कला साहित्य

आचार्ज बाहुनकी छोरी जनजाती मास्टरसंग भागेपछि

सन्तोष चिमरिया
– अम्रिकामा सबैभन्दा दुख मलाई अंग्रेजीको छ । छन त यो दुख मातृका यादबहरुलाई पनि छ । तर मेरो दुख बडी दुःखद् छ । मातृका यादबले त चाहेका भए दोभाषे पाउँथे । तर म माथी त अंग्रेजी घ्याप्पसंग घोडा चडी नै सकेको छ र मलाई दोभासेको बिकल्प पनि उपलब्ध छैन । मेरो लगाम अंग्रेजीको हातमा छ , उसको चाक मेरो पिठ्युँमा छ । उ हट् घोडा हट् गर्छ, चाबुक लगाउछ,दौडाउन खोज्छ तर मेरो खुट्टो राम्रोसँग उचालिन मान्दैन । म कनिकुथी सरकारी स्कुलमा गोबिन्द सरले सिकाएको अंग्रेजी सकेसम्म पर पुगोस भनेर कनेर प्रक्षेपण गर्ने कोसिस गर्छु । तर प्रत्येक पल्ट मेरो प्रक्षेपणको प्रयास असफल हुन्छ र मेरो निष्प्राण अंग्रेजी फ्यात्त भुँईमा झर्छ । म हैरान हुन्छु । म भन्दा बढी हैरान अगाडिको श्रोता हुन्छ । यो दोहोरो हैरानीले म भित्र अथाह दुखको सागर निर्माण भएको छ । अब तपाईंलाई सन्तेलाई त अग्रेजी आउदै आउदो रहेनछ भन्ने लाग्न सक्छ । तर कुरो त्यसो होईन । मलाई अग्रेजी आउँछ । अंग्रेजी कम टु मी । खाडीमा बस्दा मैले मिश्र देशका मिश्री भनिने नागरिकलाई कयौंपटक अंगे्रजी सिकाएको छु । जस्तो सुकुल फिलेल भनेको नाईट ड्युटी , सुभा भनेको मर्निङ, मासलामा भनेको बाईबाई , फुलुस भनेको मनि, मिया भनेको हन्ड्रेड आदि / इत्यादी । तर अरबमा जति ज्ञान बाँडे पनि अरबको अंग्रेजीले अम्रिकामा खुट्टो उचाल्न सकेको छैन भन्न मात्रै खोजेको हो । दुखको कारण यहि हो । अग्रेजी नै आउदै नआउने भन्ने चाहिँ होइन । उहीँ बाहिर उभिरहने खालको अंग्रेजी चाहिँ आउदैन । आईमिन आउटस्ट्यान्डिङ इङ्लिस नट कमिङ ।
भगवान गौतम बुद्धले संसार दुख हो भन्नू भएको छ र दुखको कारण छ भन्नू भएको छ । अब अग्रेजी आइ आइ पनि यो अवस्था आइ पर्नु भनेको दुख हो । र म, मेरा दुखको कारणबारे यहाँ चर्चा गर्न चहान्छु । म थोरै अंग्रेजी र मेरो सम्बन्धको पृष्ठभूमिमा प्रवेश गरेर तपाईंलाई मेरा दुखको कारण बताउन चहान्छु । थोरै हाम्रो सम्बन्धको बारेमा प्रकाश पार्न चाहान्छु, ताकी तपाईंलाई पनि मैले प्रक्षेपण गरेको अग्रेजी किन सफल हुँदैन भनेर जानकारी होस ।
हेर्नुस ! तिनताका म शिशु कक्षामा पढ्थे र पढ्थे सरकारी स्कुलमै । यता हाम्रा गोठमा गतिला गतिला गुजराती भैंसीहरु पालिएका थिए । अनि

हाम्रोबाट दूध ठेक्कामा लैजाने मध्ये एकजना बोर्डिङ स्कुलका पिन्सिपल थिए । पिन्सिपल दुध लान्थे । मिस र हाम्रो एउटा भैंसी संजोगले संगै सुत्केरी भएका थिए । त्यसैले पिन्सिपल सर हाम्रो सुत्केरीको घ्यु, उनकी सुत्केरीलाई ख्वाउन लिएर जान्थे । कहिलेकाही उखर्माउलो गर्मी हुँदा दहि पनि लान्थे । मोहि हाम्रा बाले अरुलाई जस्तै पिन्सिपल सरलाई पनि सित्तैमा दिन्थे । दुध, दहि, घ्यु बेच्नु , महि सित्तैमा दिनु र यसो मानमनितो राखेर भेट्दा नमस्कार बजाउनु आफ्नो ठाँउमा भएपनी हाम्रा बा, अंग्रेजी पढेको मान्छे काम लाग्दैन भन्ने मान्यतामा दृड हुनुहुन्थ्यो ।

