राजनीति

राजाहरु देशभक्त थिएनन: प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र ल्याउन भूमिका खेल्नेहरूलाई बदनाम गराउन पुराना शक्ति लागिपरेको आरोप लगाएका छन् । संघीय गणतान्त्रिक व्यवस्थामा विगतमा राज्यसत्ता खोसिएकाहरू अभ्यस्त हुन नसकेर वर्तमान व्यवस्थाविरुद्ध लागेकाे उनले बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले परिवर्तनमा नेतृत्व गर्नेहरूलाई मनोवैज्ञनिक दबाब आइरहेको बताए। ‘परिवर्तनका नायकहरूलाई के गरी बदनाम गर्न सकिन्छ? परिवर्तनका नायकहरूलाई के गरी मनोवैज्ञानिक रूपले दबाब दिन सकिन्छ या अन्य तरिकाले भन्ने पनि उनीहरू सोचिराख्छन्,’ उनले भने, ‘सोचिमात्रै राख्दैनन्, त्यो उल्ट्याउनका निम्ति उनीहरू हातखुट्टा फालि पनि राख्छन्। यस्ता कुरामा सबै सचेत हुनुपर्छ।’

कास्कीको अन्नपूर्ण गाउँपालिका-काठमाडौं समाजको कार्यक्रममा दाहालले थपे, ‘म तपाईंहरूलाई आफ्नै जन्मस्थलको हुनुको नाताले यो भावना अलिकति सेयर मात्रै गरेको हो। योभन्दा बढी म भन्दिनँ। मैले बोल्दै गरेको कुरा भोलि एउटा ऐतिहासिक सन्दर्भ बन्न पनि सक्छ।’

कसले परिवर्तन उल्ट्याउन खोजेको हो भन्ने प्रष्ट नपारे पनि दाहालले आफ्नो मन्तव्यको अधिकांश समय पूर्वराजाहरूको आलोचनामा खर्चिएका थिए। उनीहरू गणतान्त्रिक व्यवस्थामा अभ्यस्त हुन नसकेको उनको दाबी थियो। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयाैँ। संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ। सबै संरचना नयाँ छ। यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन’, उनले भने, ‘हिजो राज गरेकाहरूलाई यो मन पर्दैन। उनीहरू कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिँदा त मन पर्दैन नि !’

गरिब जनताले आफ्नो श्रीपेच फालिदेलान् र गद्दीच्यूत गरिदेलान् भन्ने विगतका राजामहाराजाहरूलाई नलागेको दाहालको भनाइ थियो। ‘उनीहरूले पहिले पत्याउँदैनन यी जनता धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसले हाम्रो राज उल्ट्याउलान्, हाम्रो श्रीपेच फाल्लान् भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरूले नपत्याउदाँ नपत्याउँदै पनि गद्दी खोसिदिन्छन्। राज्य उल्टिन्छ,’ उनले भने, ‘राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन्।’

सयौं वर्ष राज गरेर पनि राजाहरूले पृथ्वीनारायण शाह र अंग्रेजसँग लडेका नेपाली राजाहरूको युद्ध कला र कौशलको संरक्षण गर्न नसकेको दाहालको आरोप थियो। उनले राजाहरू देशभक्त नभएकाले ती कुराको संरक्षण हुन नसकेको बताए। उनले भने, ‘ उनैका छोरानातीहरूले सयौं वर्ष राज गरे तर त्यसको सम्बर्द्धन, संरक्षण गरेर पर्यटक आकर्षित गर्ने गरी ती ठाउँहरूलाई अगाडि बढएनन्। साँचो अर्थमा उनीहरू देशभक्त थिएनन्, छैनन् र रहेनन्। उनीहरू विदेशीको अगाडि घुँडा टेक्नेमा पतन भए।’

अहिलेको सरकारले राजाहरूले अंग्रेजसँग लडेका किल्ला संरक्षण गर्न लागेको दाहालले जानकारी दिए। उनले लुम्बिनीलाई विश्वभर बुद्ध जन्मेको स्थलका रूपमा प्रचार गरिरहेको बताए।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button