विचार ब्लग

समाज विचलनको मूल कारक- बलात्कार

शर्मीला ज्ञवाली/
बलात्कार निर्शंष अपराध हो। मानविय चेतना, अभिव्यक्ति र चाहनाहरु तूषारापात गराउने यौटा यस्तो कालो कर्तुत जसको मस्तिष्क नरभक्षीको रुपमा जन्मजात सिद्ध हुन जान्छ। समाजका विविध आयामहरु क्षणभरमै सन्नाटामा परिणत गरिदिने बलात्कार जस्तो जघन्य अपराधको बिरुद्धमा अव हामी उँभिनै पर्दछ । त्यहिं फूलको सुगन्धमा मग्ध हुने हामीहरु आज त्यहिं फूललाई निर्मम निमोठ्न किन्चित पछाडि हट्दैनौं।

सामान्यतया बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई ‘बलात्कार’ भनिन्छ । जब कुनै पनि व्यक्तिले आवेगमा आएर वा योजनाबद्ध रूपले बलपूर्वक वा लागूपदार्थ खुवाएर विपरीत लिंगीसँग यौनक्रिया गर्छ भने त्यसलाई बलात्कार भनिन्छ । बलात्कारीले यौनक्रिया गर्नका लागि पीडितलाई हतियारले वा मुक्का तथा खुट्टाले पिट्ने, कुट्ने, घाइते बनाउने तथा मार्ने कार्यसमेत गर्छन् । बलात्कार एउटा कामुक विचलनका साथै कानुनी रूपमा अपराध हो ।

बिभिन्न संचारमाध्यम तथा समाजिक संजालहरुमा दिनहुँजसो बलात्कार र हत्याका घटनाहरु सार्वजनिक भईरहंदा राज्य भने यस्ता अमानविय घटनाहरुप्रति वेखवरजस्तै छ। ५ बर्षिया अवोध बालिकादेखि लिएर ७० बर्षिया वृद्धासम्म बलात्कार अनि हत्याको शिकार भएका खवरहरुले मन त्यसै त्यसै विछिप्त भएर आऊँदछ। पछिल्ला दिनहरुमा बलात्कारका घटना अत्याधिक घट्न थालेका छन। विशेष गरेर तराईका जिल्लाहरुमा सामुहिक बलात्कार अनि हत्याको घटनाहरु डरलाग्दोरुपमा रुपमा घटिरहेका छन। एक तथ्यांकअनुसार नेपालमा दिनमा कम्तिमा पनि ३ वटा बलात्कारका घटनाहरु सार्वजनिक भैरहेका छन। तर उदेकलाग्दो विषय के छ भने देशभर बिभिन्न स्थानहरुमा महिला, वृद्धा तथा बालबालिकामाथी भईरहेको यसप्रकारको क्रूर अपराधमा संलग्न अपराधीहरु जेनतेन पक्राऊ परेपनि कुनै अमूक शक्तिकेन्द्रको आडमा ति अपराधीहरुलाई कठोर सजायँबाट उन्मुक्ति दिएका समाचारले समाजमा मानविय संवेदनतामाथी नै गहिरो प्रश्न खडा गरेको छ। त्यस्ता अपराधी उम्काऊन खोज्ने ब्याक्ति पनि महाअपराधी नै हुन र त्यस्ता खलपात्रहरु पनि अधिक भन्दा अधिक सजायंको भागिदार हुनैपर्दछ।

शक्तिकेन्द्रको आडमा बलात्कारी र हत्याराले प्रहरी प्रशासनबाट मात्र होईन, नेपालका न्यायमूर्तीहरुबाट पनि उन्मुक्ति पाऊंदै आएका छन। अन्यायमा परेकालाई न्याय दिने पवित्र स्थान यस्तै कतिपय खलपात्रका कारण अपवित्र छ। कतिपय कथित काला कोटधारीहरुको कालो नियतका कारण बलात्कारका आरोपी चोखिने र बलात्कारपिडितहरुको जिन्दगी अंध्यारोमै राख्ने काम पनि भैरहेको प्रशस्त उदाहरणहरु हामीसमक्ष छन। बलात्कारीलाई कुनैपनि हालतमा उन्मुक्ति दिने नेता, प्रहरी प्रशासन या वकिल सवैलाई कठोर कानुनी सजायंको दायराभित्र नल्याऊंदासम्म पिडितले न्याय नै पाऊंदैनन भने पिडकको मनोवल झनै बढेर जानेछ। तसर्थ, बलात्कारको आरोपीलाई हदैसम्मको कानूनी कारवाही गर्नु त पर्दछ नै, साथमा यदि कुनैपनि शक्तिकेन्द्रको आडमा कहिं कतैवाट त्यस्ता अपराधी छुटाऊने प्रयत्न हुन्छ भने त्यस्तो कर्तुतमा संलग्न सम्बन्धित सवैलाई बलात्कारीसरहको हैशियतमा कानूनी कारवाहीको लागी अव हामीले पहल गर्नैपर्दछ।

