खेलकुद

साग खेलकुदको उद्धाटन र समापनको दिन राजधानीमा जोर बिजोर नम्बर प्रणाली लागू गरिने

ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवधिमा राजधानीमा जोर बिजोर सवारी नियम लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक व्यवस्थापनालाई चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन रिङरोड भित्र सञ्चालन हुने सवारी साधनमा जोर बिजोरको नियम लागू गरिएको हो।

रिङरोडभित्र सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई मंसिर १५ र २४ गते जोर बिजोर प्रणााली अनुसार सञ्चालन गरिने छ। महाशाखाका अनुसार १५ गते बिजोर नम्बरका सवारी साधान सञ्चालन हुनेछन् भने २४ गते जोर नम्बरका गाडी सञ्चालन हुनेछन्। सवारी नम्बरको अन्तिम अंकको आधारमा जोर बिजोर लागू हुनेछ। मोटरसाइकलसहित सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा यो नियम लागू हुने महाशाखाले जनाएको छ।

आइतबारबाट सुरु हुने १३औँ सागमा करिब १९ हजार सुरक्षाकर्मी परिचालित हुने छन्। सागको सुरक्षा समितिको संयोजक प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल छन्। सुरक्षा व्यवस्थालाई मजबुत बनाउन उक्त समितिले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी ढंगबाट परिचालन गर्ने छ।

काठमाडौं र ललितपुरमा हुने खेल मैदान र खोलाडीको बासस्थानको सुरक्षा प्रबन्ध प्रहरी मुख्यालयले मिलाएको छ। जनकपुरमा हुने खेलमा प्रदेश–२ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखले नै सुरक्षा नेतृत्व गर्नेछन्।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले सागको सुरक्षा व्यवस्था प्रभावकारी ढंगले मिलाएको बताए। उनले भने’, आईजीपी सापकै नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुनेछन्। कुनै त्रुटी हुन दिंदैनौं।’

महानिरीक्षक खनालको संयोजकत्वमा रहेको सुरक्षा समितिमा सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका डीआइजी दीपककुमार थापा, सशस्त्र प्रहरीका डीआइजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकुद परिषद्की सरस्वती केसी भण्डारी सदस्य छन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button