प्रदेश ५समाज

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त घोषणा गर्ने तयारी

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त घोषणा गर्ने तयारी थालिएको छ । उक्त अभियानका लागि नगरपालिकामा १५ हजार विद्यार्थीलाई सहभागी गराएर सामूहिक कक्षा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।

वातावरण सम्बन्धि आम मानिसमा चेतना फैलाउन नगरपालिकाले आगामी माघ १० गते करिव दुई घण्टासम्म चल्ने सामूहिक कक्षामा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई विश्वको बढ्दो चिन्तन जलवायू परिवर्तन सम्बन्धि प्रशिक्षण दिने बताएको छ । कार्यक्रममा पांच हजार बुद्धिजीवीहरुलाई समेत सहभागी गराइनेछ । रुपन्देही जिल्लाका हरेक विद्यालयका विद्यार्थीहरु सहभागी हुने यो कार्यक्रममा उपस्थित विद्यार्थीले एक झोला प्लाष्टिकजन्य फोहर लिएर मात्र प्रवेश गर्नेछन् ।

यसका लागि सीम नेपालको संयोजनमा करिब दुई सय स्वयंसेवकको रोहवरमा तिलोत्तमा नगरपालिकाका हरेक समुदायका अभिभावक, विद्यार्थीहरुले प्लाष्टिकजन्य फोहर संकलन सुरु गरेका छन् । शुक्रबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा वातावरणविद् एवं अभियान्ता निमेश ढाकाले दिएको जानकारी अनुसार कृषि भूमि, खोला, नदी, बाटो, गल्ली, वनजंगल, खोल्सा, पोखरी, नाला लगायत सम्पूर्ण प्लाष्टिकजन्य पदार्थलाई संकलन गर्ने उद्देश्यले यो अभियान चलाइएको हो ।

त्यस्तै तिलोत्तमाका हरेक वडाका ८५ सामुदायिक तथा निजी विद्यालयमा ग्रिनरी नेपालले गरिरहेको कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ । हरेक वडाका टोल विकास समितिहरुसंग समन्वय गरी प्रत्येक बिहान सरसफाई कार्यक्रम गरिने वातावरणविद् ढाकाले बताए । देशका अधिकांश जिल्लामा अध्ययन र अनुसन्धान गरेर बनाइएको वातावरण सम्बन्धि मिलानकोली वृत्तचित्र प्रदर्शन तथा सरसफाई कार्यक्रम पनि हरेक सांझमा गरिनेछ । ढाकाका अनुसार यसका लागि चार समूहमा विभाजित स्वयंसेवकहरुले नगरमा हरेक दिन चार स्थानमा कार्यक्रम गर्नेछन् । तिलोत्तमा नगरपालिका क्षेत्रलाई राष्ट्रियस्तरबाटै प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने दृढ संकल्पसहित यो कार्यक्रम सुरु गरिएको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button