त्यसैले म घर नजिकैको सरकारी स्कुलमा पढ्थे । टिपिनमा भागेर घर आउथे । भैंसी चराउथे । चराउदै चराउदै भैंसीलाई लिएर आहालमा जान्थे । भैंसी आहल बस्थ्यो । म पौडी खेल्थे । अनि चिसो भैंसीको डडाल्नोमा बसेर पुनः भैंसी चराउदै चराउदै घर फर्किन्थे । बेलुका भुंडी चर्किने गरि त्यही भैंसीको दूध हालेर भात खान्थे । बिहान त्यही भैंसीको दूध हालेर बासी भात खान्थे र कट्टु तान्दै टिपिनसम्मलाई स्कुल कुद्थे ।
कथा यहाँसम्म पुग्दा मेरो जिन्दगीमा अंग्रेजी प्रवेश भएको थिएन । त्यसो भए कहिले भयो त मेरो जिन्दगीमा अंग्रेजीको प्रवेश ? भयो कहिले त भन्दा पिन्सिपल सरले हाम्रा बालाई तिर्नुपर्ने दुध, दहि र घ्युको रकम नतिरेपछि कथाले अर्कै मोड लिन जादा अंग्रेजीले मेरो जिन्दगीमा प्रवेश पायो । महिना बित्यो । ६ महिना बित्यो । हेर्दाहेर्दै बर्ष नै बितेर गयो तर पिन्सिपल सरले तिर्नुपर्ने रकम तिरेनन । बाको उठ्ती रकम उठेन । बाले सक्दो प्रयास गरे । आमाले सम्झाईन । तर कसैगरी पिन्सिपल सरले पोइसो तिरेनन । अब नभएर तिरेनन कि, दिन मन नलागेर तिरेनन कि अथवा मलाई बोर्डिङ स्कुल जान लेखेको रहेछ र तिरेनन त्यो दैब जान्दछन । म जान्दिन ।
म के मात्रै जान्दछु भने, हाम्रा बाको एउटा गर्बिलो इतिहास थियो र अझैसम्म पनि छँदैछ । कीर्तिमानी ऎतिहाँसिक दस्तावेजमा स्वर्ण अक्षरले के लेखिएको छ भने- हाम्रा बाको चाराना दाम आजसम्म कसैले हजम गर्न सकेको छैन र कसैले हजम गरुंला भनेर नचिताए पनि हुन्छ । बाको अटल मान्यता के छ भने, चाराना पैसो कसैको खान पनि हुँदैन र चाराना पोइसो कसैलाई छोड्न पनि हुँदैन । यो बाको अटल मान्यता हो । अब दार्जिलिङ तिरबाट आएर बोर्डिङ स्कुल खोलेका नयाँ माड्सापलाई बाको इतिहास थाहा भएन कि कुन्नी ! उनले बाको पोइसो तिरेनन । बाको पोइसो उठने छाँट नदेखेपछी कथा अचानक रड्किएर अंग्रेजी मेरो जिबनमा प्रवेश गर्यो । अर्थात , बाको गर्बिलो इतिहास अक्षुण राख्न र ठेक्का लगाएको दुधको बक्यौता रकम चुक्ता गर्न/ गराउन भनी म लिटिल एन्जल्स इङलिस मिडियम बोर्डिङ स्कुल भर्ना भए । जिन्दगीमा पहिलोपटक त्यहीँ मेरो अंग्रेजी भाषासंग साक्षतकार भएको थियो । त्यही मैले जीबनमा दोस्रो भाषा पहिलोपटक सिकेको थिए । सिकेको नि के भन्नू ,सुँगाले गोपिकृष्ण रटेजस्तो रटेको थिए र ति गोपिकृष्ण यस प्रकारका थिए जसको साहराले म अरबमा अग्रेजी ज्ञान बाड्ने गर्थे ।

