सम्पादकिय

कालो कोटको आडमा कलंक

भनिन्छ, कानूनको हात लामो हुन्छ। सेतोलाई कालो र कालोलाई सेतो बनाऊने हैशियत केवल कालो कोटधारी कानूनका अधिकारीले मात्र सक्तछन। कालो कोटधारी कानूनका अधिकारीहरुमध्ये पनि कतिपय ईमान र स्वाभिमानमा बाँचेका ती तमाम कानूनका ज्ञाताहरुप्रति नतमस्तक हुन मन लाग्दछ, गर्व गर्न मन लाग्दछ- जसले सांच्चिकै पिडितका पक्षमा पैरवी गर्दै आईरहेका छन। खुंखार अपराधी एवं निवर्तमान कांग्रेस सांसद मो. अफताव आलमको बिपक्षमा र आलमद्वारा पिडित बनाईएकाहरुको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ताहरु युवराज संग्रौला, दिनेश त्रिपाठी, गोविन्द शर्मा `बन्दी´ लगायतका वकिलहरु आज पनि यो देशमा छन र त धेरै हदसम्म कालो कोटको इज्जत बंचेको छ। नूर झुकेको छैन र लाग्छ, यस्तै कर्मशिल र स्वाभिमानी कानूनका खेलाडीहरुकै पैरवीका कारण पवित्र न्याय क्षेत्रको साख जोगिएको छ।

अपराधीले जघन्य अपराध गरेर कुम्ल्याएको पैसामा र्याल काढ्दै अपराधीको पक्षमा बहस गर्ने ति तमाम कथित वरिष्ठ अधिवक्ताहरु भनिने प्रेमबहादुर खड्का, शम्भु थापा, शेरवहादूर केसी, रमणकुमार श्रेष्ठ, सुनिल पोख्रेल, योगेन्द्र अधिकारिलगायतका अन्य वकिलहरु न्याय क्षेत्रका धब्बासिवाय अर्थोक केहि होईनन। हुन त अपराधीको पक्ष या बिपक्षमा जता पनि लड्न पाऊनुपर्ने सम्बन्धितको कार्यक्षेत्रको बिषय पनि हो र यो उनीहरुको पेशा पनि हो भनेर भनिन्छ। तर, मनन गर्नुपर्ने बिषय के छ भने देशमा सुशाषन, मानवअधिकारको प्रत्याभूती, कानूनी राज्यको परिकल्पना, लोकतन्त्र आदिका लागि भनेर संघर्षशिल रहंदै आएका र सोहि प्रत्याभूतिका लागि उच्च सरकारी सेवामा समेत रहिसकेका ब्याक्तिहरु आज आएर पैसाको लागि छुच्चो मुख लगाऊँदै यौटा खुंखार अपराधीलाई निरअपराध सावित गर्न हदैसम्मको बल गर्नुले त्यस्ता अधिवक्ता र वकिलहरुलाई देश र कानूनका हिमायति कदापी मान्न सकिँदैन। राज्यको उच्च ओहोदामा समेत रहिसकेर ख्याति कमाएका कथित ख्यातिप्राप्त ब्याक्तिहरु नै यौटा खुंखार अपराधीको पक्षमा उंभिएर उसलाई निर्दोष सावित गर्न लागिपर्न कदापी सुहाऊने बिषय होईन। आज छुच्चो मुख लिएर पैसाको पैरवी गर्नेहरुलाई सायद हेक्का छ कि छैन, त्यहिं पैसाकै कारणले समाजमा उनिहरुको अनुहार कालो परिसकेको छ।

पीडा के हो, वास्तवमा पीडा भोग्नेलाई थाहा हुन्छ। आलमलाई पीडा के हो त्यो थाहा हुन्न र आलमको पक्षमा वहस गर्ने कथित भिआईपी अधिवक्तादेखि वकिलहरुसम्मलाई पनि थाहा छैन। पिडितको अन्तरआत्माको चिंगारले पनि एकदिन अवश्य पोल्नेछ। सामाजिक संजाललगायत कतिपय मिडियामा आलमका पक्षमा वहस गर्ने ति तमाम अधिवक्तादेखि लिएर वकिलहरुलाई सामाजिक वहिष्कार गरौं भन्ने आवाज तिनै पिडितहरुको चिंगारको पहिलो प्रमाण पनि हो।

आम जनताले सबैभन्दा भरोसा गर्ने संस्था हो- अदालत। अदालतमा जब कानूनका कथित ठेकेदारहरु हावी हुन्छन, अदालत समेत बदनाम् हुनपुग्दछ, अदालतको गरिमा ध्वस्त हुन्छ र कानूनको परिभाषा र धाराप्रवाह उल्टो दिशातर्फ मोडिन पुग्दछ। आम नागरिकको अदालतप्रतिको मोह बिस्तारै विकर्षण र रोषतर्फ बदलिन थाल्दछ, कारण- आलमको पक्षमा वहस गर्न रुचाऊने कथित वरिष्ठ अधिवक्तालगायतका वकिलहरुको कर्तुत देखेर। र, फेरि पनि अदालतमा आम नागरिकको विश्वास किन दृढ छ भने अदालतमा सम्माननिय कानूनका ज्ञाताहरु पनि छन। युवराज संग्रौला, दिनेश त्रिपाठी, गोविन्द शर्मा `बन्दी´ लगायतका वरिष्ठ अधिवक्तासहित अन्य धेरै स्वाभिमानी न्यायाधीशहरु पनि छ्न, त्यसैले त आम नागरिकको अदालतप्रति मोहभंग हुनसकेको छैन।

हाम्रो कामना हो- पिडितले न्याय जसरि पनि पाऊनुपर्दछ र अपराधीले उन्मुक्ति पाऊनु हुँदै हुँदैन। अपराधीको पक्षमा पनि वकालत गर्न पाऊने न्यायाधीशहरुको पेशा र अधिकार भएता पनि अस्वाभाविक हुल र प्रलोभनको आश अन्तत: देश र समाजको लागि घातक नै हो। थोरै पैसाको लालचमा आफ्नो आजसम्मको समाजिक प्रतिष्ठासमेत धरापमा पार्ने वकिलहरुलाई त केहि भन्न सकिन्न, तर यस्तैको कारणले न्यायक्षेत्र बद्नाम चाहिँ अवश्य भएको हो।

तथ्य बंग्याऊन सक्छौ, तर सत्य लुकाऊन सक्तैनौ। विभिन्न संचारमाध्यममा आलमका मान्छेले पिडितलाई अपहरण तथा कब्जामा लिई धाकधम्की, त्रास र प्रलोभनमा पारेर बयान बदल्नको लागि जवर्जस्ती यातना दिएका समाचार छ्याप्छ्याप्ती छन। पिडितका भिडियो रेकर्ड देखि अन्तर्वार्ता तथा विभिन्न समाचारहरु सार्वजनिक भैसकेको अवस्थामा अदालतले पनि सूझबुझपूर्ण निर्णय लिओस- हाम्रो कामना।

अदालतको साख अदालतले नै कायम गर्ने हो, न्यायाधिश र वकिलले होईन। अदालतको गरिमा स्वयं अदालत र स्वभिमानी न्यायाधीशले राख्ने हो, बिकाऊ वस्तुले होईन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button