विशेष

स्वस्थानी कथा : एक विश्लेषण

पृष्ठभूमि

माघ महिना नेपालको काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरूमा स्वस्थानी देवीको व्रत, उपासना गर्ने महिना हो। विशेष गरी हिन्दुहरू माझ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सक्नेले व्रत बसेर र नसक्नेले कथा श्रवण गरेर स्वस्थानी देवीको उपासना गर्छन्। काठमाडौँ उपत्यकामा बौद्ध धर्मावलम्बीले पनि स्वस्थानी कथा श्रवण गर्ने गरेको बताइन्छ। धार्मिक कथा वाचन एवम् तदनुसारका कथा श्रवण परम्परा पुरानो हो। हिन्दु धर्मावलम्बीहरू माझ पुराणवाचन बढी लोकप्रिय छ। यसबाहेक सत्यनारायण कथा, रामायण, भारत (महाभारत) आदि वाचन गरेर अर्थसहित सुन्ने सुनाउने प्रचलन पनि उत्तिकै भेटिन्छ। कतिपय कथावाचनमा व्रत र पूजा उपासना पनि प्रासङ्गिग हुन्छन्। विधिपूर्वक व्रत बस्नु र पूजा अर्चनाको साथ कथा सुन्नुलाई धार्मिक कर्तव्यको रूपमै बुझ्ने गरिन्छ। साक्षरता कम भएको र पुस्तकहरूको सहज प्राप्यता नभएको अवस्थामा यसको सामाजिक महत्व बढी नै थियो।
यस्ता कतिपय व्रतहरूको परम्परा लामो रहेको र नयाँ नयाँ पनि विकसित भएका भेटिन्छन्। सन् सत्तरीको दशकमा सन्तोषी माताको व्रत भारत हुँदै नेपालमा पनि फैलिएको थियो। पछिल्लो समय उपत्यकामा वैभव लक्ष्मीको व्रत भनेर नयाँ व्रत बढ्न थालेको देखिन्छ। स्वस्थानीको परम्परा चाहिँ काठमाडौँ उपत्यकामा कम्तीमा पाँच सय वर्ष र उपत्यकाबाहिर कम्तीमा तीन सय वर्ष पुरानो रहेको अनुसन्धानहरूबाट प्रष्ट भएको छ। स्वस्थानीमाथि भएका विभिन्न अनुसन्धानमध्ये जेसिका भ्यान्टाइन बर्किनहोल्जले गत वर्ष रिसाइटिङ गडेस : द न्यारेटिभ्ज अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइजम इन नेपाल शीर्षकको किताब पछिल्लो हो।
अहिलेसम्म प्राप्त सबभन्दा पुरानो स्वस्थानी कथा सन् १५७३ को हो। यो संस्कृतमा थियो। अर्को प्राप्त प्रति सन् १६०३ को नेपालभाषामा थियो। ईश्वर बरालले सन् १६०१ को नेपाली भाषामा लेखिएको स्वस्थानी केशर पुस्तकालयमा देखेको तर पछि त्यो प्रति फेला नपरेको बताएकाले त्यो प्रमाणित हुन सकेको छैन। नेपाली भाषामा लेखिएको स्वस्थानी कथाको सबभन्दा पुरानो प्रति सन् १८१० को मात्र फेला परेको बताइन्छ। छापाखानाको विकास भएपछि छापाको प्रयोजनको लागि पुरानो नेवार लिपिका अक्षरहरू विकास नभएकोले देवनागरी लिपिको नेपाली भाषामा लेखिएको स्वस्थानी कथा किताबको सङ्ख्या बढ्न थाल्यो र उपत्यकाबाहिर टाढा टाढासम्म पनि प्राप्य हुन थाल्यो। पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि नेपाली भाषाको महत्व बढ्दै जाँदा नेपालभाषाको प्रयोग सीमित पनि हुन थाल्यो। उसै पनि नेपालभाषा उपत्यका बाहिर खासै बिस्तारित थिएन। उपत्यकाभित्रै पनि पुरानो लिपिमा लेखिएको नेपालभाषा पढ्न जान्ने मान्छेको अभाव अर्को समस्या थियो।