गुड मर्लिङ सर।

गुड आफ्टर्नुन सर ।

माई नेम इज सन्तोष चिमरिया ।

आई रिड इन किलास वान ।

अनि लास्टको गोपीकृष्ण चाहिँ ,आएम फाइन थ्याक्यु सर थियो ।

हेर्नुस ! म घाँटीमा दाम्लो नबाँधी, खाँदै ,खेल्दै र थोरै पढ्दै स्वन्छ्न्दतापुर्बक हुर्किरहेको बालक थिए । मन लागे स्कुल जान्थे मन नलागे भुँडी दुखेको छ भनेर भन्दिन्थे । कक्षामा बस्न मन लागे बस्दिन्थे, मन नलागे रुख चडेर कलिला अम्बक सक्दिन्थे । टिफिनमा भागेर साथीसंगीसंग पौडी खेल्न जान्थे । माछा मार्थे । बगरका ढुंगा बटुलेर गट्टी खेल्थे । घर फर्केर भैंसी चराउथे । बाख्रा चराउथे । दिनभरी खाली हिडेका फोहोरी खुट्टा लिएर खुत्रुक्क सुत्थे, निदाउथे । भोलिपल्ट ब्युझिँदा उज्यालो भैहाल्थ्यो । अर्थात , जीवन र प्रकृतिसंग नजिक रहेर बालापनको जुन नैसर्गिक आनन्द हुन्थ्यो , त्यो म मजाले लिईरहेको थिए। तर मेरो नैसर्गिक आनन्द र स्वछ्न्दतालाई अपहरण गर्दै मेरो जीबनमा अग्रेजी एकाएक भिलेन बनेर हठात प्रबेश गर्यो । अर्थात – म दाम्लोमा बाँधिएर बोर्डिङ भन्ने स्कुल जानू पर्ने भयो । परिणामस्वरूप, म आफ्नै भाषामा कोइली जस्तो गाइरहेको र मजुर जस्तो नाँचीरहेको बालक एकाएक सुगा जस्तो रट्न र गोपीकृष्ण भन्न बाध्य बनाईए ।

Johny, Johny,

Yes papa?

Eating sugar?

No papa.

Telling lies?

No papa.

Open your mouth

Ha ha ha!

अब यो रटाईमा मैले जम्माजम्मी बुझ्ने भनेको हाहाहाहा मात्रै हुन्थ्यो । बाँकी सबै गोपीकृष्ण ! जसरी सुगालाई गोपीकृष्णको अर्थ थाहा हुँदैन तर गोपीकृष्ण कन्ठस्थ हुन्छ , त्यसरी नै मलाई पनि यो इटिङ फिटिङ थाहा हुदैन्थ्यो ।
मायाको पाठोको नाम चुलबुले थियो । उ सारै चकचके थियो, भनेको म सबै बुझ्थे । माया भनेको, पाठो भनेको, चुलबुले भनेको, चकचके भनेको सबै बुझ्थे । तर जोनी जोनी बुझ्दिन थिए । तर गोपीकृष्ण पार्थे । नपार्नुको विकल्प पनि थिएन । किनकि बोर्डिङ भन्ने तानाशाही साम्राज्य जुन छ, त्यो तिनवटा टाईमा टिकेको हुन्थ्यो । र अझैसम्म सम्म पनि हुँदो हो । रटाई, घोटाई र घाँटीको टाइ ।अघिल्ला दुई बर्ष म कठोर तानाशाही साम्राज्यको बन्दी बनाईए । त्यो कारागारमा रटाई , घोटाई र टाई नमिल्दा म मुर्गा बनाईए । कान समातेर घुडा टेक्न बाध्य बनाईए । नेपाली बोल्दा कलिला गालामा चड्कन खाए । हुँदा हुँदा यसो बाटो घाटोमा धुलो खेल्दा, लुकामारी खेल्दा, सुसु गरेर कस्ले टाढा पुर्याउने बाजि खेल्दा, पौडी खेल्दा र घमाईलो दिनमा उभोंतिरका कंचनजंघा हिमालय शृङ्खलाका मनै हर्ने अनुपम सौन्दर्यको आनंद लिदै ,यसो खोलाको डिलमा आची गर्न बसेकोसम्म बोर्डिङका तानाशाही सिपाहीहरुले देख्न सकेनन् ।
त्यो देखेर भोलिपल्ट बेन्चमाथी उभ्याउथे । धुलो खेल्छ्स ? भागेर पौडी खेल्छ्स ? बाटो मुत्छ्स ? खोला खोला हग्छ्स ? भन्दै सोड्क्याउथे । कन्सिरी तान्थे । दिनभरी घुँडा टेकाएर राख्थे । कुखुरो बनाउथे ।
तर यसरी आफ्नै दूध खाएर हुर्किएको सानो बालकमाथी अत्याचार गरेपछी, हाम्री काली भैँसीले त्यो अत्याचारी साम्राज्यको पिन्सिपल हुम भन्ने सेनापतीलाई श्राप दिई । अनि त्यही श्रापका कारण, दुई बर्ष अगाडी खाएको हाम्री काली भैंसीको दुध र घ्यू पिन्सिपल सरलाई दुई बर्ष पछाडी अचानक लाग्यो र लाग्यो मजाले ।