प्रहरीको तथ्यांकअनुसार आर्थिकवर्ष २०७३/७४ मा नेपालमा बलात्कारका घटनाको संख्या पछिल्लो ५ बर्षको तुलनामा ह्वात्तै बढेर गएको छ। बर्ष २०६८/ ६९ मा जम्माजम्मी ५३१ वटा बलात्कारका घटना प्रहरीकोमा दर्ता भएको थियो भने त्यसको ५ बर्षको अन्तरालमा नेपालमा बलात्कारको घटना दोव्वरले बढेर गएको प्रहरी तथ्यांक छ। आर्थिक वर्ष २०७३/७४ मा प्रहरीमा दर्ता भएका बलात्कारका उजुरीको संख्या १,१४६ भएको प्रहरी तथ्यांक बताऊंदछ। यसवाट के निष्कर्षमा पुग्न सकिन्छ भने बलात्कारजस्तो गम्भिर प्रकृतिको मुद्धामा राज्यले बेलैमा कठोर कानून बनाएर अपराधीलाई हदैसम्मको कारवाही नगर्ने हो भने अर्को ५ बर्षमा नेपालमा बलत्कारका घटनाले विकराल रुप लिनेछ।

प्रविधि र पहुंच र विस्तारसंगै बलात्कारका घटना पनि निरन्तर बढ्दै गएका छन। सर्वेक्षणअनुसार बलात्कार गर्नेमध्ये ९५% बलात्कारीको मोवाईलमा ब्लू फिल्म रहेको पाईएको छ। तिमध्ये ९०% बलात्कारी सामाजिक र आर्थिक रुपमा पिछडिएको या अनपढ/ थोरै मात्र शिक्षा आर्जन गरेको पाईएको छ। यतिमात्र होईन, विस्तारै खुला समाजको परिकल्पना, प्रविधि र ईन्टरनेटको पहुंचसंगै सामाजिक अपराधका घटना पनि बढ्दै गएका छन।

लोकतन्त्रको उच्चतम अभ्यास हुने देशहरुमा बलात्कारका बिरुद्धमा सांकेतिक विरोध नै सरकारका लागी धेरै झस्क्याऊने बिषय बन्नेगर्दछ भने हाम्रोजस्तो लोकतन्त्रको कमजोर धरातलमा उँभिएका मुलुकहरुमा यिनै सुधारका मागहरु कार्वान्यन गराऊन पनि जवर्जस्ती गर्नैपर्ने बाध्यता छ। लोकतन्त्रलाई कत्तिको बलियो रुपमा कार्वान्यन गर्दैछौं या हाम्रो लोकतन्त्रको धरातल कत्तिको बलियो छ अनि हाम्रा शाषकवर्गहरुले लोकतन्त्रको कसरि प्रयोग, संरक्षण अनि संवर्द्धन गर्दैछन भन्नेजस्ता मानक यिनै घटनाक्रमहरुले नै पुष्टि गर्दछ। हाम्रो देश समाजमा घट्ने घटना, निदानको लागी खोजिने वैकल्पिक उपायस्वरुपका प्रदर्शन/ आन्दोलनमाथी राज्यको निर्मम धरपकडलाई आधार मान्दा हाम्रो लोकतन्त्रको धरातल निकै नै दयनिय स्थितिमा रहेको प्रष्ट हुन्छ।