पुराण र स्वस्थानी

काठमान्डु उपत्यका, त्यस वरिपरिका क्षेत्र र विभिन्न नदी किनारका घाट प्राचीन ऋषिमुनिहरूको बासस्थान रहने गरेको कुरा किम्बदन्तिमा मात्र सीमित छ। पर्याप्त पुरातात्विक अनुसन्धानको अभावले ठोकुवा गरेर भन्न सकिने स्थिति निर्माण भएको छैन। पुराण आदि कतिपय ग्रन्थहरूको लेखन तथा सुधार नेपालभित्रकै भूमिमा भएको दाबी पनि यत्रतत्र सुनिन्छ। मल्लकालमा पशुपति पुराण, स्वयम्भु पुराण, नेपाल महात्म्य आदि रचना गरिएको देखिएकोले पछिल्लो कालका यी सिर्जना पुरानो परम्पराकै निरन्तरता हुन सक्ने सम्भावना भने देखिन्छ। स्वस्थानी कथालाई पनि यही शृङ्खलाको एउटा कडी मान्न सकिन्छ।
पुराणका पाँच लक्षण बताइन्छन् – भौतिक सृष्टि वर्णन, प्राणी जगतको उत्पत्ति वर्णन, देवता तथा ऋषिहरूको वंशावली, देव-देवताका लिला वर्णन र चन्द्रसूर्य वंशका महत्वपूर्ण व्यक्तित्वको जीवनचरित्र वर्णन। यो मापदण्डबाट हेर्दा स्वस्थानी कथालाई पुराणको दर्जा दिन भने सकिँदैन। तर यसमा यी तत्वहरू समावेश गर्ने प्रयास भने गरिएको छ। जेसिकाको पुस्तकमा स्वस्थानी कथामा भएका सुधार र त्यसको पुराणीकरणलाई अभिलेखीकरण गरिएको छ। यसमा ध्यान दिनु पर्ने दुइटा कुरा छन्। पहिलो, पुराण निर्माण निरन्तर सिर्जनाबाट सम्भव हुने कुरा हो। लामो समय र विभिन्न व्यक्तिहरूको संलग्नता रहने हुँदा यसमा विविधता र अन्तरविरोध पनि पाउन सकिन्छ। घटनाहरू थपघट भैरहने र स्मृतिमा भर परिने हुँदा पुराणहरूको वास्तविक स्वरूप कस्तो र कत्रो भन्ने विषयमा विवाद कायमै रहन सक्छ। दोस्रो, आधुनिक कालको प्रारम्भसँगै परम्परागत विद्वत्परम्परा छिन्नभिन्न हुन सुरु भयो। यसले पनि पुराण विकासको मार्ग अवरुद्ध हुन पुग्यो। स्वस्थानी कथाको विकास र यसमा समावेश गरिएका प्रसङ्गहरूलाई हेर्दा यो कुरा पुष्टि हुन्छ।
स्वस्थानीको मूल कथा शिव भट्ट ब्राह्मणबाट सुरु हुन्छ। गोमाको जन्म तथा अनमेल विवाह, नवराजको जन्म तथा विवाह, गोमा र चन्द्रावतीको स्वस्थानी व्रत र अन्तमा नवराजको राजामा वरणपछि गोमाले पाएको सुख तथा सन्तोष नै स्वस्थानी कथाको सार हो। लगभग तीन सय वर्षसम्म यही प्रारम्भिक कथा नै प्रचलनमा थियो। प्रचलित कथामा भएका अन्य प्रसङ्गहरू पटक पटक गरेर पछिल्लो दुई सय वर्षमा थपिएका हुन्। एकतीस अध्याय र एक महिनाको व्रत पनि पछिल्लो समयको रूपान्तरण हो। यसअघि बाइस अध्याय मात्र थियो। प्रचलित स्वस्थानी कथा किताबमा उल्लेख गरिने स्वस्थानी व्रत तथा पूजा विधि नेपाली भाषामा स्वस्थानी प्रचलनमा आएपछि विकास गरिएको हो। व्रत-उपासना पनि अड्चालिस घन्टेबाट एक महिनामा अठारौँ शताब्दीमा मात्र बिस्तार गरेको प्रमाण पाइएको छ (बर्केन्होल्ज, पृ. १०९)। जेसिकाका अनुसार नेपाली भाषामा पुराणीकरण हुन थालेपछि नेपालभाषामा पनि पुराणका अंशहरू थपिन थालेका हुन्। तर नेपालभाषामा थपिएका अंश नेपाली भाषाको अंशसँग ठ्याक्क मेल चाहिँ खाँदैनन्।
प्रचलित स्वस्थानी कथाका प्रत्येक अध्यायपछि कथाको स्रोत भनेर स्कन्द पुराणलाई उल्लेख गरेको पाइन्छ। स्कन्द पुराण भनेको महादेव-पार्वती (वा गंगा) पुत्र कुमार (स्कन्द) बाट वाचन गरिएको कथा हो। स्वस्थानीमा पनि कथावाचक कुमार नै छन्। तर स्वस्थानी स्कन्द पुराणको अंश भने होइन। स्वस्थानीको उपासना गरिएको गोमाको मूल कथा कुनै पनि पुराणको अंशको रूपमा प्रमाणित भएको छैन। स्वस्थानी स्वयंको पनि देवीको रूपमा पुराणमा उल्लेख भएको भटिँदैन। हालका संस्करणहरूमा पद्मपुराण र स्कन्द पुराणको सन्दर्भ दिने गरिए पनि प्रारम्भकालीन स्वस्थानीलाई लिङ्गपुराणको अंश भनेर उल्लेख गरिएको छ। जबकि प्रचलित लिङ्गपुराणमा पनि स्वस्थानीको यो कथा भेटिँदैन। छुट्टै पुराण पनि नबनिसकेको र स्रोत भनेर उल्लेख गरिएको पुराणमा कथा नभेटिनु खोजको विषय हो। यसको दुईमध्ये कुनै एक कारण हुन सक्छन्। स्वस्थानी कथाका लेखकले सर्वसाधारणमाथि कथा र स्वस्थानी देवीमाथि विश्वास सिर्जना गर्ने उद्देश्यले पुराणको नाम उल्लेख गरिदिएका हुन सक्छन्। वा, कुनै पुराणको थपघट हुँदा हराएको अंशलाई स्थानीयकरण गरेर पुनर्निमाण गरिएको हुन सक्छ। पछि थपिएका खण्डहरू भने शिवपुराण, लिङ्गपुराण, स्कन्दपुराण, देवीभागवत आदिमा फेला पार्न सकिन्छ।