हाम्री भैंसीमाताको दूध र घ्यूको प्रतापले पिन्सिपल सरको जवानी भित्रैबाट दूध उम्लिए जसरी उम्लियो । उम्लिएपछि पोखियो । कहाँ पोखियो भन्दा, अंग्रेजी ट्युसन पढ्न आउने अचार्ज गुरुकी कलिली छोरीमाथी पोखियो । अर्थात- जनजाती दार्जिलिङवाला माड्सापले उपाद्दे बाहुनकी ,त्यो पनि पूरा गाँउले पुरेत भनेर पुजेका अचार्ज बाजेकि एसएलसी दिन आँटेकी १६ बर्षे तरुनी छोरी लिएर टाप कसे ।

अचार्ज बुढा झन्डै गए तर मलाई भने माल परो । किनभने त्यो बोर्डिङ भनिने तानाशाही साम्राज्य सोभियत युनियन गर्ल्याम गुर्मुल ढले जस्तै ढल्यो । अर्थात् स्कुल बन्द भयो । म कैदमुक्त भए । दोस्रो बिश्व युद्दमा नाजी जर्मनी हारेर यहुदीहरु स्वतन्त्र भएजस्तै म पनि स्वतन्त्र भए । मेरो बालापनका नैसर्गिक अधिकारहरु पुनःस्थापित भए । म बाटामा सु गर्न डराई रहन नपर्ने भो । मैले खोलाका डिलमा आची गर्दा तर्सनु नपर्ने भो । धुलोमाटो जति खेले पनि हुने भो । अनि सबभन्दा ठूलो म रटाई, घोटाई र टाईबाट मुक्त भए । अनि म त्यो बाख्राको कान जस्तो टाई फ्याकेर ,काट्टु तान्दै नजिकैको श्री सरस्वती प्राथमिक बिधालयमा फेरि भर्ना भए ।