समाजमा भूसको आगोझैं विकराल बन्दै गईरहेको बलात्कारका घटनाले सिंगो देशलाई नै विक्षिप्त बनाऊँदै लगेको छ। ८ महिने दुधे वालिकादेखि लिएर ७० वर्षिया वृद्धासम्म बलात्कारको शिकार भएका खवरहरु आजकल हरेक दिन समाचारका हेडलाईनहरु बनेका छन। बलात्कारमात्र होईन, बलात्कारपश्चात अत्यन्तै वर्वररुपमा हत्या गरिएका समाचार पढ्नपर्दा भित्रैदेखि विक्षिप्त बन्नुपरेको छ। बलात्कारपश्चात योनीमा सिसा, फलाम या त्यस्तै धारिलो हतियार घुसाएर हत्या गरिएका घटनादेखि लिएर घाँटी अंठ्याएर पाशविक तरिकाले मार्ने गरेका घटनाहरु आजभोली दिनहुँजसो पढ्न अभिशप्त छौं। यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कुनैपनि हालतमा कठोर कानूनी कारवाहिको भागिदार त बनाऊनुमा कुनै दूईमत त छैन, तर ३ मिनेटको मात्र फाँसीले उसको कसूरको सजायँ पुरा हुन भने सक्तैन। कमसेकम अपराधीलाई आफ्नो अपराध बोधको पश्चातापले जिन्दगीभर पश्चाताप हुनेखालको कानूनी एवं भौतिक सजायं दिनु उपर्युक्त हुन्छ।

कमसेकम बलात्कारमात्र गरेर छोडिदिए त केहि समयपछि बलात्कारबाट पिडित भएकी बालिका, किशोरी या अन्य उमेर समुहकी नारी समाजमा पुनर्स्थापना त हुन्छिन। बलात्कारपश्चातको वर्वर हत्याले गर्दा सिंगो जिवन नै समाप्त पार्ने त्यस्ता नरभक्षीलाई आजिवन चरम यातनासहित कानूनी कठघरामा उंभ्याऊनु उपर्युक्त हुन्छ। एकैक्षणको आफ्नो हवास गुमाऊन पुग्दाको पिडाले त्यस्ता नरभक्षी अपराधीलाई जिन्दगीभर प्रश्चातापको आगोले भतभती पोल्नुपर्दछ र त्यस्तो पश्चातापमा पिल्सिएको अपराधीलाई देखेर अन्य कसैको मनोवल अपराधउन्मुख पनि नहोईजाओस। साथै त्यस्ता अपराधीहरुलाई श्रम शिविरमा राखेर चर्को श्रम गराऊन पनि सकिन्छ। जेलमा दालभात खुवाएर पालिरहनुभन्दा त्यस्ता सवै अपराधीहरुलाई निरन्तर मजदुरको रुपमा कज्याएर कतिपय विकाश निर्माणका काम गर्न पनि सकिन्छ।

छिमेकी देश भारतकै कुरा गर्ने हो भने बलात्कारको सवालमा भारतले गतसाल अप्रीलमैं केन्द्रिय क्याविनेट मिटिङ्गमा प्रस्तुत गरेको तथ्यांक मा भारतमा प्रत्येक १५ मिनेटमा यौटा बलात्कार, यानकी १ घण्टामा ५ बलात्कार तथा हरेक दिन भारतभरि १०० जना बालिकाहरु यौन हिंसाका शिकार भएका तथ्य बाहिर आएका छन। र, यो आँकडा पछिल्लो दूईवर्षको अवधीमा ५०० प्रतिशतले वृद्धि भएको तथ्यांक भन्दछ। यद्यपि १२ बर्ष मुनीका बालिका करणी तथा हत्या आरोपितलाई सिधै फाँसीको ब्यवस्था तथा त्योभन्दा माथीको उमेरका किशोरी/ महिलाहरुलाई बलात्कार अनि हत्या आरोपितलाई न्यूनतम ३० बर्षदेखि लिएर आजिवन कारावासको ब्यवस्था पोक्सो कानूनअन्तर्गत गरिएतापनि डरलाग्दोरुपमा बढ्दै गएको बलात्कार तथा हत्याका घटनाले कानूनले मात्र चेलीबेटी सुरक्षित हुनसक्तारहेनछन भन्ने तथ्य पनि उजागर गरेको छ। यसो भन्दैगर्दा बलात्कार तथा हत्या अभियोग लागेका अपराधीलाई संजायको भागिदार बनाऊनु हुन्न भन्ने पनि होईन, कानूनी रुपमै सख्त कंस्दै पनि लैजानुपर्दछ। अपराधीलाई कुनैपनि बाहानामा छोड्नु या उम्किन दिनु त हुँदैन नै साथमा कानूनको निर्माणले मात्र बलात्कार र हत्याका घटनामा कमी आऊन सक्तारहेनछन भन्ने वहस भारतमा मात्र होईन अव नेपालमा पनि चल्नु आवश्यक छ।

