मुख्य समाचारसमाज

प्रभावकारी बन्दै सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम

गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो । मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवार्र्ई उद्धारलाई तीव्रता दिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार २९ जिल्ला पूर्णरूपमा र विभिन्न जिल्लामा आंशिकरुपमा सो कार्यक्रम लागू भएको छ । गत आवमा २६ महिला लाभान्वित भएको मन्त्रालयको तथ्याङ्क छ । ती महिलामध्ये हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु, सोलुखुम्बु, गोर्खा, कालिकोट, म्याग्दी, रुकुमपूर्व, जाजरकोट र सल्यान जिल्लाका छन् । यी महिलालाई त्यहाँबाट तोकिएको अस्पतालमा पुर्याएर उपचार गरिएको मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताउनुभयो । मन्त्रालयका सहसचिव तथा महिला सशक्तीकरण महाशाखा प्रमुख रुद्रादेवी शर्माको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button