तर त्यसको केही महिना नहुँदै, भाईस पिन्सिपल हुम, सर हुम , मिस हुम भन्नेहरू मिलेर त्यही बोर्डिङ फेरि खडा गरेछन् ।
” काँल्दाजु ! फेरि बोर्डिङ चालू भयो । अब केटो पठाई दिनु । बोर्डिङ भनेको बोर्डिङ हो ।”
भन्दै एकदिन बिहानै ती हाम्रा आगनमा आएका थिए । हाम्रा बालाई पुरेतकी छोरी अंग्रेजी बिद्दे पढेको मान्छेले उडाएकोमा , अंग्रेजी र मान्छे दुबैसंग मार्नु जस्तो रिस उठेको रैछ । बुढा बरन्डाबाटै नमज्जाले तातिए ।
” भुत्राको बोर्डिङ र सोर्डिङ ! तेरा बाँसका खुट्टि उखालेर उतै तेरो भुटाङ्तिर लैजा, नत्र आगो लगाईदिन्छु । लाज छैन , शर्म छैन, धर्म छैन । साला ! खुट्टा धोएर पानी खानुपर्ने पुरेतकी छोरी, त्यो शिव शर्मा जस्तो अंगे्रजी बिद्दे पढेको पिन्सिपलले उडायो । झ्याक्ने ! अझ तं मेरा छोरालाई अंग्रेजी पढाउछु भन्दै मेरा आङ्नामा आउछ्स । तेरा सुकेका नली खुट्टा त्यो भैंसीको किलो उखेलेर ठनक्कै भांच्दिम कि याँबाट गैहाल्छ्स ए डाका ! ”
त्यसपछि ती भागे । ति संगै मेरा संम्भावित संकटहरु पनि सबै भागे । अब बोर्डिङ भन्ने कुरो मेरो जिन्दगीमा नफर्किने गरि बाटो लाग्यो । मेरा बाले मलाई मुक्ति दिनुभयो । बोर्डिङसंग मेरो सम्बन्ध बिच्छेद भयो । भावनात्मक सम्बन्ध थिएन । रुचिको सम्बन्ध थिएन । बिच्छेद हुनुले कुनै फरक पार्दैन्थ्यो, परेन पनि ।
तर कक्षाहरु उक्लिदै जाँदा अंग्रेजी फेरि मेरो जिन्दगीमा आयो । ठ्याक्कै त्यसरी नै आयो जसरी प्रचण्ड कम्रेड ,केपी कम्रेडको जिन्दगीमा आए । अर्थात एमालेको जिन्दगीमा माओवादी प्रबेश गरेर जबर्जस्ती नेकपा बनेर यात्रा गरेजस्तै भयो हाम्रो सहयात्रा । आवश्यकताको सिद्धान्तले संगै त भइयो तर उहि नेकपाका दुई अध्यक्षले एकाअर्कालाई नरुचाए जस्तै, नपत्याए जस्तै, नबुझे जस्तै, न स्वीकारे जस्तै मैले पनि अंग्रेजीलाई र अग्रेजीले पनि मलाई रुचाउन, पत्याउन र स्वीकार गर्न सकेन । संगै त भईयो तर एकाअर्कालाई बुझ्न र स्विकार्न कसै गरी सकिएन । तर अध्यक्ष द्वयलाई यात्रा जारी राख्नुको बिकल्प नभए जस्तै , मेरो पनि यात्रा जारी राख्नुको विकल्प थिएन । बिचैमा पढाइ छोड्दा आइपर्ने बाउको लात्तिमुग्री सहन सक्ने खालको ज्यान थिएन । तर पढ्न नछोडेर जतिसुकै संगसंगै हिडे पनि अंग्रेजी र मेरो सम्बन्धले गुणात्मक फड्को कहिलै मारेन । यसको ठाडो असर तपाईं मेरा लब्धाकं पत्रहरुमा मुद्रित प्राप्ताकंमा देख्न सक्नुहुन्छ । अब अतिसय अंग्रेजी जान्नेहरुलाई यो लब्धाकं र प्राप्ताकं भनेको थाहा नहुन सक्छ । त्यो भनेको अग्रेजी विषयमा मार्कसिट्मा प्राप्त अंक भनेर जम्मा ३२ भनेर छापिएको छ भन्न खोज्या हो ।
घोक्दा, ठोक्दा, ट्युसन पढ्दा, कोचिङ जाँदा कसै गरि मलाई अंग्रेजी आएन । आएन र आउदै आएन । अब नआएपछि , हाम्रा बाले भनेजस्तो घोटेर पिलाउनु भएन, सुईमा भरेर घोच्नु भएन ।
