पत्रपत्रिकाबाट

द्वन्द्वपिडितको क्रन्दन : कुकुरबाट समेत बलात्कार गराईयो

मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्– सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती । गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरूका आँखा रसाउँदै गए ।

उनी भनिरहेकी थिइन्, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु, न धर्तीमा हिँड्न । मजस्तै अरू पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरू खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहरूले जानून् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालीन विद्रोही माओवादीमा लागेकी थिइन् । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बाबुलाई पक्राउ गरेको थियो । रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँ हिँडिन् । त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘अरू साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरूले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो ।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरू बहिनीहरू मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुइटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा बहुलाइजस्तो हुन्छु । डरले काँप्छु,’ उनले भनिन् ।

उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन् । ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन,’ उनले भनिन्, ‘कुकुरबाट इज्जत लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए । पछि धुनै नदिई त्यही हातले भात खान लगाए ।’

ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको कपडाको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो लासझैं भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’

त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्यातिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान्–श्रीमतीले जति दु:ख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्‍यौं । मेरो छोराको आँखामा जन्मिँदै मासुको डल्लो पलाएको छ । यो पीडा म मनमा कति मात्रै राखिरहुँ ?’

‘यातनाको नयाँ ढाँचा’

विज्ञहरूले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् । ‘धेरै पहिले ल्याटिन अमेरिकामा शत्रु पक्षका युवतीलाई कब्जामा लिएर बलात्कारका लागि तालिम गराइएका कुकुरहरू प्रयोग गरिन्थे,’ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले भने, ‘नेपालमा यस्तो सुनेको थिइनँ । साँचो हो भने यो गम्भीर अपराध हो । यसको अनुसन्धान हुनुपर्छ ।’

पीडित युवतीको शरीरको फरेन्सिक जाँच हुनुपर्ने र फरेन्सिक मनोविद्बाट मनोविश्लेषण हुनुपर्ने वस्तीले बताए । ‘दु:खको कुरा, हामीकहाँ फरेन्सिक साइकोलोजिस्ट छैनन्,’ उनले भने, ‘कुकुर देख्दा विक्षिप्त हुने उनको मनोदशाको विश्लेषण गर्न यस्ता विशेषज्ञ चाहिन्छन् ।’

शत्रु पक्षलाई कब्जामा लिएर कुकुरमार्फत बलात्कार गराउने र अन्य अमानवीय हर्कत गर्ने कामलाई जेनेभा सन्धिले युद्ध अपराध मानेको छ । ‘कुकुरबाट बलात्कार गराइएको घटना पीडितले बाहिर ल्याइसकेपछि छानबिन हुनु अपरिहार्य छ,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘तालिम नदिई जनावरले मान्छेमाथि बलात्कार गर्दैन । यस घटनाले सेनाभित्र बलात्कारका लागि कुकुरहरू तालिम प्राप्त थिए भन्ने संकेत गर्छ ।’

‘पक्राउ गरेपछि कुकुर लगाएर बलात्कार गराउनु घृणित हो। यसको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने, ‘सरकारले अविलम्ब पीडितको बयान सुनोस् र छानबिन अघि बढाओस् ।’

द्वन्द्वकालका घटना छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम नगरेपछि पीडित आफैंले आफूमाथि भएका अत्याचारको अभिलेख राख्ने अभियान थालेका छन् ।

त्यही अभियानका क्रममा ती पीडित युवतीले सोमबार दाङमा आफ्ना भोगाइ सार्वजनिक गरेकी हुन् । ‘बयान’ का क्रममा उनले अरू धेरै युवतीमाथि आफूलाई जस्तै पाशविक बलात्कार गरिएको तर लाज, ग्लानि र डरले कसैले मुख खोल्न नसकेको बताइन् । ‘यो अमानवीय व्यवहार संसारले थाहा पाउनुपर्छ भनेर मैले मुख खोलेकी हुँ,’ उनले भनिन्, ‘हामीमाथि यस्तो पनि भएको थियो भनेर अभिलेख होस् ।’

राज्य र विद्रोही दुवै पक्षका पीडितहरूको साझा संगठन ‘द्वन्द्वपीडित साझा चौतारी’ ले सुरु गरेको अभियान ‘सत्यको बयान’ मा सरकार र तत्कालीन विद्रोही पक्ष दुवै थरीबाट घाइते, अपांग, यातना तथा यौन हिंसाको सिकार भएका १५ जनाले आफूमाथि भएको घटनाको सार्वजनिक अभिलेख गराएका थिए । ‘घटना याद गर्ने र प्रमाण जोगाइराख्ने हाम्रो स्मरणशक्तिको सीमा छ,’ सत्यको बयान अभियानका आयोजक साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भने, ‘राज्यले यसमाथि चासो नदिएपछि हाम्रा पीडाको अभिलेख राख्न आफैं अघि सरेका हौं । पीडित बितेर गए पनि उनीहरूले पाएको दु:खको प्रमाण राख्नु जरुरी छ ।’

नेपाली सेनाले भने कुकुरद्वारा बलात्कार गराइएको घटनाबारे जानकारी नभएको उल्लेख गर्दै पीडितले भनेअनुसारै भएको हो रहेछ भने छानबिन गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । ‘यस्तो खालको घटनाबारे सेनामा कहीँकतै उजुरी परेको छैन,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘पीडितले भनेअनुसार भएको हो भने हामी छानबिन गर्न तयार छौं । सेना यस्ता घटनाको विरुद्धमा छ ।’ नेपाली सेना जनताले तिरेको करबाटै चल्ने भएकाले पीडितले निर्धक्कसँग उजुरी दिन सक्ने खबर कान्तिपुर दैनिकमा छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button