स्वस्थानी देवीको कथा परम्परा

स्वस्थानी कथा किताबमा स्वस्थानी देवीको चित्रण खासै गरिएको छैन। बरू, स्वस्थानी देवीलाई महादेव-पत्नी पार्वतीको रूपमा नै चिनाउने प्रयास देखिन्छ। पार्वती स्वयम् पनि महादेवको अर्चना गर्छिन्। पार्वतीले महादेव पति पाऊँ भनेर स्वस्थानीको व्रत गरेको प्रसङ्गले स्वस्थानी देवीको रूपमा अलग अस्तित्व स्वीकार्न भने सकिन्छ। तर स्वस्थानीभित्रकै उत्तरवर्ती कथाहरूले त्यस्तो प्रयास गरेको देखिँदैन। स्वस्थानीको पुस्तकमा पनि महादेव पार्वतीकै तस्वीर राखेको पाइन्छ। वर्तमान स्वस्थानी कथालाई समग्र रूपमा हेर्दा भने यसमा वैष्णव सम्प्रदायले पनि आफ्ना केही प्रसङ्ग प्रवेश गराउन सफल भएको देखिन्छ। मल्लकाल र त्यसपछि काठमाडौँ उपत्यकामा प्रचलित शाक्तमतले पनि कथामा प्रवेश पाएको छ। हिन्दु धर्मको विकासको क्रममा देखिने विभिन्न सम्प्रदायका देवताहरूबीचको द्वन्द्व र मेलमिलापका बाछिटा कथामा प्रच्छन्न रूपमा देखिन्छन्। समग्र रूपमा हेर्दा स्वस्थानी कथा हिन्दु धर्मभित्रको बहुलतालाई धेरथोर स्थान दिएर समावेशी बन्न पुगेको छ। गोबरबाट गोमाको उत्पत्ति, चन्द्रावतीले पाएको दु:खको पृष्ठभूमिमा रहस्यवादको प्रभाव देखिन्छ। माघ महिनाको कठ्याङ्ग्रिदो जाडोमा नियमित स्नान र सफा रहेर व्रत बस्नु हठयोगको प्रेरणा मान्न सकिन्छ। केही मल्ल राजाहरू पनि यस्ता हठयोगका अभ्यास गर्थे भन्ने कुरा इतिहाससिद्ध तथ्य हो।
कथाको प्रारम्भ सृष्टि वर्णनबाट गरिएको छ। त्यसपछि स्वर्ग, पाताल र मर्त्यलोकका सान्दर्भिक प्रसङ्गहरूलाई कथामा जोडिएको छ। तीनै लोकमा स्वस्थानी देवीको महत्ता कसरी उजागर हुन सक्यो भन्ने चर्चा गर्नु कथाको मुख्य विषय हो। स्वस्थानी देवीको आराधना र व्रतको मुख्य उद्देश्य विछोडिएको परिवारका सदस्यसँग मिलाप वा मनोकामना पूर्ति नै रहेको देखिन्छ। सतीदेवीले आत्मदाह गरेपछि हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट पार्वतीको जन्म भयो। सतीदेवीको रूपमा पूर्वजन्मको कर्म र पतिव्रता धर्मको कारण पार्वतीलाई यो जन्ममा पनि महादेव नै पति बनाउने प्रेरणा जाग्यो। महादेव पति पाऊँ भनी पार्वती स्वस्थानीको व्रत बस्छिन् र आफ्नो कामनामा सफल हुन्छिन्। स्वर्गमा स्वस्थानीको अर्को व्रत गंगाले गरेकी छन्। गंगा महादेवकी विवाहिता पत्नी त होइनन्, तर महादेव पुत्र कुमारको भ्रुणले गंगाको गर्भमा प्रवेश पाएको थियो। पुराणहरूमा यसलाई रहस्यमय ढङ्गबाट वर्णन गरिएका कथा पाइन्छन्। सुमेरु परिक्रमा गर्न गएको कुमार नफर्केपछि महादेवकै सल्लाहमा गंगाले स्वस्थानीको व्रत बसेकी हुन्।
कथामा पातालको एउटा मात्र प्रसङ्ग छ। पुराणहरू अनुसार पाताल भनेको नागहरूको बस्ती हो। परदेश गएर समयमै नफर्केका शङ्खचूड आदि नागहरूलाई घर फर्काउन तिनीहरूका पत्नीहरू स्वस्थानीको व्रत गर्छन्। व्रत तथा पूजाका प्रभावले नागहरू समयमै घर आपपुग्छन्।स्वस्थानीको प्रभावले उनीहरूलाई प्रचूर धन सम्पति पनि प्राप्त हुन्छ।
मर्त्यलोकको कथा गोमा नाम गरेकी ब्राह्मण स्त्रीको कथा हो। गोमाको रूपमा मध्यकालीन र आधुनिक नेपालको पछिल्लो समयसम्म सामान्य स्त्रीले कतिसम्म दु:ख पाएका हुन सक्छन् भन्ने विस्तृत चित्रण देखिन्छ। लामो समयसम्म सन्तान नभएको दम्पतिको परिवारमा यिनको जन्म हुनु, बालककालमै लगभग अशक्त भैसकेको वृद्धसँग अनमेल विवाह हुनु सम्पूर्ण दु:खको कारण बनेको देखिन्छ। कथाले सम्भवत: मध्यकालीन नेपालको उपत्यका वरिपरिको जनजीवनको प्रतिनिधित्व गर्छ। सुखमा हुर्केकी गोमाले पतिको घरमा चरम दु:ख पाउँछिन्। पिताको सम्पति यिनलाई काम लाग्दैन। गर्भवती अवस्थामा वृद्ध पतिले पनि छोडेर जान्छन्। सन्तान जन्माउने बेलामा हेरविचार गर्ने कोही हुँदैन। छिमेकी र गाउँलेको सहयोगले यिनले छोरा नवराजलाई हुर्काउने, पढाउने र विवाह समेत गरिदिन्छिन्। त्यही छोरा पनि फेरि परदेश लाग्छ। बुहारी पनि माइत जान्छे। गोमाको दु:ख जस्ताको तस्तै रहन्छ। यही क्रममा गोमाप्रति पार्वतीको निगाह हुन्छ। स्वस्थानीको व्रत प्रभावले छोरा फर्केर मात्र आउँदैन, छिमेकी राज्यको राजा पनि बन्छ। यसपछि गोमाको दु:खका दिन सक्किन्छन्।
पार्वती, गंगा, नाग स्त्री र गोमाका मनोकामना पुर्याउने स्वस्थानी देवी चन्द्रावतीको प्रसङ्गमा चाहिँ दण्ड दिने देवीको रूपमा प्रकट हुन्छिन्। चन्द्रावतीले दु:खको बेलामा सासुलाई छोडेर मात्र गएकी छैनन्, पछि पति नवराज राजा भएको खबर सुनेपछि पतिमिलनको लागि यिनको आतुरताले यिनलाई अधैर्य बनाउँछ, स्वस्थानी देवीको अपहेलना गर्छिन्। आफूलाई अपहेलना गरेको कारण असन्तुष्ट भई स्वस्थानीले चन्द्रावतीलाई चरम दु:ख दिन्छिन्। स्वस्थानीको महिमा सुनेर विधिपूर्वक व्रत बसेपछि यिनलाई देवीको अनुकम्पा प्राप्त हुन्छ र यिनको दु:खका दिन समाप्त हुन्छन्।
मर्त्यलोकको कथाले समेटेको भूगोल प्रष्ट छैन। वागमती किनार, गंगा नदी, कर्णाटकनगर, ब्रह्मापुरी, चन्द्रनिगाहपुर आदि नामले भूगोललाई गोलमाल गरिदिएको छ। प्रचलित कथामा उल्लेख गरिएको शालिनदीको नाम प्रारम्भमा थिएन। साँखुको शालिनदी र यस्तै नामका नदीमा लाग्ने स्वस्थानीको मेला पछिल्लो समयको विकास हुन्।

