प्रदेश ५समाज

अर्घाखांचीको नरपानीमा भएको बस दुर्घटना सांघुरो सडकमा गाडीको स्टेरिङले मोड काट्न नसक्दा भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान

अर्घाखांची : अर्घाखांचीको सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै कालाखोलामा बुधवार भएको बस दुर्घटना सांघुरो सडकमा गाडीको स्टेरिङले मोड काट्न नसक्दा भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । दिउसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालि अन्तर्गतको लु २ ख २१४८ नम्बरको बस चार बजे दुर्घटनामा परेको थियो ।

गोरुसिंगे सन्धिखर्क सडकखण्डको नरपानीदेखि घुम्तीसम्मको सडक धेरै मोड सहितको सांघुरो भएको भन्दै गत मंगलबारदेखि चौडा गर्ने र मोडहरु कटिङ गर्ने काम शुरु गरिएको थियो । सोही कामको लागि मंगलबारदेखि बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउसो १ बजेदेखि ४ बजेसम्म सडकमा सवारी साधन रोकिन शुरु गरिएको थियो । सडकमा खटिएका नरपानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुर्यप्रसाद पन्थीले यात्रुले भरिएका र सन्धिखर्कबाट छुटेका बसहरुलाई प्राथमिकता दिंदै अगाडि बढाइरहेका थिए । तर २ घण्टा सडकमै रोकिएको उक्त बस ६ सय मिटर अगाडि पुग्दै गर्दा दुर्घटनामा परेको थियो।

एकतर्फी रुपमा मात्रै सवारी साधन पठाएको अवस्थामा अगाडी खाली रहेको र हल्का उकालो सडकमा दुर्घटना हुनु चालकले मोडमा स्टेरिङ काट्न नसक्नुले हुनसक्ने पन्थीले बताउनुभयो । दुर्घटनास्थल एउटा मोडको खोंच पार गरेर अर्को मोड घुम्दै गर्दा भएकोले पनि पन्थीको भनाईलाई मान्न सकिने देखिन्छ । तर दुर्घटना के कारणले भयो भन्ने विषयमा भने प्रहरीले अध्ययन गरिरहेको जनाएको छ । घटनास्थलको सडक मुश्किलले १२ फिट मात्र चौडाईको रहेकोले पनि तत्काल स्टेरिङ नघुमेको कारण बस दुर्घटनामा परेको देखिएको छ । घटनास्थल भन्दा ५/७ फिट अगाडी पछाडी रुखहरु रहेपनि बस पल्टिएको स्थानमा रुखहरु नभएको कारण पनि बस धेरै तल पुगेको प्रहरी सहायक निरीक्षक पन्थीले बताउनुभयो ।

गाडीधनी, चालक र १७ जना यात्रु गरी १९ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा परि १६ जना यात्रु घाइते भएका छन् । जसमध्ये सन्धिखर्क नगरपालिका १ का ३ वर्षका एन्जल भट्टराई र छत्रदेव गाउंपालिका ७ ढिकुराका १९ वर्षिय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन् । १४ जना घाइतेहरुको बुटवल, भैरहवा र काठमाण्डौंमा उपचार भइरहेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button