खासमा बलात्कार सामजिक समस्या हो। मनोविकारयुक्त अपराध हो। यौटि ८/८ महिनाकी दुधे बालिकामाथी बलात्कार कसरि कल्पना जाग्छ त्यस्ता हैवानहरुलाई र ति ८ महिनाकी दुधे बालिकाले कसरि त्यस्ता अपराधीलाई हवसको लागी प्रेरित गर्न सक्तछिन? कल्पनाभन्दा पनि बाहिर रहेको यस्तो वर्वर घटना किन घटिरहेको छ नेपालमा? किन यस्ता घटनाहरु दिनप्रतिदिन आगोझैं फैलिरहेका छन? आफ्नै बाबु तथा दाजुभाई, काका- भतिज तथा आफन्तीहरुवाटै किन यसरि हवसको शिकार बन्दैछन कलिला नानीहरु? यो कस्तोखालको असामान्य बिमारी फैलिंदैछ हाम्रो समाजमा? के कारणले होश गुमाऊन पुग्दछन मान्छेहरु? बलत्कारको मनोवैज्ञानिक समस्या के हो र यस्ताखालका विमारीको मनोवैज्ञानिक उपचार के हुन सक्तछ त? यतातर्फ पनि वहस हुनु अति आवश्यक छ।

नेपालमा कानून नभएको भने होईन, कानूनको फितलो कार्वान्ययन मूल समस्या हो। यसमा पनि दण्डहीनता, अराजकता, अस्थिरता मूल समस्या हुन। संविधान कार्वान्यनसंगै बलात्कारजस्ता गम्भिर प्रकृतिका घटनाहरुमा पिडकलाई हदैसम्मको सजायं र पिडितलाई उचित न्याय मिल्नेगरि कानून परिमार्जन गर्नुपर्ने देखिन्छ। साथै, शक्ति, पैसा र पहुँचको आडमा अपराधीलाई उन्मुक्ति गर्ने/ गराऊने कार्यलाई निरुत्साहित बनाऊन त्यस्तो कार्यमा संलग्न हर जो कोहिलाई पनि अपराधीकै दर्जामा राखेर कारवाही गर्नुपर्दछ। कतिपय स्थानहरुमा प्रहरी प्रशासनबाटै बलात्कारको शिकार बनेका पिडितहरुको उजुरी दर्ता गर्न नमानेका दृष्टान्त छन भने अदालतबाट पनि अत्यन्तै ढिलो न्याय हुने गरेको छ। बलात्कारका कतिपय मुद्धाहरु दशकौंसम्म पनि अदालतमा थन्किएर रहेका छन, अदालतको यस्तो प्रवृतिले गर्दा पिडितहरुले न्याय पाऊन सकिराखेका छैनन भने पिडकहरुले उन्मुक्ति पाऊंदै आएका छन। यौन हिंसाजस्ता घटनाहरु आकष्मिक र गम्भिर प्रकृतिका हुने हुनाले प्रहरी प्रशासन हुंदै अदालतसम्म यस्ता घटनाको छिनोफानो यथासक्य गर्नुपर्दछ। होईन भने पिडितले सधैभरि मानशिक तनाव झेलिरहनुपर्ने हुन्छ। अर्कोतर्फ बलात्कारको शिकार भएका महिलाहरुलाई उल्टै सामाजिक लान्छनाको समेत सामना गर्नुपरेको छ। बलात्कारपिडितहरु उसै त गम्भिर रुपमा मानशिक एवं शारिरिक पिडमा हुन्छन, त्यसमाथी समाजका अनेकन प्रश्नहरुको सामना गर्नुपर्दा त्यस्ता यौनहिंसा पिडितहरु झनै विचलित भई घर न घाटका हुन पुगेका पनि कयौं दृष्टान्त छन। यसर्थ, बलात्कारपिडितहरुलाई सके आवश्यक सहयोग गरौं, होईन भने अनेकन लान्छनाहरुको प्रश्न तेर्स्याएर विचलित बनाऊने काम नगरौं। त्यसरि पिडित बनेका महिला, बालबालिका तथा वृद्धाहरुलाई सर्वप्रथम आफ्नै घरबाट सान्तवना, सहयोग एवं संरक्षणको वातावरण तयार पार्नसक्नुपर्दछ, साथै समाजले पनि यो कुरा बुझ्नु जरुरी छ कि कुनैपनि महिला, बालबालिका तथा वृद्धामाथी हुने आकश्मिक आक्रमण भोली अर्को महिलामाथी पनि हुनसक्तछ। यसतर्फ सिंगो समाजले त्यस्ता यौनहिंसा पिडितलाई घृणा र तिरस्कार होईन, माया, सम्मान, सद्भाव, हौसला एवं सहयोग गरि पिडकलाई हदैसम्मको कारवाहीको भागिदार बनाऊन सक्नुपर्दछ। यसो भयो भने यौनहिंसापिडितहरु समाजमा सम्मानपूर्वक बाँच्ने आधार बन्दछ भने समाजमा घट्ने यस्ता घटनाहरुमा पनि निकै कमी आऊने गर्दछ। सवैभन्दा पहिला आफू सभ्य र सक्षम बन्न सकेमात्र घरपरिवार हुंदै समाज सभ्य एवं सुसज्जित बन्दछ।

