१३ औं दक्षिण एसियाली खेलकुद ( साग )

साग : पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

काठमाण्डौ : १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फ नेपालले कास्य पदक जितेको छ। सोमबार (आज ) सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको हो।

किर्तिपुर मैदानमा सम्पन्न खेलमा माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि आरिफ शेखले सर्बाधिक ३२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, रोहित पौडेलले १४ रन र बिनोद भण्डारीले १२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले २० ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९४ रन बनायो। उसका मोहम्मद महफूजले १९ रनमा अविजित रहँदा ११ बलमा २ चौका र १ छक्का हाने। मोहम्मद रिजवानले सर्बाधिक १७ रन बनाए। १८ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान मोहम्मद महफूजले २३ बलमा २ चौका सहित १६ रन बनाए। उमर एडमले पनि १३ रनको योगदान दिए।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका लागि देब्रे हाते स्पिनर ललितसिंह राजबंशीले ३ महत्त्वपूर्ण विकेट लिए। ४ ओभर बलिङ्ग गरेका उनले मात्र ६ रन खर्चे। त्यस्तै अफ स्पिन बलिङ्ग गरेका पुर्व कप्तान पारस खड्काले १ मेडन राख्दै १८ रन खर्चेर १ विकेट लिँदा अर्का देब्रे हाते स्पिनर सुशन भारीले २४ रन खर्चेर २ विकेट लिए।

आजै हुने फाइनल खेलमा बंगलादेश र श्रीलंकाको यु-२३ टिमले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन्।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button