कला साहित्य

मेरी दोलखा रानी !

गरिमा घिमिरे
आनन्द भनेको महशुस गर्ने कुरा हो। यसलाइ खोजेर कहिँ कतै भेटिदैन । त्यसैले मेरी प्रिया दोलखी रानी ! मेरो आनन्द भनेको तिमी हौ । त्यसैले त म कल्पनामा होस या स्पर्शमा दुबैमा तिमीसँगै पग्लिएर बिलिन हुन असाध्यै मनपराउँछु ।

एकान्तमा तिम्रो प्राकृतिक रुप मुस्कान र हरेक बिहानको स्वर्णिम स्वर्गीय संस्कारको व्यबहारले तिम्रो अगाद सामिप्यतामा मलाई पुर्याइरहेको हुन्छ । तनले म केही दूरमा छु तर पनि भावनामा उहीँ तिम्रो काखमा लुट्पुटिरहेको हुन्छु। कति न्यानो र प्रीय भेट हुन्छ है हाम्रो यो दैनिकी भेट ! , सायद ,उहीँ सृष्टि कर्ता भगवान पनि हाम्रो मिलनको ईर्ष्या गर्छन होला है प्यारी!

सम्झन्छु ! त्यो गौरीशंकर हिमालको चिसो सिरेटो शैलुङको हिउँ, टुट्वानको चौर बिगुको आलु तरेभीरको शिलाजीत निकाल्ने तारे पहरा ठोसे एबोको डिल जिरीको चेर्दुङ डाँडा छोक्साका काफल र ऐंसेलु अनि तिम्रो नदि र छहरा जस्ता नागबेली कपालमा सिहुरिएका राताम्य गुराँसका थुंगाले म भुतुक्कै हुन्छु । अझ शरीरभरी सेतो सफा हिउँको पछौरीले आफ्ना स साना थुम्काहरु छोप्दा बिहानी घामको किरणले तिम्रो पच्छौरी हटाउन खोज्दा म पनि तिमी जस्तै लाजले कक्रक्क परिरहेको हुन्छु ।

तिम्रो शिरको लालिगुराँस कसैले टप टप टिप्दा उस्तै तिमी जति नै दुख्छु । मलाइ लाग्छ तिम्रो ती फूलको थुंगासँगै तिम्रो बैँस यौवन र मुस्कानको उन्माद मैले मात्रै तिमीसँगै लुटपुटिएर टिपिरहन पाउँ जस्तो लाग्छ । तिम्रो शिरबाट जब बिहानीपखको सुर्यको किरण त्यो शरीरभर जता जतै सल्बलिदै सुनौलो बनेर पोख्खिन थाल्दछ त्यो किरण चै मै हुँ कि जस्तो लागेर आफै मस्त लठ्ठिन पुग्छु र आफुले आफैलाइ भुल्न थाल्दछु । तिम्रो शिरदेखी पाउसम्म देखिएका अग्ला पहाड ताल उकाली ओराली कान्ला गह्रामा कुदिरहुँ खेलिरहुँ जस्तो लाग्दछ ।

तिमीलाई पनि उस्तै मेरो हृदयमा खेल्न कुद्न र मस्तीले उफ्रन खुल्लम्खुल्ला निमन्त्रणा छ । तिमीले मलाइ जसरी फ्री भिषामा पलपलमा भ्रमण गराउन सफल छौ । उस्तै मेरो हृदयमा सदावहार तिमीलाइ पनि फ्री भिषा मिलाइरहेको छु। तिमीले मकहाँ आउन कसैको अनुमती कुर्न पर्दैन तिथि र मितिका पात्रो क्यालेन्डर नपल्टाइकन आउ है ! किन कि म तिम्रा अंगहरु जस्तै डाँडाकाँडा छहरा पहरा पाखापखेरी देउराली नदि बन खर्क चौर रुख पात लगायत सारालाइ बेहिसाबसँग आफ्नो बनाएर मेरै मनभित्रै थन्क्याएर राख्न चाहन्छु ।

थाह छ रानी ! के तिमी पनि मलाई यसरी नै माया र याद गर्छौ र ? गरेकी छैनौ भने यसैगरी ममै समर्पित भएर यसैगरी माया र याद गर न है ! हाम्रा न्याना स्पर्श र अंगालो यसरी नै अनन्तसम्म नागबेलीको लहराले बाँधिदिउँ है ।आउ मेरी पृय दोल्खी पृया मेरो हृदयमा बस्ती बसाउँ मेरो चारकोठाको मुटु तिम्रै सुस्वागतको लागि हरदम पन्चैबाजा बजाएर उभिरहेको छ ।

गरिमा घिमिरे, दोलखा।
Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button