कला साहित्य

कविता : मिसिसिपीको गिद्ध

चिउँडोसम्म
तपतपी चुहाएर चिप्लेपानी
मिसिसिपीको बगरमा
गजधम्म बसेको छ
घरज्वाइँ भाँती
एउटा गिद्ध
एउटा जब्बरे गिद्ध!

गिद्ध,
स्वभावैले मासु पारखी हुन्छ
मृत पशुको गन्धले परैबाट छुन्छ
फड्कार्दै स्वादे जिब्रो
कहिले कुबेत पुग्छ
कहिले इरान- इराक पुग्छ
थाप्छ ‘जतरी’!

सिकार
जतरीमा नफसेपछि
पेटका मुसाले कोपर्न थालेपछि
बहुलाउँछ
रेबिज लागेको कुकुरभन्दा बढी
र,
दुर्गन्धित थुतुनोमा
विश्वबन्धुत्वको अलैंची उग्राउँदै
लिसो परेको काखीमा
मानवाधिकारको अत्तर छर्कँदै
धावा बोल्छ चोर बिरालोले झैं।

म उसलाई हेरिरहन्छु
ऊ मुडुलो टाउकोमा
राष्ट्रवादी काइँयो चलाइरहन्छ
सायद भत्केका ती
जुम्ल्याहा खामाले झस्काइरन्छ !

हो सानोमा,
बुसटको बाहुलाले नाकेपानी पुछ्दै
कर्णालीको बालुवामा
खुबै खेलियो थाङ्गाको भकुन्डो
जित्नकै लागि
कतिले कति छिर्के हाने हाने
जित्नकै लागि
कतिका नल्ठा सेकियो सेकियो
तर,ती खेल नियम विपरीत थिए
‘आउट अफ कन्डक्ट’ थिए।

म मान्दछु
मबाट भूल भए होला
तर,
मेरो कर्णालीले कहिल्यै झेल गर्न जानेन
बगरको बालुवाले ईमान च्याँखे थाप्न मानेन
साँध छच्किएर
कुनै कासिमलाई बगाएन!

ओ मिसिसिपी
ओई मिसिसिपीका ज्वाइँ
यत्ति ख्याल राख-
बगरमा सधैं भतेर पाक्दैन!

चित्रवहादूर चौधरी

(२०७६ पुस २२,टीकापुर,कैलाली)

जागरणपोस्टलाई फेसबुकमा लाईक गर्न यहाँ क्लिक गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button