राजनीति

नेकपा नै उपसभामुखको बिपक्षमा

प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन सुरु हनुअघि शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

शुक्रबारकाे पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ । सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताउनुभयो ।

सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उहाँको हकमा लागू नहुने तर्क गर्नुभयो । संसद् बैठकबाट बाहिरिनुभएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उहाँले हाँस्दै ठट्यौली शैलीमा भन्नुभयो, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आउनुभएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button