सम्पादकिय

उफ, भ्रष्टाचार – नेपाल प्रहरी !

६ लाख पर्ने मोटरसाईकलको बिल ५४ लाख ! अहो, मान्छे किन कसरि यतिविघ्न पतित र निच हुन्छन? पत्याऊन पनि नसकिने कुराको कल्पना मान्छेको दिमागमा कसरी घुस्दछ? दिमाग किन सैतान बनाऊँछन मान्छे? मान्छेले मान्छे नदेखेको हो या बुद्धिले विवेक खाएको हो? आफ्नो दिमाग सैतान त अरु सबैको दिमाग सैतान हुन्न नि महोदय?

कुरा नेपाल प्रहरीको हो। देश, समाज र जनताको सुरक्षा गर्ने गहन जिम्मेवारी पाएको नेपाल प्रहरी आज यतिविघ्न बद्नाम होला भनेर जनताले सायदै कल्पना गरेका थिए होलान। विभिन्न छापा, अनलाईन, टिभी तथा सामाजिक संजालमा नेपाल प्रहरीको संस्थाभित्र मौलाएको चरम् भ्रष्टाचारको समाचारले सर्लक्क शीर निहुरिएको छ।

आम नागरिकमाझ मुस्कानसहितको प्रहरी सेवा, नागरिक बिना बर्दिका प्रहरी, प्रहरी बर्दिसहितका नागरिक, प्रहरी हाम्रो साथीजस्ता अवधारणा ल्याएको नेपाल प्रहरी यतिविघ्न भ्रष्टाचारको कलंकमा डुब्न पनि सक्दोरहेछ- आम नागरिकको यक्ष प्रश्न।

आफै भ्रष्टाचारको आहालमा डुबेको प्रहरीले कसरि र कुन नैतिकताको आधारमा अन्य भ्रष्टाचारीलाई पक्रिने? दोषको भागिदार बनाऊने?

दोष ति तमाम होनहार प्रहरी जवानहरुको हैन, जो प्रहरी नेतृत्वको निरन्तर बदमासीको कारण बदनाम छन।

बिचरा त्यस्ता प्रहरी जवान जो सरकारी तलवले नपुगेर जागिर छोडेर खाडीतिर होमिन बाध्य छन या जेनतेनको अवकाशपश्चात पुनश्च: कहिं कतै सुरक्षागार्डको रुपमा काम गर्न बाध्य छन। सरकारी सेवामैं रहंदा सरकारी तलवले नपुगेर बिचमैं जागिर छोडेर खाडीतिर होमिने प्रहरी जवानको संख्या ठूलो छ।

प्रहरी संगठन बदनाम हुनुको दोष त तमाम भ्रष्टाचारीहरुको हो, जो संगठनको नेतृत्वदायी भूमिकामा छन- केन्द्रदेखि लिएर स्थानिय तहसम्म।

गल्ती र गलत मार्ग उनीहरुले अपनाऊने, बदनामी हुने कार्यक्रम उनैहरुले ल्याऊने स्वार्थको खातिर। नागरिकसंग संगै रहने नितान्त तल्लो तहका प्रहरी बन्धुहरु नागरिकको नजरमा सदैव कर्के आँखाको सिकार हुनुपर्ने तितो अवस्थाको सृजना प्रहरीको नेतृत्वतहमा बसेकैले गरेका हुन।

५ लाख पर्ने मोटरसाईकलको बिल ५४ लाख त तल्लो तहको प्रहरी हवल्दारले निश्चय नै बनाएन होला।

नियतमा खोट प्रहरी नेतृत्वमा छ।

प्रधानमन्त्रीदेखि मन्त्री हुँदै नेता र स्थानिय तहसम्म सबैले देश र देशको स्रोत लूट्न हुने र उनीहरु राजनैतिक पहुँचकै आधारमा उम्किन पनि हुने। सरकारी न्यूनतम तलवले परिवार धान्नै गाह्रो भएकाले कसैसंगबाट सय/दूईसय उठाऊंदैमा उ चाहिँ सबैको तारो बन्नुपर्ने? अख्तियारको पन्जामा पर्नुपर्ने?

शक्तिशाली र ठूलाबढा मज्जाले उम्किंदै र चोख्याऊंदै गर्दा कि तलका प्रहरी जवानलाई पनि उम्काऊ, हैन भने ती जवानको जिन्दगी बर्वाद नपारिदेऊ। घरपरिवार गुजारा हुनेसम्मको तलव देऊ। विभेद नगर। सरकारी जागिर र तलवले यौटा प्रहरीको घरपरिवार नै चल्दैन भने जागिर नदेऊ, बरु खाडीतिर भासिन देऊ। खाडिमा पसिसकेपछि संघर्ष गरेरै कम्तिमा परिवार त पाल्छ। नेतृत्वको गल्तीको भागिदार कम्तिमा त्यो जवान त हुन्न?

अधिकांश नागरिकमा प्रहरी र प्रहरीको पोसाक देख्यो कि अनेकन घृणाभाव जाग्ने गर्दछ। यसको दोष त्यो तल्लोस्तरको प्रहरी जवानको हैन, नेतृत्वतहमा बसेकाहरुको हो।

मुहान दुषित छ, मुहान सफा गर पहिला नेपाल प्रहरी। यसपाली २ अर्बभन्दा बढि अनियमितताको आरोप लागेको नेपाल प्रहरी अब हेरौं कसरि फेस हुन्छ। शक्ति दुरुपयोग गरेर चलखेल अवश्य हुनेछ, तर भ्रष्टाचारको रुप भने छर्लङ्ग भैरहनेछ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button