स्वस्थानी व्रतको प्रकृति

स्वस्थानी देवीको व्रत हाम्रो समाजमा प्रचलित सबभन्दा लामो व्रत हो। तर स्वस्थानीको व्रत अन्य व्रत जत्तिको कठोर मानिँदैन। सरल रूपले व्रत लिन सकिने विकल्प पनि समाजमा प्रचलित छ। स्वयम् स्वस्थानी कथाबाहेक पूजाविधिको पनि विकास गरिसकेकोले र त्यो पूजाविधि संस्कृतमा भएकोले मात्र कोही पण्डितको आवश्यकता पर्न थालेको हो। अन्यथा स्वस्थानी परिवारभित्र सामान्य रूपमा सम्पन्न हुने व्रत पर्व हो। अन्य पूजा, उपासना नगरी कथा वाचन तथा श्रवणमा मात्र पनि व्रत सम्पन्न हुन सक्छ। पृथ्वीनारायण शाहपछि नेपाल आएका विभिन्न विदेशीहरूले उपत्यकामा मनाइने विभिन्न चाडपर्वको चर्चा गर्दा पनि स्वस्थानीको बारेमा केही उल्लेख गरेका छैनन्। सम्भवत: यो परिवारभित्र सीमित रूपले मनाइने हुँदा उनीहरूको नजरमा नपरेको हुन सक्छ भन्ने जेसिकाको तर्क छ।
हिन्दु समुदायमा प्रचलित धेरै व्रतहरू महिला केन्द्रीत छन्। तीज, ऋषिपञ्चमीको व्रत प्रष्ट रूपले महिलाहरूले नै गर्ने गर्छन्। तीजको व्रत पनि पार्वतीले महादेव पति पाउँ भनी गरेको किम्वदन्ती छ। छिटपुट रूपमा पुरुषहरूले पनि स्वस्थानीको व्रत लिने गरेको पाइन्छ। कथाले पनि स्त्रीहरूकै लागि भनेर किटान गरेको छैन। तर प्रसाद वितरणको प्रसङ्गमा भने “पति (पुरुष) भए पतिलाई, नभए छोरालाई, छोरा पनि नभए मीतछोरालाई दिनू” भनेको आधारमा यो व्रत पनि विशेष गरी स्त्रीहरूकै लागि तर्जुमा गरिएको सङ्केत गर्छ। हिन्दु जीवनशैलीमा नियमित पूजाआजा र घरको आध्यात्मिक वातावरणलाई जगेर्ना गर्ने काम स्त्रीहरूकै हो भन्ने एक प्रकारको विश्वास देखिने हुँदा स्वस्थानी व्रत पनि पुरुषहरूको जिम्मामा रहेको देखिँदैन।
स्वस्थानी व्रतसँगै कथा पनि वाचन पनि गरिनु पर्ने कारण धेरथोर रूपमा महिला साक्षरतामा स्वस्थानीको योगदान निश्चितै रहन पुग्यो। गोमाले कथा सुन्ने कोही नभए पनि घरका चर्खा आदिलाई कथा सुनाएको प्रसङ्गले यसलाई सङ्केत गर्छ। घरमा स्वस्थानीको किताब हुनै पर्ने र किताब भएको घरमा स्वस्थानी वाचन गर्नै पर्ने लोकविश्वासले पनि यसलाई बढावा दिएको छ। कतिसम्म भने केही समयअघिसम्म “स्वस्थानी पढ्न सक्ने” भन्ने साक्षरताको मापदण्ड पनि गाउँघरमा सुनिन्थ्यो। स्वस्थानी पढ्नको लागि भए पनि अक्षर चिनेका हुँदा महिलाहरू नेपाली भाषामा लेखिएका रामायण, महाभारत आदिका श्लोकहरू पढ्न प्रेरित भएको कुरालाई नकार्न सकिँदैन। व्रत अवधिमा नियमित स्नान गर्नुको साथै हातगोडाका नङ काट्नु पर्ने जस्ता व्यक्तिगत सरसफाइलाई जोड दिएकोले स्वस्थानी व्रतको यो पक्ष पनि उल्लेखनीय मान्न सकिन्छ।

