अर्थ बजार

क्षेत्रीय विद्युत ब्यापारको लागि उर्जा सम्मेलन काठमाण्डौमा शुरु

काठमाडौंमा उर्जा सम्मेलन सुरु भएको छ । क्षेत्रीय विद्युत व्यापारलाई प्राथमिकतामा राखेर स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईपान) ले आयोजना गरेको सम्मेलनमा नेपालको जलविद्युतमा गरिने लगानीले क्षेत्रिय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताएका छन् ।

नेपालमा उत्पादित विद्युतले नेपालको आर्थिक विकासमा फड्को मार्ने मात्र नभई तीब्रतर आर्थिक विकासमा अगाडि बढेको एसियालाई नै सहयोग पुर्याउने उनीहरुको भनाइ छ ।

बिहीबार सम्मेलनको उद्घाटन गर्दै उर्जा मन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा लगानीका लागि आह्वान गरे । उनले पछिल्ला वर्षमा नेपालको जलविद्युत उत्पादन बढिरहेको भन्दै आगामी ३ वर्षभित्र सबैको पहुँचमा विद्युत पुर्याउने सरकारको तयारी रहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले सहजीकरण गरिरहेको पनि बताए ।

बंगलादेशका ऊर्जा राज्यमन्त्री नास्रुल हामिदले क्षेत्रीय व्यापार सहजीकरण र प्रशारण लाइन निर्माणमा जोड दिए । यसअघि नै पाँचसय मेगावाट विद्युत बंगलादेश लैजान सम्झौता गरिसकेको भन्दै आफ्नो देशलाई ऊर्जाको माग रहेको बताए । दक्षिण एशियाको अर्थतन्त्रलाई विद्युत आयोजनाले बलियो बनाउन सक्ने भन्दै अन्तरदेशीय प्रसारणलाइनमा विशेष जोेड दिए । जलविद्युतले दक्षिण एशियाको अर्थतन्त्रलाई बलियो बनाउने उनको भनाई थियो ।

भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले यस क्षेत्रका विद्युतको माग बढ्दै गएको बताए । बढ्दो क्रममा रहेको यस क्षेत्रको आर्थिक विकासका लागि उत्पादित विजुलीको खपत सहज रहेको भन्दै उनले बढ्दो क्रममा रहेको जनसंख्याका कारण पनि विद्युतको माग थप बढ्ने बताए ।

कार्यक्रममा डच् डेभलपमेन्ट बैंक (एफएमओ)की प्रमुख लगानी अधिकृत लिन्डा ब्रोकुइजेन नेपालको जलविद्युत उत्पादनमा विदेशी लगानी अपरिहार्य रहेको बताइन् । नेपालमा जलविद्युतको अथाहा सम्भावना रहेको र यसको उत्पादनमा नेपालको लगानीले मात्रै नपुग्ने उनले बताइन् । जलविद्युतमा एफएमओ, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले विदेशी बैंक तथा संस्थाले लगानी भित्र्याउन भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

नेपालस्थित विश्व बैंकका प्रमुख फारिस एच हाडाज्जेर्भोज्ले उर्जा नेपालको सामाजिक आर्थिक विकासको ‘ड्राइभर’ रहेको बताए । एशिया क्षेत्रमा विद्युतको माग उच्च रहेको भन्दै उनले यस क्षेत्रबीच विद्युत व्यापारका लागि बलियो आधार तयार बनाउनुपर्नेमा जोड दिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारत नेपालको विद्युत विकासमा गम्भीरतापूर्वक लागेको बताए । उनले समयमै उच्च प्राथमिकताका साथ आयोजना अगाडि बढाउन सके त्यसले नेपाल, भारतसहित क्षेत्रीय विकासका सहयोग पुर्याउने उनको भनाइ छ ।

इपानका अध्यक्ष शैलेन्द्र गरागाईले निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने बताए । जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको भन्दै उनले यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विद्युतलाई एशियाली बजारमा प्रबद्र्धन गरिनुपर्ने उनले बताए ।

दुई दिने सम्मेलनमा ६ सयभन्दा बढी स्वदेशी, विदेशी लगानीकर्ता तथा सरकारी अधिकारी सहभागी छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button