वाक स्वतन्त्रता छ र त कहिलेकाहिं खुंखार गुण्डा नाईके मोहम्मद अफताव आलमजस्ताले पनि हातमा हतकडी लगाएको देख्न त पाईएको छ। हाम्रोजस्तो स्वतन्त्रता नभएका मुलुकहरुमा राजनैतिक हस्तक्षेपले थिलो थिलो परेको प्रहरी प्रशासन भएका देशहरुमा नागरिकको हालत कस्तो होला? कल्पना गर्न सकिन्छ?

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button