स्वस्थानीका अन्य आयाम

स्वस्थानी कथाले तत्कालीन समाजको ऐनाको काम गरेको छ। लामो समयसम्म लगभग स्थिर सामाजिक संरचना स्वस्थानी कथामा प्रतिविम्बित भएको छ। सामान्य दृष्टिले हेर्दा स्वस्थानी कथाको परम्परामा विशेष केही नदेखिन सक्छ। तर गहिरो गरी हेर्दा त्यसको सांस्कृतिक, आर्थिकलगायत विभिन्न आयाम पनि प्रष्ट देखिन्छ।
तत्कालीन समाजमा सर्वसाधारणको आर्थिक स्थिति निश्चितै रूपमा दयनीय थियो। ग्रामिण भेकमा रहने मानिसका आर्थिक उपार्जनका क्षेत्र सीमित थिए। पुरुषहरू केही उपार्जन गर्नको लागि परदेश जानु पर्थ्यो। कथाका दुबै पुरुष पात्र शिव शर्मा र नवराज आर्थिक उपार्जनको लागि परदेश गएका छन्। नागहरू पनि आय आर्जन गर्न भनेरै परदेश लागेका हुन्। शिव शर्मा भिक्षा माग्न भनी परदेश गएको कुरा अनौठो लाग्छ। सके काम गर्ने, नसके मागेरै भए पनि केही जोहो गर्ने दायित्वको प्रतीक हो यो। उता नवराज पनि पिताको बारेमा पत्तो लागेपछि घरको दरिद्रताको कारण घर फर्कन सक्दैन। केही कमाएर घर फर्कने प्रेरणा उसमा पनि छ।
आर्थिक जनजीवनको अर्को पाटो गोमामार्फत प्रकट भएको छ। सामाजिक मान्यताअनुसार आर्थिक दायित्व लिनु पर्ने पति र पुत्र परदेश लागे। बलिया र सक्षम हातखुट्टा परदेश गए पनि घर बस्नेलाई बाँच्नु पर्छ। गोमाको सङ्घर्ष उदाहरणीय छ। गर्भवती गोमाले छोरा पाइन्, एक्लै हुर्काइन्, बढाइन्, विवाह पनि गरिदिइन्। त्यति मात्र होइन, स्वस्थानी व्रतको प्रभावले नवराज राजा समेत बन्यो। नवराज राजा बन्नुमा नवराज स्वयंको कुनै योगदान छैन। सबै सङ्घर्ष गोमाकै हो। सहायता गर्ने बुहारी पनि साथमा बसिनन्। “घरमा खाने अन्न छैन” भन्ने निहुँमा माइत जाने चन्द्रावती गोमाको लागि भार हुने थिइनन्, सहयोगी हात हुने थिइन्। तर गोमाले हिम्मत हारिनन्। सङ्घर्ष गर्न नछोड्ने हो भने एक दिन सुख पाइन्छ भन्ने आशाको ज्योति गोमाले बालिरहिन्। यसैकारण गोमाको चरित्र गाउँले महिलाहरूमाझ लोकप्रिय छ, आदर्श छ। यो किन पनि भने गाउँले महिलाहरूको दु:ख पनि लगभग त्यस्तै हुने गर्छ। अनमेल विवाह, बहुविवाह, अभाव आदि ग्रामीण महिलाका ज्वलन्त समस्या हुन्। थाहा नपाइकन गोमा बहुविवाहद्वारा पीडित बनेकी हुन्। आर्थिक दायित्व लिने ठहरिएका पुरुषको योगदान शून्य रह्यो गोमाको सङ्घर्षमा। यस अर्थमा गोमा प्रेरणाको स्रोत बनेकी छन्। गोमाको मातापिताको सम्पति थियो। तर त्यो सम्पतिको भोग गोमाले गर्न पाइनन्। कतिसम्म भने मातापिताले दिएर पठाएको थोरै सम्पतिको पनि डकैती भयो। कथाले गोमालाई सम्पूर्ण रूपले एक्लो तुल्याइदिएको छ। मातापिताको अपार सम्पति कसले भोग गर्यो कथाले भन्दैन। तर पैत्रिक सम्पतिमा छोरीको हक नलाग्ने अवस्थातर्फ यसले सङ्केत गर्छ। सम्पति अपुताली पर्यो होला, तर गोमाले पाइनन्।
बालविवाह त्यो समय सामान्य थियो भन्ने अनुमान हुन्छ। सात वर्ष नपुगेकी छोरीको विवाह गर्नु पर्ने बाध्यता शिव भट्ट ब्राह्मण दम्पतिलाई किन पर्यो? वास्तवमा त्यो सामाजिक दवाब थियो। अनमेल विवाह त त्यो समयमा हुने नै गर्थ्यो। तर यो अनमेल विवाह असाधारण थियो। त्यो विवाह बाध्यताको विवाह थियो। किनभने पछि गोमाले छोरा नवराजलाई विवाह गराइदिएकी चन्द्रावती बालिका भएको बुझिँदैन, न त लावण्यदेशकी राजकुमारी नै बालिका बुझिन्छिन्। एकै पिँढीको फरकमै सामाजिक व्यवहारमा ठूलो उतार चढाव आएको पक्कै पनि होइन। यो खोजको विषय हो। विवाह संस्थाको महत्वलाई कथाले उठाउन मात्र बालिकाको विवाह वृद्धसँग गर्नु परेको पक्कै पनि होइन। अघिल्लो खण्डमा महादेवले आफू अविवाहित रहनु परेको पीडा विष्णुसँग व्यक्त गरेका छन्। सतीदेवीको मृत्यु भएपछि महादेवले पार्वतीसँग दोस्रो विवाह गरे। तर पार्वती, जन्मी, हुर्की सतीदेवीका तिनै महादेव पतिसँग विवाह गरिन् कि अर्को ‘महादेव’ सँग भन्ने चाहिँ विचारणीय छ। सतीदेवी र पार्वतीका पति एकै महादेव हुन् भने यो पनि गोमा र शिव शर्माको झैँ अनमेल हुन पर्छ। तर महादेवको अनित्य स्वरूपको दुहाइ दिएर यो तर्कलाई सजिलै पन्छाउन भने सकिन्छ। विवाह गर्नु अनिवार्य छ भन्ने बताउन जस्तोसुकै विवाहलाई पनि वैधानिकता दिनु जरुरी चाहिँ थिएन। त्यसमाथि गोमाको विवाह बितेको थिएन। शिव शर्माले आत्मदाह गर्ने र ब्रह्महत्याको पाप लाग्ने धम्की दिएर भट्ट दम्पतिको भयदोहन गरेका हुन्। धर्मको नाममा सर्वसाधारण मानिस शोषणमा परेको उदाहरण हो यो।
विवहित पुरुषको भाग्य पत्नीको चरित्रले निर्धारण गर्छ भन्ने अर्को विश्वास कथाले प्रस्तुत गर्न खोजेको छ। यो विश्वास भनेको पतिव्रता धर्म हो। पतिव्रता धर्मलाई स्त्रीहरूको कर्तव्य भनिएको छ। तर पुरुषहरूलाई त्यस्तो कुनै बाध्यता छैन। मान्छे भनेको पुरुष मात्र हो र स्त्रीको कर्तव्य भनेको आफ्ना पतिको लागि चरित्रवान रहनु हो भन्ने सन्देश कथाले स्थापित गर्न खोजेको छ। गोमा पतिको घर जाने बेलामा आफ्ना मातापितासँग गरेको संवादले यिनै कुरा बताउँछन्। सतीदेवीलाई छल गरेर महादेवसँग विवाह गराइदिएपछि सतीदेवीले छल गरियो भनेर भनिनन्, आफ्नो कर्मलाई दोष दिइन्। फेरि महादेव पति पाएँ भनेर दङ्ग परिन्, जबकि सतीदेवीका पिता महादेवलाई असाध्यै घृणा गर्थे! त्यही बीचमा महादेवले सतीदेवीको परीक्षा पनि लिए। परीक्षामा खरो उत्रिनु पर्ने बाध्यता थियो सतीदेवीलाई। महिलाहरूले आफ्ना पुरुषलाई दिनु पर्ने परीक्षाको पौराणिकता रामायणकी सीतासम्म पुग्छ। रामले सीतालाई पटक पटक परीक्षामा उतारेका थिए। “सती” र “सीता” शब्दको निर्माणमा स्वर ध्वनिहरूको जुन विपर्यास देखिन्छ, त्यो आफैमा ध्यान दिन योग्य विषय हो। शिव भट्टकी पत्नीलाई पनि सती ब्राह्मणी नै भनेर बताइएको छ।
सती र पतिव्रता धर्मलाई स्थापित गर्न स्वस्थानीको भूमिका प्रखर देखिन्छ। जालन्धर र वृन्दाको सम्बन्ध अर्को उदाहरण हो। जालन्धरको जीवन वृन्दाको पतिव्रतामा अडिएको थियो। स्त्रीहरूको आर्थिक निर्भरता पुरुषहरूमै रहने गरेकोले आफ्नो आर्थिक हित संरक्षणको लागि पनि स्त्रीहरूलाई पतिव्रता हुन दवाब थियो। दवाबमा पतिव्रता हुनु र स्वेच्छिक रूपमा पतिव्रता हुनु फरक कुरा हो। स्वस्थानी कथाले यसलाई संस्थागत तुल्याउन सहयोग पक्कै पनि गर्यो। किनभने रामायण, महाभारतमार्फत् सीताको कथा, सावित्रीको कथा, दमयन्तीको कथा पनि समाजमा प्रचलित नै थियो। कथाकी गोमा आर्थिक रूपले एक्लै सक्षम हुनु एउटा अपवाद मात्र हो। गोमाको दु:खलाई पनि कथाले तिनको आफ्नै कर्मको फल भनेर अप्रत्यक्ष रूपमा पुष्टि गर्न खोजेको छ।

