सम्पादकीय

याद रहोस- किसानको आंशुको मूल्य ज्यादै महंगो पर्नसक्छ

हुन त अखिल नेपाल किसान संगठन नामक जनवर्गीय संगठन पनि नेपालमा नभएको त होईन। तर यस्ताखाले संगठनमा नाईकेहरु तिनै कृषक लुटुवाहरु हुन्छन, पार्टिका वफादार कार्यकर्ता हुन्छन, नेताका प्याधा हुन्छन र त्यो संगठन किसानमारा संगठनको रुपमा दर्ज हुन्छ र दलालहरुको साँठगाँंठको भरमा नै त्यस्ता संगठनका नाईकेहरुको मुखमा चिकेन लेगको बुझो लागीरहेको हुन्छ, घरपरिवार धानिएको हुन्छ र जीवन सहज भएको हुन्छ।

मजदुर, किसान, जातजाती, सम्प्रदाय, धर्म, पेशा, वर्ण, लिंग, सिमान्तकृत नागरिकका लागि भनेर यो देशमा कतिवटा जनवर्गिय संगठनहरु छन? सायद सयौं नाघ्लान। पार्टिपिच्छे, गुटपिच्छे, समूहपिच्छे, नेतापिच्छे, बिद्यार्थीसंगठनपिच्छे, कर्मचारीपिच्छे हुँदै हरेक उद्योग-कलकारखाना अनि सरकारी अड्डाहरुमा तिनै मजदुर किसानलगायतका हकहितका लागि भनेर खोलिएका सयौं संघसंगठनहरु छन। विभिन्न युनियनहरु छन, विभिन्न खेमाका गुटहरु छन। विभिन्न आस्थाका समूहमण्डल छन, तर आजसम्म यि युनियन, समूह तथा गुटहरुले सम्बन्धितको पक्षमा गरे के? राष्ट्रियताको सवालमा गरे के? देशको सिमा मिचिंदा गरे के? देशको सामाजिक, आर्थिक, राजनैतिक तथा विद्यमान समस्या समस्याको खातिर गरे के?

अखिल नेपाल किसान संगठनरुपी जनवर्गीय संगठनले आजका दिनसम्म आईपुग्दा यसरि उँखु किसानहरु धरधर्ती रोईरहंदा कहाँ के हेरेर बसेको छ? त्यस्तै मजदुर संगठनहरु के कुरेर बसिराखेका छन? चुनावताका यिनै बलिन्धारा आँसु चुहाऊने कृषकसंग बाचा गरेर चुनाव जितेका नेताले कुन अवसरको पर्खाई रोजेर बसेका छन? आखिर के र कसका लागि भनेर खोलिएका हुन यी श्रमिक संगठनहरु? कसको हिफाजत र कसको बर्बादीका लागि संचालनमा आएका हुन यस्ता श्रमिक संगठनहरु? असली किसान, मजदुर र पिडितलाई मर्का पर्दा यौटा साथ र सहयोग रहँदैन भने आखिर किन खारेज नगर्ने यस्ता संघठनहरु?

श्रमिक संगठनहरु भाग खोज्दै हिंड्ने होईन। जेनतेन चलिराखेका उद्योगकलकारखाना या व्यवसायमा विभिन्न युनियनवाजी खडा गरेर अनेकन बखेडा झिकेर मजदुरलाई प्रयोग गरि मालिकसंग मोटो रकमको असुली गर्ने संगठन कदापी स्विकार्य हुँदैन। श्रमिक संगठन मार्फत कुनै पनि श्रमिकको हक अधिकारको रक्षा गर्न विशेष क्रियाकलाप सञ्चालन गर्नु सांगठनिक दायित्व हो । कारखानामा काम गर्ने मात्र होइन, हरेक क्षेत्रमा काम गर्ने मजदुरको हक अधिकारबारे श्रमिक संगठनले सोच्नुपर्छ । रिक्सा चलाउने श्रमिक होस् वा खेतमा हलो जोत्ने वा कारखानामा काम गर्ने वा शारीरिक परिश्रम गरेर जीविकोपार्जन गर्नेहरूको हक अधिकारमा आघात नपरोस् र श्रमलाई अवमूल्यन नहोस् भन्नकै लागि संगठनहरुको स्थापना भएका हुन्छन् । विशेषगरी असंगठित क्षेत्रका मजदुरहरुको सुरक्षा ठूलो चुनौती छ । उनीहरुको काम, ज्यान र ज्यालाको सुरक्षाका लागि पनि संगठनहरुले बोल्नु पर्दछ । तर श्रम सम्बन्धी नेपालको कानूनले औद्योगिक क्षेत्रलाई मात्र समेटेको छ । असंगठित क्षेत्रमा काम गर्नेहरुको अधिकार पनि कानूनले व्यवस्था गराउनु मजदुर संगठनहरुको दायित्व हो । तर न सरकार न मजदुर संगठनहरु कसैले पनि यस क्षेत्रलाई महत्व दिएका छैनन् । मजदुरहरु आफ्नो अधिकारका लागि भन्दा पनि पार्टीहरुलाई सत्तामा पु¥याउन वा टिकाउन उपयोग हुने गरेको पाईन्छ । श्रमिकहरू एक नहुन्जेल हक अधिकारमा आघात पुग्ने र शोषणको अन्त्य हुन सक्दैन । त्यसैले मजदुर संगठनहरु पेशागत अधिकारका लागि संगठित हुनै पर्दछ ।

संगठनहरुले समयानुकूल श्रमिकको ज्याला वृद्धि, सामाजिक सुरक्षाको व्यवस्था गराउन पहल गर्नुपर्ने खाँचो आज पनि छ । यस्तै मजदुरका पक्षमा कानून निर्माणदेखि कार्यान्वयन गर्न दवाव दिन अलग अलग संगठन नभई अधिकारका लागि सबै एकै मोर्चामा उभिन सक्नुपर्दछ । संविधानअनुसार मजदूरमैत्री नीति निर्माण गरेर लागू गर्नुपर्नेमा आज पनि पार्टीगत रुपमा नै संगठनहरु परिचालित छन् । मजदुर संगठनहरुले मालिक र मजदुर बीचको असल सम्बन्ध, लगानीमैत्री वातावरणको लागि सहजीकरण, रोजगारीका अवसरको व्यवस्था गर्न सक्नुपर्दछ । राज्यले तोकिदिएको न्यूनतम ज्यालामा मजदुरहरु बाँच्न सक्ने अवस्था छैन तर त्यही ज्याला पनि कार्यान्वनमा छैन । यस्ता सवालमा मजदुर संगठनहरुको भूमिका खै ? मजदुर संगठनहरु राजनीतिक स्वार्थमा मात्र उपयोग हुने परम्पराको अब पनि अन्त्य नहुने हो भने नेपाली मजदुरहरुले अझै कैयन वर्ष शोषण र उत्पीडनमा नै बाँच्नुपर्छ । उचित ज्यालाको अभावमा धेरै जनशक्ति खाडी मुलुकमा पसिना बगाइरहेको छ । त्यो जनशक्तीलाई स्वदेशमै उपयोग गर्ने वातावरणका लागि मजदुर संगठन र राज्यले ध्यान पुर्याऊनै पर्दछ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button