तर अंग्रेजी नआए पनि मेरा जुँगा आए र म लक्का जवान भए । म कविता लेख्न थाले । म गजल लेख्न थाले । एकपटक त मैले लेखेको “हावा चलिरहेछ, पात हल्लिरहेछ” भन्ने गजल एउटा पत्रीका पनि छापिएको थियो । अनि म अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचीव भए । स्कुले रेडक्रसको अध्यक्ष भए । हुँदै जाँदा सरस्वती पुजा मुल आयोजक समितिको अध्यक्ष जस्तो गरिमामय पदमा पनि म आसिन भए । एकपटक त मलाई जनयुद्ध लागे प्लाटुन कमान्ड पनि बनाउछु भनेका थिए, तर मर्छु होला जस्तो लागेर गईन । त्यसपछि मैले भ्यालेन्टाईन डेमा एउटी केटीलाई लब लेटर पनि लेँखे । उसले पनि आई लब यु टु भनेर चिठी पठाकी थिई । मलाई पछिसम्म त्यो आई लब यु टु भनेको दुई जनाले नै माया गरागर गर्ने होला भन्ने लाग्या थियो । होइन रैछ । म पनि माया गर्छु भनेको रैछ ।
मैले भन्न खोजेको के मात्रै हो भने, यी सारा मान्छेहरुले मलाई पत्याए । गुरिल्लाहरु देखि छिमेकीकी छोरीसम्म सबैले पत्याए । तर अंग्रेजी नाथेले मलाई पत्याएन । कहिलै पत्याएन र आजसम्म पनि पत्याएको छैन । त्यसैले मैले प्रक्षेपण गरेको अंग्रेजी बारम्बार असफल हुन्छ । मेरो अग्रेजी दुखको कारण यहि हो ।
अब अंग्रेजी बाहेक अरु दुखहरु पनि छ्न । नंबरै ठोकेर भन्नुपर्दा अंग्रेजी एक नंबर दुख हो भने, दुई नंबर दुख हो – यो बिरानो भुमी । अवस्था कस्तो छ भने, पल्लो गाउँबाट वल्लो गाउँमा पाल्न भनेर ल्याएको कुखुरोको जस्तो छ । तपाईंले बिचार गर्नु भएको छ कि छैन खै, पल्लो गाउँबाट वल्लो गाउँमा ल्याउदा कुखुरो बडो छक्क पर्छ । ट्वाँ पर्छ । आफुलाई असुरक्षित महसुस गर्छ । अनि एउटा खुट्टो उचालेर “म कहाँ आए नि नारान !” भन्ने मुद्रामा वरिपरि नियाल्छ र साहारा खोज्दै ककक ककक गर्छ । अनि कतैबाट प्रतिउत्तर नपाएपछि साबधानीपुर्बक दुबै खुट्टा टेक्छ । यसो चारो खोस्रीन्छ । खानु त परो । फेरि अचानक आँतिएका आँखाले संसार नियाल्छ र ककक गर्छ ।
हुनत खुट्टा मैले दुईवटै टेकेको छु । तर मेरो मनोदशा जुन छ, त्यो कुखुराको भन्दा फरक छैन । मलाई पनि- नारान ! कहाँ आइपुगे नि, जस्तो भएको छ । मान्छे भएर ककक ककक् गर्ने कुरो त भएन तर मुखबाट कयौंपटक उच्छ्वास निस्किएको छ ।
हेर्नुस ! अरब छोडेर ३ बर्ष नेपाल बस्दा म अलि अलि बिग्रेको रहेछु । गैर चारोवादी हुँदै गएको रहेछु ।
आइमीन, मेरो पनि बानी कताकता हाम्रा प्रधानमन्त्रीको जस्तो हुँदै गएको रहेछ । सायद धेरै समय उनकै कार्यकालमा बिताएर पनि होला । अथवा जिल्ला एउटै भएर पनि हुनसक्छ । त्यसैले यसो प्रधानमन्त्रीकै जस्तो साथीभाइ भेला परेर गफ दिने , ठट्टा गर्ने, चुट्किला सुनाउने । नहुने नहुने कुरा गर्ने । खासै सिन्को नभाँच्ने बानीको बिकास भएको थियो मेरो ।
बानीको बिकासमा ओलीजीको प्रभाव आफ्नो ठाँउमा होला तर मेरो पेशो पनि त्यसमा जिम्मेवार छ । बसपार्कको मुखैमा मेरो लज थियो । गाउँघरतिरबाट,अरब/मलेसिया तिरबाट, सन्ते भनेर चिन्ने , फेसबुके नातो लाग्ने, भाईसाथीको नातो लाग्ने सबै खालका र खालखालका मानिसहरु आउथे । खान्थे । बस्थे । म पनि साथीभाई पाएपछि अरबको जनवाकर देखि गाउँघरको कोदेवाकर सम्म टुच्च लाउदै झापाली गफ हान्थे । भाईसाथीहरु हो हो भन्दिन्थे । श्रोताले हो हो भन्दिएपछी मलाई पुग्थ्यो । म भातपानी बिर्सिन्थे । भातपानी मात्रै होइन म आफू बिरामी भएकोसम्म पनि भेउ पाउदिन थिए । तर अब मलाई त्यसरी बाँच्ने सुबिधा छैन । मैले यता घन्टा नहानी जिबिका चल्दैन ।