बहुविवाह, परस्त्रीगमन र यौनभ्रष्टता

स्वस्थानी कथाले पुरुषहरूलाई बहुविवाह गर्न शास्त्रसम्मत स्वीकृति दिएको देखिन्छ। परस्त्रीगमनको कारण पुरुषहरू आलोचित भएका छैनन्। कतिसम्म भने स्त्रीहरू नै आफ्ना पुरुषको परस्त्रीगमनप्रति गौरवान्वित भएका छन्। वृन्दाले जालन्धरलाई पार्वतीप्रति आकर्षण पैदा गराउन प्रयास गर्नु यसको उदाहरण हो। पुराणहरूमा विष्णु, इन्द्र प्रभृत्तिका ठूला देवताहरूको यौन भ्रष्टतालाई प्रकारान्तरले प्रशंसा गरिएका र नाम मात्रको दण्ड दिइएका प्रशस्त उदाहरण पाइन्छन्। महादेवले सात वर्षकी कलिली बालिकासँग विवाह गर्ने इच्छा गरेको कुनै कोणबाट पनि प्रशंसित देखिँदैन। गोमाका मातापिताको दान दातव्यबाट डराएका इन्द्रको संरक्षण गर्न महादेवले अपनाएको तरिका निन्दनीय हुनु पर्ने हो। त्यसमाथि आफै भेष बदलेर आई गोमासँग विवाह गरेको र गर्भवती अवस्थामा अलपत्र पारेर छाडेको कुराले समाजमा कस्तो प्रेरणा दिन्छ, यो बहसको विषय हुनुपर्छ। तर पार्वती आफ्ना पतिको यो हरकतबाट थोरै पनि विचलित देखिन्नन्। स्वस्थानीको भाषाले पुरुषहरूको “तरुनी स्त्री” प्रति आकर्षणलाई वैधानिकता दिने चेष्टा गरेको बुझिन्छ। स्वस्थानीको कथा पुरुषको कोणबाट लेखिएकोले यस्तो प्रस्तुति भएको हुन सक्छ।
स्त्रीहरूलाई परपुरुषगमन त परको कुरा भयो, स्वैरकल्पनामा पनि भ्रष्ट हुन अनुमति थिएन। ऋषिपत्नीहरू आफ्ना अतृप्त यौनक्षुधाको कारण महादेवको लिङ्ग देखेर मोहित भएको कुरा ऋषिहरूलाई सह्य भएन। वृद्ध वयका र पौष्टिक आहाराको अभावमा लगभग नपुङ्सक भैसकेका ऋषिका यौवना पत्नीहरूमा यौन चाहना जाग्नु अस्वाभाविक होइन। तर उनीहरूले आफ्नो चाहना प्रकट गर्न पाउँदैनन्, पतिबाट ती श्रापित भए। आफ्ना पत्नीहरूलाई यौनप्रेरित गरेको आरोपमा महादेव पनि श्रापित भए। पुरुष समागमको इच्छा राख्ने शूर्पणखाले दण्ड पाएको रामायणको कथा यहाँ स्मरणीय हुन्छ। शूर्पणखालाई दण्ड दिएको प्रतिशोधमा सीताको अपरहण भयो। रामायणको प्रचलित कथाअनुसार शूर्पणखालाई सीताले दण्ड दिएकी होइनन्, तर अपहरण भने सीताको भयो। किनभने स्त्री भनेका पुरुषका सम्पति हुन्। स्वस्थानीमै उल्लेखित अर्को एउटा प्रसङ्गमा महादेव आफ्नी पत्नी पार्वती रावणलाई दिएर पठाउँछन्। महाभारतको कथामा जुवामा थापिएकी द्रौपदी र महादेवबाट रावणलाई दिएर पठाइएकी पार्वतीको हैसियत उस्तै हो। नेपालकै इतिहासको पछिल्लो कालसम्म पनि बलात्कार, स्त्रीअपहरण जस्ता मुद्दा फौजदारी हुँदैन थिए, ती देवानी अपराध मानिन्थे। स्त्रीका स्वामीको सम्पति भ्रष्ट गरेको अभियोगमा दोषीलाई दण्ड सजाय गरिन्थ्यो र सजाय पीडित (स्त्री) ले पनि पाउँथे! इन्द्रद्वारा बलात्कृत अहिल्याले पत्थर हुनु परेको पौराणिक नजिर हामीकहाँ छँदैछ। स्वस्थानी कथा यस अर्थमा स्त्रीहरूको यौनिकतालाई नियन्त्रण गर्ने पछिल्लो उपकरण बनेको प्रष्ट हुन्छ।
परस्त्रीगमन पुरुषहरूको प्राधिकार हो भन्ने कुरा प्रकारान्तरले समाजमा स्थापित गर्न स्वस्थानीले भूमिका खेलेको ठान्न सकिन्छ। जालन्धर र विण्णु परस्त्रीगमनको इच्छाको कारण आलोचित छैनन्। यद्यपि पुरुषहरूको यौन स्वतन्त्रता निरपेक्ष भने थिएन। त्यसमा वर्गीय भेद थियो, शक्ति र सामर्थ्यको ठूलो भूमिका थियो। पार्वतीसँग समागमको इच्छा राख्ने जालन्धर मारियो। निर्दोष वृन्दालाई छलपूर्वक समागम गर्ने विष्णु मारिएन। जालन्धर र महादेवबीच शक्तिको भेदको कारण यस्तो भएको हो। पुराणकारहरूले जालन्धरकी पत्नी वृन्दालाई विष्णुबाट बलात्कृत तुल्याए, तर महादेवकी पत्नी पार्वतीलाई चाहिँ बचाए। कमजोर पुरुषकी स्त्री तिनका पतिको निरिहताको कारण बलात्कृत हुनु स्वाभाविक भयो। स्वस्थानी कथाभित्र समावेश यो प्रसङ्गले समाजमा पार्ने मनोविज्ञानको विश्लेषण हुनु जरुरी छ।