बलात्कारका घटनाहरू आधुनिक युगका उपज होइनन् । आदि कालदेखि नै बलात्कारका घटना हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटनाहरू निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयम् समाज पनि दोषी छ ।
थुप्रै सामाज शास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डर धाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, यो पनि लक्षण हो । अर्को कुरा हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ ।
मनोवैज्ञानिक दृष्टिमा बलात्कारका अनेक कारण हुन्छन् । मानसिक विचलन, अब्सेसन तथा व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् । हिन्दी फिल्म दिवाना र अग्नि साक्षीमा यस्तै कुरा देखाइएको छ । तीमध्ये पुरुषमा हुने पुरुषत्वको अहम् एक प्रमुख कारण हो । यस कुरामा जोड दिँदै महिलावादी लेखिका सुशन ब्राउनमिलरले भनेकी छन्ः बलात्कार कामुकता (लस्ट) का कारणले होइन कि नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ ।
प्रसिद्ध समाजशास्त्री प्रा.डा. डाइना ईएच रसेलले पोर्नोग्राफीका कारणले पनि समाजमा यौन दुव्र्यवहार यसरी बढेको जनाउँछिन । उनको भनाइ छ कि पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्ति यौन उत्तेजनामा आउँछ र उत्तेजना मेट्ने सहज माध्यम पाएन भने समाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्न समेत अग्रसर हुन पुग्छ ।

बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा समेत चोट परेको हुन्छ । यस्ता महिलाहरूले लोकलाज, अपमानित, भ्रम, भयत्रास, तनाव, क्रोध तथा बदलाको अनुभव गर्छन् । यस्ता लक्षणहरू एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म पनि देखा पर्न सक्छन् । तर धेरै बलात्कृत महिला पीटीएसडीको सिकार बन्न पुग्छन् ।

बलात्कार समाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।

हुन त दण्डसजाय बलात्कारको एक मात्र समाधान होइन । तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यूनीकरण गर्न सक्षम रहेको देखिन्छ । बलात्कारमा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो किनभने समाजका घटेका अधिकांश बलात्कारका घटना पुरुषद्वारा नै गरिएको देखिन्छ। त्यसैले, यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ। एक असल मानिसले आफूलाई महिलाभन्दा श्रेष्ठ हुँ भन्ने अहम् राख्दैन । महिलालाई यौन साधन ठान्दैन । ऊ विवाहित वा अविवाहित जस्तो भए पनि आफ्नो ऊर्जालाई समाजको विकास र भलाइका लागि सदुपयोग गर्छ। एक असल मानिसले बलात्कारको कल्पनासमेत गर्दैन । असल मानिसले अनेक बाहना बनाएर प्रेमका नाउँमा आफ्नी पत्नी वा केटी साथीलाई समेत बलात्कार गर्दैन । त्यसैले महिलाले पति रोज्दा हरेक रात बलात्कार गर्ने पति होइन, शारीरिक रूपमा आर्कषक तथा बलवान् नभए तापनि एक असल पति रोज्नुपर्छ ।’

महिलालाई असल पति वा साथी खोज्न सजिलो छैन । तर महिलाहरूले बलात्कारप्रति सचेत भएर यसबाट बच्ने उपाय अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने साहस देखाउने हो भने घरबाहिर होस् वा घरभित्र होस्, बलात्कारका घटनामा धेरै कमी आउने पक्का छ ।

छोरीलाई बोझ होईन ओज, खोज र स्रोतको प्रेरणादायी भूमिकामा सहयोग गरौं, आमा, छोरी,जिवनसंगीनी,बहिनी, दिदी सवै तपाईका निकट अनन्य हुनेछन। सवैभन्दा ठूलो कुरा तपाईंको उजाड जिवनमा वसन्त कि बहार बनी सम्मूख हुनेछिन- नारी ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button