यो ठाँउमा घन्टा घन्टाको महत्व छ हेर्नुस । न वक्ताले सुनाउन भ्याउछ, न श्रोताले सुन्न भ्याउछ । सबलाई घन्ट जो बजाउनु छ । त्यसैले म आफ्नो वृत वरिपरि आफ्ना कुरा सुन्दिने , खाईदिने , हो हो भन्दिने मान्छे नपाएर कुखुरो न्यास्र्याए जस्तो न्यासृएको छु । बिहानै उठेर चियाको दोकानमा चियाको तातो गिलास हातमा लिएर यसो देश/ बिदेशको बारेमा हल्का दिन नपाउदा मलाई ” थुक्क जिन्दगी” जस्तो लागेको छ ।
अब यहि अम्रिकाले यत्रो ५०० मिलियन डलर दिने भनेर भनेको छ । एकसे एक विद्वान, विश्लेषक, लेखक,संचेत नागरिक, सामाजिक कार्यकर्ता, राजनीतिक कार्यकर्ता, फेसबुके , टुईटरे सबलाई यसको केस्रा केस्रामा रहेको राम्रो/ नराम्रो पक्ष रातारात थाहा भैसक्यो ।
हेर्नुस हामी नेपालीलाई कहाँसम्म थाहा भैसक्यो भने, पुर्वसभामुख कृष्णबहादुर महराकोको उत्तेजित लिङ्गको सिधा सम्बन्ध ५०० मिलियन डलरसंग रहेको धेरै अंरिगाल मित्रहरुले पत्ता लगाईसके । यस्तोमा यत्रो सार्बजनिक महत्वको बहसमा सहभागिता नजनाएर घन्टा मात्रै हानेर बस्दा मलाई एकदम नरमाइलो फिल हुन्छ । फिलिङ गुड जस्तो हुँदैन । दुईचार कुराहरु यो बिषयमा दिन पाए हुन्थ्यो जस्तो लाग्छ । रातारात प्राप्त भएको रणनैतिक ज्ञान बिहान चिया पसल र साँझ भट्टीमा बाड्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर पाउदिन । आफू यता आकाश तिर छु , आफ्नो देश पतालमुनि छ । अनि यस्तो अवस्थाम म, देश र जनतालाई सारै मिस गर्छु । यो बिरानो ठाँउमा आफैलाइ आफु त्यही कुखुरो भए जस्तो लाग्छ । एक्लो भएजस्तो लाग्छ । न्यास्रो लाग्छ । तर जति नै जेजे लागेपनी पखेटा भ्याट भ्याट पार्नु भएको छैन । कुखुरी काँ गर्नु भएको छैन ।
हेर्नुस मानिसका दुखहरु , उसको औकात र बेहोरा अनुसारका हुन्छ्न । महान मान्छेहरूका दुखहरु जुन छन , ति पनि महान नै हुन्छ्न । जस्तो, रेल ल्याउन नसकेको दुख, पानीजहाज ल्याउन नसकेको दुख, समृद्धि आउन नसकेको दुख आदि । म जस्तो तुच्छ लघुपुरुषका दुख झिनामसिना हुन्छन् । अंग्रेजी नआउनुको दुख , गफ लाउन नपाउनुको दुख । बुढी भैंसीको मम झोलमा डुबाएर अघाउन्जेल खाएर ढ्याउ गर्न नपाउनुको दुख ,बिहानै आलार्मका तालमा उड्नुको दुख ।
हेर्नुस ! दुख धेरै छन । सन्साना नै सहि दुख कहदै जानू हो भने , यो अगाडिको सांच्चैको पानी जहाजले भरिएको प्यासिफिक सागर झै दुखको सागर निर्माण हुन जान्छ । त्यसैले त भगवान गौतम बुद्धले संसार दुख हो भन्नू भएको छ । तर कालीप्रसाद रिजालले लेखेको एउटा कालजयी गीत नारायणगोपालले पनि गाएका छन भन्ने कुरा हामीले बिर्सनु हुदैन । गीतले भन्छ-
केही मिठो बात गर रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।
रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुख छोड, दुख़लाई त जिन्दगानी छँदै छ ।

त्यसैले दुखको यो आलेखलाई तन्काएर महाकाव्य बनाउन धेरै उचित ठान्दिन । त्यसैले अर्को भेटमा रमाइलो कुरा गर्छु । सपनाको कुरा गर्छ ।
दुख नाथे कति कहनु,
दुखलाई त अम्रिका छदैछ ।
समाप्त ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button