महादेवको चरित्र

स्वस्थानी कथामा वर्णित महादेव शक्तिशाली छन्। सुर र असुरको द्वन्द्वमा सधैँ सुर अर्थात देवताहरूको पक्षमा रहन्छन्। विष, भाङ, धतुरो खाने, श्मसानमा बस्ने, बाघको छाला बेर्ने, सर्पको माला लगाउने, त्रिशुल लिने, डमरु बजाउने, जिउमा खरानी घस्ने, साँढेमाथि चढ्ने आदि महादेवका चरित्रका अङ्ग हुन्। महादेव असाधारण प्रेमी पनि बनेका छन् सतीदेवीको लास बोकेर चाहारी हिँड्दा। महादेवको चरित्रमा प्रशस्त विरोधाभाष देखिन्छ। संसारप्रति लिप्त पनि छन्, उदासिन पनि छन्। पुराणहरूमा वर्णित महादेवको त्यो छवीलाई स्वस्थानी कथाभित्र उतार्न खोजिएको छ। तर त्यही महादेव इन्द्रको लागि मर्त्यलोकको एउटा ब्राह्मण परिवारलाई नष्ट गर्न अगाडि बढेको घटनाको चित्तबुझ्दो कारण फेला पर्दैन। भट्ट दम्पतिको पुण्यको प्रभावलाई मत्थर पार्न भिक्षु रूपमा पुगेका महादेव बालिका गोमाप्रति आसक्त हुनु अस्वाभाविक लाग्छ। महादेवको पारमार्थिक लिला भनेर यो प्रसङ्गको अमूर्त व्याख्या गर्न सजिलो छैन। निर्दोष बालिकालाई षडयन्त्रको जालमा पारेर भोग गर्ने नियत राख्ने महादेवको चरित्रले समाजमा निश्चितै रूपले सकारात्मक प्रभाव पारेको छैन।
गोमाका पितामाता सिद्धिविनायक अर्थात गणेशका भक्त थिए। गणेशकै वरदानबाट उनीहरूलाई सन्तान र समृद्धि प्राप्त भएको हो। गणेशलाई महादेवको पुत्र बताइन्छ, औरस पुत्र भने होइन। महादेव आफ्नै पुत्रका भक्तको विरुद्धमा किन अघि सरे भन्ने अहम् प्रश्न हो। यसअघि महादेवले गणेशको शिरोच्छेदन नै गरिदिएका थिए। गणेशको नेतृत्व मान्ने विनायक सम्प्रदायको चर्चा पुराणमा पाइन्छ। महादेव विनायक सम्प्रदायको विरुद्धमा देखिन्छन्। उत्तरवर्ती पुराणकारहरूले गणेशलाई महादेवको पुत्र तुल्याइदिएर दुई सम्प्रदायको मेलमिलाप गराइदिएको अनुमान हुन्छ। गणेशलाई अग्रपूजाको वरदान दिएको प्रसङ्ग स्वस्थानी कथामा पनि समेटिएको छ।

स्वस्थानी देवीको उत्पत्ति

स्वस्थानी देवी महादेवकै आलम्बमा शक्तिशाली भएकी हुन् भन्ने कथाको निष्कर्ष बुझिन्छ। हिन्दु ग्रन्थहरूमा दुर्गा, काली आदि देवीको उत्कर्ष देखिन्छ। तर गहिरो गरी हेर्दा ती देवीको शक्तिको स्रोत पुरुष देवता नै ठहरिन आउँछ। दुर्गाको शक्तिको आधार त्रिदेव सहित इन्द्र हुन्। काली पनि महादेवलाई आराध्य मान्छिन्। शाक्त सम्प्रदायमा स्त्रीलाई शक्तिको आधार मानिए पनि कारण चाहिँ पुरुष नै बुझिन्छ। ग्रन्थहरू आमाको महिमा अपरम्पार छ भन्दाभन्दै पिता चाहिँ निर्विवाद रूपले सर्वोपरी हो भन्ने स्थापना गर्न कतै चुकेका छैनन्। स्वस्थानी देवीको आविर्भाव र महत्ता वर्णनमा महादेवको निरन्तर एवम् सर्वोच्च स्थान त्यसकै प्रतिविम्ब हो।
स्वस्थानी आफैमा कस्ती देवी हुन् भन्ने प्रश्नको उत्तर भने कथामा प्रष्ट हुँदैन। “हजार सूर्यको जस्तो तेज भएकी”, “तीन आँखा भएकी” भन्ने जस्ता केही विशेषता बाहेक कथामा स्वस्थानी देवीको बिस्तृत चरित्र चित्रण गरिएको छैन। महादेवको पनि तीन आँखा र ज्योतिर्लिङ्गको वर्णन गर्दा हजार सूर्यको जस्तो तेज भन्ने गरिन्छ। जेसिकाका अनुसार स्वस्थानी “स्व-स्थान” को महत्तालाई स्थापित गर्ने कथा हो। तर स्व-स्थानको महत्ताको लागि किन देवीको चयन भयो, कुनै पुरुष देवताको कल्पना किन गरिएन भन्ने प्रश्नको उत्तर पनि खोजिनु पर्छ।
उपत्यकामा स्वस्थानी देवीको कल्पना (जय) स्थिति मल्लपछि गरिएको हुन सक्नेमा जेसिकाको सहमति छ। स्थिति मल्लले रक्तपातपूर्ण द्वन्द्वबाट शासन हत्याएका थिए। तर यिनले उपत्याकामा सुधारका धेरै कार्यक्रम पनि लागू गर्न भ्याए। यिनकै शासनकालमा उपत्याकामा मनुस्मृतिमा आधारित कडा जातीय व्यवस्था पनि लागू गरियो। यिनले लागू गरेको बन्देज (कानुन) लाई “थिति” भनिन्थ्यो। यो “बन्देज” ले प्रत्येक जाति समुहलाई आफ्नो थान्का (स्थान) मा बसेर तोकिएको कर्तव्य निर्वाह गर्न निर्देशन गर्यो। धर्म निर्वाह गर्न आफ्नो लागि तोकिएको स्थान अर्थात स्व-स्थानमा बस्नु नागरिकको कर्तव्य बताइयो। स्व-स्थानको नियमनको आधार राजनैतिक भन्दा धार्मिक हो भन्ने स्थापित गर्न सके त्यसलाई सबैले स्वीकार्ने स्थिति पैदा हुन्थ्यो। यो कोणबाट स्वस्थानी देवीको आविर्भाव तर्कपूर्ण देखिन्छ। किनभने हरेक देवीदेवताका प्रकार्य निर्दिष्ट हुन्छन् र राजनैतिक उद्देश्यको लागि देवीदेवतालाई भजाउने प्रचलन देश-कालातित तथ्य हो।
स्वस्थानी कथाको संरचनागत उद्देश्य नीतिपरक भए पनि यसका पात्रको स्रोतको बारेमा भने प्रष्ट भैसकेको छैन। स्थिति मल्ललाई नै कथाको नायक बनाउन खोजिएको अनुमान चाहिँ गर्न सकिन्छ। स्थिति मल्ल राजल्लदेवीको लागि दक्षिणबाट झिकाइएका पुरुष डोला थिए। राजल्लदेवी नायकदेवीकी कर्णाटवंशी जगतसिंहबाट जन्मेकी छोरी थिइन्। नायकदेवी आफै चाहिँ राजा रुद्र मल्लकी छोरी हुन्। जगतसिंह सिम्रौनगढबाट भागी आएका हरिहरसिंह देवका छोरा थिए। हरिहरसिंह देवको बाटैमा मृत्यु भए पनि उनीसँग आएका उनका मन्त्रीसहित परिवारका अन्य सदस्यहरू उपत्यकामा शरण लिन आइपुगेका थिए। मल्ल दरवारमा भएको आन्तरिक कलहको लाभ उठाउँदै यिनीहरूले राजग्राम नामको एक गाउँलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको पनि इतिहासमा उल्लेख छ। हरिहरसिंहकी रानी देवलदेवीको माइती भक्तपुर नै भएकोले मल्ल दरबारमा यिनीहरूको पहुँच हुनु स्वाभाविक देखिन्छ। स्वस्थानी कथामा उल्लेख गरिएको एउटा प्रसङ्गमा भौँतारिँदै हिँडेका महादेव दिग्भ्रमित भएर दक्षिणतिर लाग्दा कर्णाटकनगर नजिकको ब्रह्मापुरी नामको गाउँमा पुगेको बताइएको छ। ऋषिपत्नीहरूले महादेवलाई त्यहि ठाउँमा देखेका र महादेवलाई देखेर उनीहरूमा कामभावना जागेको थियो। शिव भट्ट र सती ब्राह्मणीको घर पनि “दक्षिणतिरको ब्रह्मापुरी” गाउँमै थियो। यो आधारमा ब्रह्मापुरी गाउँमा ब्राह्मणहरूको बस्ती थियो भन्ने अनुमान गर्न सकिन्छ। कथामा उल्लेखित “कर्णाटकनगर” वर्तमान दक्षिण भारतको सहर हुन सक्ने सम्भावना छैन। कर्णाटवंशीहरूले अधिनस्थ गरेको राजग्राम नै कर्णाटनगर (वा कर्णाटकनगर) हुन सक्ने सम्भावना चाहिँ बलियो छ। इतिहासअनुसार हरिहरसिंह देवका साथमा आएका मानिसहरू भक्तपुर आसपास दोलखा जाने बाटोमा कैद परेका थिए। तत्कालीन साँखु त्यही बाटोमा पर्थ्यो र कालान्तरमा साँखुलाई स्वस्थानीमा वर्णित भूगोल ठहराइएको कुरा पनि यहाँ सान्दर्भिक हुन्छ। साँखुलाई स्वस्थानी कथामा वर्णित भूमि ठानिनुमा प्रचलित किम्बदन्ती र कथ्य इतिहासको भूमिका रहनु असम्भव छैन।
स्वस्थानी कथाका अनुसार लावण्यदेशका राजकुमारीको लागि नवराज नामका ब्राह्मणलाई त्यहाँ लगेर राजा तुल्याइएको थियो। स्थिति मल्ल पनि तराइका ब्राह्मणवंशी राजकुमार हुन सक्ने अनुमान इतिहासकारहरूको छ। स्थिति मल्लको शासन समाप्त भएको कम्तीमा एक डेढ सय वर्षपछि रचना गरिएको कथामा स्थिति मल्लको अभ्युदयलाई आधार मानिएको हुनुलाई अस्वाभाविक मान्न सकिँदैन। राजल्लदेवीकी आमा नायकदेवी विधवा थिइन् र जगतसिंहले यिनै विधवा नायकदेवीलाई पत्नी तुल्याएका थिए। सतीधर्मलाई महत्व दिने समाजमा यो घटना सामाजिक रूपले तरङ्ग ल्याउने नै थियो होला। जब स्थिति मल्लको अभ्युदयपछि उपत्यकाको इतिहासले नयाँ मोड लियो, जब यिनले बाँधेको स्थितिले समाजको संरचनालाई नै दूरगामी प्रभाव पार्यो, यिनको गुणवत्तालाई उजागर गर्नु आवश्यक भयो। कथ्य र किम्बदन्तिले समयक्रममा धार्मिक कलेवर प्राप्त गर्नु अनौठो होइन।

स्वस्थानीको समकालीन महत्व

लामो समयदेखि नियमित वाचन, श्रवण गरिँदै आएको स्वस्थानीको वर्तमान सान्दर्भिकतामाथि प्रश्न उठ्न थालेको छ। इतिहासको कुनै कालखण्डलाई यसले प्रतिविम्बित गर्दछ भन्नुको मतलब यसको शाश्वतता पुष्टि गर्दैन। स्वस्थानीको विकासमा सामाजिक एवम् राजनैतिक भूमिका निश्चितै थिए। यो ग्रन्थ निरंकुश राजतन्त्रकालीन समाजको आख्यान भएको र तत्कालीन समाजमा विद्यमान लैँगिक भेदभावलाई संस्थागत गर्ने उपकरण समेत बन्न पुगेकोले अहिलेको परिवेशमा यसको सान्दर्भिकतामाथि प्रश्न उठ्नु स्वाभाविक हो। सञ्चारका साधन र पाठ्यसामग्रीको विविधताले पनि अहिले परम्परागत साक्षरताको अध्याय समाप्त भैसकेको छ। कथामा उल्लेखित कतिपय प्रसङ्गहरू अहिले अनुपयुक्त मात्र होइन, अपाच्य पनि भैसकेका छन्। धर्म भनेको कुनै स्थिर र अपरिवर्तनशील तत्व होइन। समयको गतिअनुसार सान्दर्भिक सुधार हुनु आवश्यक छ। स्वयम् स्वस्थानी कथा यसको उदाहरण हो। कि त स्वस्थानीलाई सामयिक सुधार गर्नु पर्छ, कि त यसलाई अरू कुनै उपयुक्त ग्रन्थले विस्थापित गर्नु जरुरी भैसक्यो। अन्यथा भविष्यमा व्रत, उपासना बाँकी रहे पनि कथा चाहिँ क्रमश: ओझेलमा पर्दै जाने सम्भावनालाई नकार्न सकिन्न।

Ram Lohani
राम लोहनी, प्रध्यापक : त्रिभुवन बिश्वबिध्यालय
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button